तोकिएकै मितिमा निर्वाचन हुन्छ, समाजवादी केन्द्र बनाउने विषयमा छलफल भइरहेको छ– मन्त्री पौडेल

तु खबर संवाददाता
२०७९ श्रावण २५,बुधबार १६:१६

मकवानपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले तोकिएकै मितिमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न हुने बताएका छन् । आज हेटौंडामा प्रेस सेन्टर मकवानपुरद्वारा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै पौडेलले चुनावमा जितहार जसको भएपनि लोकतान्त्रिक प्रणाली स्थापित गर्न तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्नु प्रमुख आवश्यकता भएको बताए ।

नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्यसमेत रहेका पौडेलले निर्वाचन सम्पन्न गर्ने सन्दर्भमा निर्वाचन आयोगमार्फत् आवश्यक तयारीहरु भइरहेको बताए । निर्वाचन निश्पक्ष, धाँधलीरहित र भयरहित वातावरणमा सम्पन्न हुने उनले बताए ।

आगामी निर्वाचनबाट माओवादी केन्द्र बामपन्थी पार्टीहरुमध्ये पहिलो शक्तिको रुपमा स्थापित हुने पौडेलले बताए । उनले स्थानीय तहको निर्वाचनको नतिजालाई समिक्षा गर्दै संगठनात्मक र वैचारिक रुपमा नयाँपन ल्याएर निर्वाचनमा सहभागी हुने उल्लेख गरे ।

पौडेलले बामपन्थी पार्टीहरुसँग एकता गरिने र समाजवादी केन्द्र बनाउने विषयमा समेत छलफल भइरहेको बताए । ‘हामी बामपन्थी पार्टीहरुमध्ये सबैभन्दा पहिलो शक्तिको रुपमा स्थापित हुँदैछौँ । त्यसका लागि बामपन्थी पार्टीहरुलाई एकैठाउँमा ल्याउने प्रयास पनि हामी गर्दैछौँ । समाजवादी केन्द्र बन्ने नै निश्चित भइसकेको अवस्था भने होइन । तर, छलफल भने भइरहेको छ ।’

पौडेलले तीनै तहको सरकार स्थापित नहुन्जेल गठबन्धन कायमै रहनेसमेत प्रश्ट पारे । गठबन्धनमा कति सिट लिएर चुनावमा जाने भन्ने विषय भने टुंगीनसकेको उनको भनाई छ । पौडेलले चाँडै पोलिट्ब्यूरो र पार्टी पदाधिकारी चयन गर्ने विषयसमेत टुंगोमा पुग्ने बताए ।