अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षारोपण
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर–९ दिब्य बालउद्यानपार्कमा मंगलवार विभिन्न प्रजातीका विरुवा रोेपिएको छ । प्रदेश युवा परिषद्को आयोजनामा अन्तराष्ट्रिय युवा दिवसको अवसर पारी वृक्षारोपण गरिएको हो ।
युवा परिषद्ले दिवसका अवसरका सप्ताहव्यापी कार्यक्रम अन्तरगत आज विभिन्न जातका फलफूल र अरु जातका विरुवा रोपेको हो । रक्तचन्दनको विरुवा रोपेर बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री रत्नप्रसाद ढकालले कार्यक्रमको उद्घाटन गरे । यस दिवसको सप्ताहव्यापी कार्यक्रम वृक्षारोपण गरेर सुरुवात गरिएकोमा उनले खुशी व्यक्त गरे ।
कार्यक्रमका अध्यक्ष तथा प्रदेश युवा परिषदका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले अन्तराष्ट्रिय युवा दिवस भव्य रुपमा मनाउने सन्दर्भमा पहिलो दिन वृक्षारोपण गरिएको बताए ।
कार्यक्रममा हेटौंडा–९ का वडा अध्यक्ष सुकराम केसी, गैरसरकारी संस्था महासंघ बागमती प्रदेशका अध्यक्ष आरती पाठक, गैरसरकारी संस्था महासंघ मकवानपुरका उपाध्यक्ष रमिला सापकोटा लगायतको उपस्थिति रहेको थियो ।