वंशगोपालका प्रधानाध्यापक लामिछाने– सङ्घर्षलाई साथी बनाए, ४० वर्ष शिक्षणमा रमाए
आर्थिक रुपले विपन्न परिवारमा जन्मिएकोले संघर्षको दौरानमा धेरै अभाव र चुनौती झेल्दै यहाँसम्म आइपुगेको हुँ । किताब नहुँदा कक्षामा सुनेकै भरमा परीक्षा दिन्थेँ । तरपनि, सँधै प्रथम हुने भएकोले विद्यालयले दिएको पुरस्कार र छात्रवृत्तिले मेरो अभावको घाउमा मल्हम लगाउने काम गर्थ्यो । घरबाट दसैंमा किनिदिनुभएको एक जोर कपडाले वर्षभरी टार्नुपर्थ्यो । घरमा बस्दा होस् या स्कुल जाँदा, एक जोर मात्रै कपडा थियो । ६ कक्षासम्म नाङ्गै पैतालाले जंगलको बाटो छिचोलेँ । भुटनदेवी स्कुलमा पढ्न आउँदा भने हात्तीछाप चप्पल थियो । तर, त्यसको पनि लोता चुँडिएर धेरै दुःख पाउँथेँ । विहानको पढाई संचालन भएको बेला समय हेर्न घडी नहुँदा कहिलेकाँही घरबाट हतार भयो भन्दै निस्कन्थेँ र धरमचुलीसम्म आइपुग्दा राति नै रहेछ भन्ने थाहा पाइयो भने ढलेको रुखमा किताब सिरान हालेर सुत्ने गर्थेँ । थाहा नपाउँदा कहिलेकाँही राति नै बजार आइपुग्थेँ ।
‘खाने मुखलाई जुँगाले छेक्दैन’ भनेझैँ पढ्ने रहर र आफ्नो लक्ष्यलाई अघि बढाउन, अभाव र चुनौतीले छेक्दैन भन्ने प्रेरणा बनेका छन् वंशगोपाल माविका प्रधानाध्यापक रमेशप्रसाद लामिछाने ।
२०२० चैत २६ गते माता दूर्गा लामिछाने र पिता स्वर्गीय कृष्णहरि लामिछानेको सन्तानका रुपमा जन्मिएका रमेशको बाल्यकाल अभाव र संघर्षमा नै बित्यो । हातमुख जोर्नै धौ धौ पर्ने उनको परिवारमा विद्यालय शिक्षा आर्जन गर्ने विषय फलामको च्यूरा चपाउनुझैँ थियो । तर, शिक्षा आर्जन गर्ने दृढ इच्छाशक्तिका कारण हाल उनी दक्ष एवम् असल शिक्षकका रुपमा स्थापित बन्न पुगे । त्यतिमात्रै नभई विद्यालयहरुको शैक्षिक सुधारको क्षेत्रमा लामिछानेले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आइरहेका छन् । २० वर्षको उमेरदेखि अध्यापन क्षेत्रमा आवद्ध भएका उनकै पहलमा जिल्लाका केही विद्यालयहरु प्राविधिक शिक्षालयको रुपमा स्थापित भइसकेका छन् भने अन्य केही विद्यालयहरु पनि प्राविधिक अध्यापनको तयारीमा जुटिरहेका छन् ।
हालको श्री भानु माविमा २०४० सालबाट अध्यापन प्रारम्भ गरेका लामिछानेले (हालको) आमभङ्ज्याङस्थित जनक मावि, पिप्लेस्थित बालज्योति मावि, हेटौंडास्थित ज्ञानोदय बोर्डिङ, फापरबारीस्थित जनता मावि, बाराको डुमरवानास्थित राष्ट्रिय मावि डुमरवाना र हटियास्थित जनप्रिय माविमा अध्यापन गराइसकेका छन् भने हाल श्री वंशगोपाल मावि (प्राविधिक शिक्षालय) मा प्रधानाध्यापकको रुपमा रही आफ्नो कार्यकुशलता प्रर्दशन गर्दै आइरहेका छन् । झण्डै आधा शताब्दी शिक्षण पेसामा बिताएका उनै लामिछानेसँग तु खबरले उनको अनुभव एवम् प्राविधिक शिक्षासँग सम्बन्धित विभिन्न विषयमा आधारित भएर गरेको कुराकानीको सम्पादित अंश ।
सवालः ४ दशकदेखि अध्यापन पेसामा सक्रिय हुनुहुन्छ र हाल वंशगोपाल मावि (प्राविधिक शिक्षालय) को प्रधानाध्यापक हुनुहुन्छ । यहाँसम्म आइपुग्दा शिक्षण क्षेत्रमा तपाईंको अनुभव कस्तो रह्यो ?
जवाफः प्रश्नका लागि धन्यवाद । मैले मेरो बाल्यकाल अथवा तत्कालिन समय र अहिलेको शैक्षिक प्रणालीमा निकै भिन्नता पाएको छु । अध्ययन गर्दैगर्दा र अहिले अध्यापन गर्दैगर्दा शिक्षामा धेरै परिवर्तन भएको मेरो अनुभव छ । मेरो अक्षर आरम्भ हालको भीमफेदी गाउँपालिकास्थित तत्कालिन महालक्ष्मी विद्यालय हाल मावि भइसकेको छ । म शिशु कक्षापश्चात अलि जान्ने भएका कारण कक्षा १ र २ नपढी एकैपटक कक्षा ३ मा पुगेको थिएँ । त्यसैगरी कक्षा ४ र ५ मैले हालको मकवानपुरगढी गाउँपालिकास्थित भानु स्कुलमा पढेको हुँ । त्यतिबेला र हालको अवस्थालाई हेर्दा भौतिक रुपमा होस् या शैक्षिक गुणस्तरको हिसाबले, भारी परिवर्तन भएकै हो ।
भौतिक रुपमा शिक्षकहरुको उपलब्धताको दृष्टिकोणबाट अहिले योग्य दक्ष शिक्षकहरुको भीड नै छ, त्यतिखेर शिक्षक पाउनै गाह्रो थियो । १० कक्षा पास गरेको व्यक्ति कसको घरमा होला भनेर खोज्दै हिड्नुपर्ने बेला थियो ।
भौतिक रुपले निकै कमजोर संरचनाहरु हुन्थे । टहराहरुमा बसेर पठनपाठन क्रियापकलाप संचालन गर्नुपर्ने बाध्यता हुन्थ्यो । बस्ने फर्निचर, बोर्ड थिएन । मैले कक्षा ६ र ७ तत्कालिन वंशगोपाल निम्न माविमा पढेको हुँ । यहाँ आएपछि मात्रै मैले ब्ल्याक बोर्ड देखेको हुँ । सामान्य मौषम खराब हुँदा विद्यालय बन्द गर्नुपर्ने अवस्था थियो । कक्षा ८ पछिको अध्ययनको लागि भने म भुटनदेवी स्कुलमा गएँ । एसएलसी परीक्षा त्यहीँबाट पास गरेको हुँ ।
अहिले विद्यालय संरचना पनि फरक हुँदै गयो । त्यतिबेला र हालको अवस्थालाई हेर्दा ठूलो परिवर्तन भएकै हो । यो अवधिमा भौतिक संरचनाको, शिक्षक उपलब्धताको हिसाबले होस् या पाठ्यक्रम, शिक्षण विधि, प्रविधिको प्रयोग, यी सबै हिसाबले उल्लेखनीय भिन्नता रहेको पाइन्छ ।
व्यत्तिगत कुरा गर्ने हो भने मेरो शिक्षामा त्यति सुखद अनुभव रहेन । त्यतिबेला भानु स्कुलमा पढ्दा २०३३/०३४ सालतिर भौतिक संरचना थिएन, शिक्षकहरु पनि पर्याप्त हुनुहुन्नथ्यो । एसएलसी गरेका शिक्षकहरुले माध्यमिक तहसम्म अध्यापन गराउनुपर्ने अवस्था थियो । अहिले प्राथमिक तहकै लागि पनि डिग्री पास गरेका जनशक्ति पर्याप्त भइसक्नुभएको अवस्था छ ।
म विपन्न परिवारको मान्छे हुँ । सामान्य दैनिकी गुजार्नै धौ धौ पर्ने थियो । बाल्यकालमा कुनै पल पनि सुख सम्पन्न, किताब, कापि पुग्यो भन्ने समय आएन । तर म अध्ययनका क्रममा विद्यालय तहमा सँधै प्रथम हुने विद्यार्थीे विद्यालयले मलाई निःशुल्क अध्ययनको व्यवस्था मिलाइदिन्थ्यो । अनुकुल पर्दा अरु पुरस्कारहरु पनि दिएर सम्मान गर्थ्यो ।
एकजोर नयाँ कपडा किन्न दसैं पर्खनुपर्ने अवस्था थियो । त्यो नयाँ कपडा पनि आमा बुवालाई के सहजता हुन्थ्यो भने, युनिफर्मको पनि काम चल्ने दसैंलाई पनि कपडा हुने भन्ने हिसाबले एक जोरमात्रै कपडा किनिदिनुहुन्थ्यो । म चौघडा पढ्न आउथेँ । कक्षा ६ मा पढ्न आउँदा पाइन्ट लगाउने चप्पल लगाउने अवस्था थिएन, कट्टु र सर्टको भरमा नाङ्गै पैतालाले जंगलको बाटो छिचोलेँ ।
भुटनदेवीमा जाँदाचाँही हात्तीछाप चप्पल थियो । त्यो पनि बाटोमा चुँडिने र त्यसलाई पटक पटक गाँसेर लगाएर जाने गथ्र्यौँ । दर्जनौँ पटक मक्रान्चुलीबाट भुटनदेवीजाँदा हात्तीछाप चप्पल चुँडिएर भुटनदेवी स्कुल नजिकै पुगेपछि आगोले चप्पलको लोता गाँसेर काम चलाएको झलझली याद आउँछ ।
विहानको पढाई हुँदा विहान समय हेर्न घडी थिएन, कहिलेकाँही बादलभित्र जुन पर्दा उज्योलो भएजस्तो देखिनेरहेछ । घरबाट हतार भयो भन्दै विद्यालयका लागि निस्क्यो, तर रातिनै भएका कारण धरमचुली भन्ने ठाउँमा आएर धेरै पटक किताब सिरान हालेर ढलेको रुखमा सुतेको मलाई सम्झना छ । अहिले भन्दा यो कहानी जस्तो हुनसक्छ । तर, यो मेरो इतिहास हो ।
अहिले धेरै परिवर्तन भएको छ । हाम्रै विद्यालयमा प्राविधिक शिक्षा अध्यापन भइरहेको छ । विद्यार्थीहरु ल्यापटपसहित प्रविधिमय वातावरणमा अध्ययन गरिरहनुभएको छ । हामीले असार मसान्तमा यही विद्यालयका विद्यार्थीहरुलाई २० वटा ल्यापटप वितरण गर्यौँ ।
त्यसबेला सवारी साधन थिएन, हिँडेरै ओहोरदोहोर गथ्र्यौँ । घरको अवस्था नाजुक देखेर तत्कालिन समयमा बद्रीप्रसाद न्यौपाने दाइले ‘कक्षा १० मा पढ्न थालिसक्यौ गाउँमा निम्न माध्यमिक विद्यालय संचालन गरेका छौँ । तिमी आइदिएदेखि स्कुललाई सहज हुन्थ्यो । यसो तिम्रो व्यत्तिगत खर्च पनि चल्थ्यो । घरमा नुनतेल पनि चल्थ्यो’ भन्नुभएपछि महिनाको २० रुपैयाँ खर्च लिएर अध्यापन गर्न थालेको हुँ ।
त्यसपछि म आमभज्याङस्थित जनक स्कुलमा नियुक्ती लिएरै अध्यापनको लागि गएँ । त्यसैक्रममा मकवानपुर बहुमुखी क्याम्पसमा भर्ना भएँ । विहान पढाउन जाने अनि हिढ्दैहिड्दै आएर मकवानपुर क्याम्पसमा साँझको कक्षा अध्ययन गर्ने र राति १० बजे मक्रान्चुली पैदल जाने गर्थेँ ।
मेरो जीवनमा बद्री न्यौपाने, बद्री धिताल र रामप्रसाद न्यौपानेहरुको महत्वपूर्ण सहयोग छ । मैले उहाँहरुलाई बिर्सन हुँदैन । पन्चायतकालमा जिल्लाको सदरमुकाम भीमफेदी छँदै मैले त्यहाँबाट शिक्षक सेवा आयोगको जाँच दिएँ र २०४२ सालमा प्राथमिक तहको स्थायी शिक्षक भएँ । त्यतिबेला म मालेसँग निकट भएर पञ्चायत र राजतन्त्रविरुद्ध भएका गतिविधिमा पनि सक्रिय थिएँ ।
सवालः त्यतिबेला र अहिलेको शिक्षा प्रणालीमा मुलभूत भिन्नताहरु के–के पाउनुभयो ?
जवाफः निश्चय नै धेरै भिन्नता पाएको छु । त्यतिबेला घोकन्ती विद्या थियो । घोकेर मात्रै सिकिन्छ भन्ने थियो, प्रविधि र सिप भन्ने त्यति हुँदैनथ्यो । अहिले सकेसम्म सिकोस् भन्ने छ । अहिले ब्याचरल गरेको मान्छेलाई विदाको, जागिरको निवेदन लेख्न आउँदैन भन्छन् । तर, त्यतिबेला चाँही त्यस्तो होइन है, प्राथमिक तहकै पाठ्यपुस्तकमा यी कुरा समावेश गरिएका हुन्थे । त्यसबेला अंग्रेजी विषय प्रयोग गर्ने अवस्था थिएन । अंग्रेजी के हो भन्नेबारेमा मात्रै अध्ययन गरिन्थ्यो । गणित र विज्ञान पनि परिस्कृत हुँदै आएको पाइन्छ । शिक्षण विधि हेर्ने हो भने, हिजो शिक्षकले नै बढी ब्याख्या गर्ने र विद्यार्थी सुन्ने अवस्था थियो । तर, अहिले शिक्षकले कम बोल्ने र विद्यार्थीलाई बढी सहभागी गराउने अवस्था छ । गरेर सिक्ने वातावरण सृजना भएको छ । तर, सोचेजस्तो परिवर्तन अझै हुन सकेको छैन ।
हामीले अहिले पनि फलो गरिरहेको ऐन भनेको शिक्षा ऐन २०२८ नै हो । त्यसकै आधारमा नियमावली र कार्यविधि बन्दै आएको छ । अनगिन्ति व्यवस्थाहरु परिवर्तन भएपनि शिक्षा ऐन फेर्न सकिएको छैन । जसका कारण शिक्षा क्षेत्रमा सोचेजस्तो परिवर्तन अझै भएको भने छैन । सरकार पक्षकै बेवास्थाले यो समस्या भइरहेको हो ।
सवालः जनमानसमा शिक्षा, व्यवहारिक र प्रभावकारी हुन सकेन भन्ने बुझाई रहेको पाइन्छ । तपाईंको विचारमा शिक्षालाई व्यवहारिक र प्रभावकारी बनाउँदै लैजान के गर्नुपर्छ ?
जवाफः एकै शब्दमा भन्ने हो भने हाम्रो शिक्षा ‘जागिरमुखी शिक्षा’ हो । जागिर खानको लागि मात्रै पढ्ने प्रचलन छ । शिक्षा अहिले त बेरोजगार उत्पादन गर्ने फ्याक्ट्री जस्तै बनेको छ । शिक्षामा सिप र ज्ञान हुनुपर्ने हो, त्यो दुईटै कुरा नजोडिएको कारणले समस्या भइरहेको छ । ब्याचलर गरेको विद्यार्थीले विदाको, जागिरको निवेदन ढंग पुर्याएर लेख्न जान्दैन । डिग्री गरेका विद्यार्थीलाई जोडेमोडेका अक्षर लेख्न आउँदैन । हाम्रो शैक्षिकस्तर कहाँ छ भन्ने कुरा यहाँबाटै पुष्टि हुन्छ । नेपालको शिक्षा सिप र ज्ञानबाट टाढा टाढा भइरहेको छ ।
११/१२ पढ्न आउने विद्यार्थीलाई तिमि कुन विषय पढ्ने भनेर सोध्यौँ भने उसले ‘जे सजिलो छ, त्यो पढौँ, त्यसपछि त विदेश जाने त होनी होइन र ?’ भन्ने जवाफ दिन्छ । क्षमता भन्दा पनि सर्टिफिकेटको लागि मात्रै अहिले पढ्ने वातावरण बनिरहेको छ । सरकारले नबुझेको होइन । तर, नगरिएको चाँही हो । जसका कारण सिप भएकाहरु पनि पलाएन हुने, निराश हुने, आत्महत्या गर्ने, डिप्रेशनमा जाने अवस्था बनिरहेको छ । राज्यपक्ष गम्भीर हुन सकेको छैन ।
सवालः तपाईं हाल आवद्ध विद्यालयतर्फ हामी प्रवेश गरौँ, वंशगोपालले विशेषगरी प्राविधिक शिक्षातर्फ जोड दिइरहेको अवस्था छ । आम विद्यार्थी र अभिभावकहरुले जान्न चाहेको कुरा, कस्ता विद्यार्थीले प्राविधिक विषय अध्ययन गर्न सक्छन्, यसको संभावना कस्तो छ, यसबाहेक विद्यालयबाट प्रवाह भइरहेका सेवाहरु के–के छन् ?
जवाफः मैले थोरै जोड्न चाँहे २०५१ मा हटियाको जनप्रिय स्कुलमा अध्यापन गर्थेँ । २०६० मा जनप्रियबाटै एउटा प्रस्ताव तयार गरेर सिटिइभिटिमा गई हामीले सामूदायिक विद्यालयमा प्राविधिक शिक्षा जिल्लामै पहिलो पटक ल्याउन सफल भएका थियौँ । त्यसबेला म त्यहाँको पनि प्रधानाध्यापक थिएँ ।
म २०६४ मा वंशगोपाल आएपनि २०६५ मा पहिलो पटक क्याम्पसको प्रस्ताव अघि सारे । प्राविधिक शिक्षा हटियामा छ, यहाँ चाँही क्याम्पस संचालन गर्नुपर्छ भनेर मैले प्रस्ताव अघि बढाएको थिएँ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिनको लागि प्रक्रिया अघि बढाएर सबैको सहयोगमा क्याम्पस संचालन गर्यौँ । १० वर्षसम्म क्याम्पस प्रमुखको हैसियतमा रहेर पनि काम गरेँ ।
२०७५ सालमा प्राविधिक शिक्षाको प्रस्ताव अघि सारेँ । सिभिल इन्जिनियरिङ ३ वर्षे कोषको प्रस्ताव तयार गरेर सिटिइभिटिमा जाँदा ‘तपाईंकै पालामा जनप्रिय पहिलो भयो । अब १५ बर्षपछि वंशगोपाल दोस्रो प्राविधिक विद्यालय हुँदैछ ।’ भन्नुभयो । हामीले सिटिइभिटिबाट सम्बन्धन लिएका हौँ । यो सिभिल इन्जिनियरिङ डिप्लोमा कोर्ष भनेको ३ बर्षे हो ।
३ वर्षे नापीसंग सम्बन्धित इन्जिनियरिङ कोर्ष पनि पढाई हामीले संचालन गरिरहेका छौँ । अन्य कोर्षहरु त भइनैरहेका छन् । यस विद्यालयमा भएको ३ वर्षे सिभिल र जियोम्याट्रिक्स डिप्लोमा कोर्स भनेको हालको एसईई उत्तीर्ण भएको ३ वर्षे कोर्ष हो । यसमा भर्ना हुन सबैभन्दा पहिले गणित र विज्ञान विषयमा सि ग्रेड आएको हुनुपर्छ, त्यो न्यूनतम ग्रेड हो । यो कोर्ष नै म्याथ र साइन्स भएको र इन्जिनियरिङसमेत थपिने भएकोले यो अनिवार्य गरिएको हो । अझ म त कम्तिमा पनि यो विषय पढ्न बी ग्रेड ल्याउनुपर्छ भन्छु सुझाव दिन चाहान्छु ।
यो ३ वर्षे कोर्ष पास गरेपछि ब्याचलर पढ्न जाँदा निकै सहज हुने वातावरण बन्छ । समेस्टर सिस्टम हो, थप पाढ्यक्रम पनि छ । त्यसैले विद्यार्थी निकै दक्ष बन्दै जाने र अवसर पाउने सन्दर्भमा पनि उनीहरुनै प्राथमिकतामा पर्ने गर्दछन् । रोजगारमुखी दृष्टिकोणबाट यो प्राविधिक शिक्षा अनिवार्य छ जस्तो लाग्छ मलाई ।
सवालः तपाई वंशगोपाल मावि (प्राविधिक शिक्षालय) को प्रधानाध्यापकको जिम्मेवारीमा रहेपछि विद्यालयको भौतिक र शैक्षिक सुधारका लागि के–के काम भए ?
जवाफः म हाल प्रधानाध्यापकको रुपमा रहेको छु । यस विद्यालयको भौतिक तथा शैक्षिक सुधारका कार्यहरु उल्लेख्य मात्रामा भएका छन् । यद्यपी, मेरो नेतृत्वमा मात्रै नभई विद्यालय व्यवस्थापन समिति, यहाँका शिक्षहरु, हाम्रा अभिभावकहरु सबैको पहलमा शैक्षिक सुधार एवम् भौतिक सुधारका कार्यहरु भएको हो । एक व्यक्तिको पहलमा मात्रै केही पनि हुँदैन जस्तो लाग्छ । हामी सबैको पहलबाट धेरै काम भएको छ ।
२०६४ मा म विद्यालयमा आउँदा भवनमा टेका लगाएर राखिएको अवस्थामा थियो । हामीले २०६५ मा आर्थिक स्रोत जम्मा गरी भौतिक संरचना निर्माणका लागि महायज्ञ लगायौँ । विद्यालयकै पहलमा क्याम्पस संचालन गर्यौँ । क्याम्पस स्थापना नै विद्यालयले गरेको हो ।
८३ लाख जति हिसाब उठ्नुपर्ने देखिएपनि १७ लाख जति उठ्न सकेको छैन । प्रतिवद्धता जनाउनुभएका व्यक्तिहरुलाई पत्राचार गरिरहे पनि उहाँहरुले दिनुभएको अवस्था छैन । करिब ५÷६ लाख रुपैयाँ व्यवस्थापन खर्च भयो । हामीले अनुदानस्वरुप पाएको ६ लाख र महायज्ञबाट बँचेको पैसाले ठूलो रुपमा भौतिक परिवर्तन ल्याउन सफल भयौँ ।
२०६७ मा स्वर्ण महत्वसव मनायौँ । त्यसबेला हामीले मेला लगाएका थियौँ । कर्रा खोलामा बोटिङ गरायौँ । तर, मेलाबाट हामीले सोचेजस्तो आर्थिक संकलन गर्न भने सकेनौँ । करिब २ लाख जति मात्रै बचेको अवस्था थियो । हाम्रो १८ कोठाको प्रयोग भइरहेको विद्यालय भवन धरान चतरा सडकले भत्काउँदा क्षति पुगेको छ । क्षतिपूर्ति स्वरुप दिइने भनिएको पैसा नपाउँदा नयाँ भवन बनाउन समस्या सृजना भएको छ । सडकले भवन भत्काइदिएको कारण लाइब्रेरी र ल्याबको समस्या भइरहेको छ । तरपनि हामीले जेनतेन व्यवस्थापन भने मिलाएका छौँ ।
समूदायमा अंग्रेजीप्रतिको आकर्षण बढ्दै गएपछि हामीले अंग्रेजी मिडियममा पनि पठनपाठन सुरु गयौँ । २०६४ बाटै मैले अंग्रेजी मिडियममा पनि कक्षा संचालन गर्न प्रस्ताव गरेको थिएँ । त्यसैबेलाबाट नर्सरी सुरु भएको थियो । अहिले एसइइसम्म अंग्रेजी मिडियममा पढाई हुन्छ । वंशगोपालप्रति विद्यार्थी र अभिभावको आकर्षण बढ्दो छ । हाल १ हजार २ सयको संख्यामा विद्यार्थीहरु विभिन्न विषय र तहमा अध्ययन गरिरहनुभएको छ ।
शैक्षिकस्तर अभिवृद्धिका लागि पहल गर्ने क्रममा हामी प्राविधिक शिक्षा अध्यापनलाई जोड दिइरहेका छौँ । विगतमा पढाइभइरहेको विषय जारी नै रहेको छ ।
म विद्यालयमा प्रवेश गर्दा कम्यूटर शिक्षा थिएन । अहिले विद्यालयमा कक्षा ६ देखि नै कम्प्यूटर शिक्षा संचालन भइरहेको छ । सहदेव गौतमज्यूले सहयोग गर्नुभएको २ वटा कम्प्यूटरबाट हामीले सुरु गरेका थियौँ । शिक्षकले ल्यापटप बोकेर कक्षाकोठामा जाने वातावरण बनेको छ । कक्षाकोठामा सिसि क्यामेरा र प्रोजेक्टरको व्यवस्था छ । रिजल्ट राम्रो आइरहेको छ । हामी सन्तुष्ट नै छौँ । अझै शैक्षिक स्तरीयता हाँसिल गर्न लागिपरेका छौँ । सामूदायिक विद्यालयमा विज्ञान शिक्षा सुरु गर्ने हाम्रो विद्यालय जिल्लामै पहिलो हो ।
सवालः अन्तमा के भन्न चाहानुहुन्छ ?
जवाफः शैक्षिक संस्थालाई अझै स्तरीय बनाउँदै लैजानुपर्छ, शैक्षिक गुणस्तर वृद्धि गर्दै व्यवहारिक र प्रयोगात्मक शिक्षामा जोड दिनुपर्छ । यसका लागि सरोकारवालाहरुको भूमिका महत्वपूर्ण हुन्छ । त्यसकारण सरोकारवाला र जिम्मेवार अंगहरुको चासोमा अब विद्यालय पर्नुपर्छ भन्न चाहान्छु । त्यस्तै शिक्षा ज्ञान र सिपसंग जोडिनुपर्छ । शिक्षाले त्यो मान्छेको जीवन उत्कृष्ट शैलीमा रुपान्तरण गर्न सक्नुपर्छ ।
सर्टिफिकेट बोकेर हिड्न र विदेश जानको लागि मात्रै नभई शिक्षा व्यवहारिक र प्रभावकारी हुनुपर्छ भन्ने लाग्छ । प्रविधिमय शिक्षण कार्य प्रारम्भको लागि दिनरात नभनी खट्नुभएका शिक्षकहरु, व्यवस्थापन समिति, आम समूदाय सबैलाई धन्यवाद दिन चाहान्छु । हामी विद्यार्थीको भविष्य कसरी उज्ज्वल बनाउन सकिन्छ भन्नेमा अहोरात्र लागिपरेका छौँ । मेरो विचार र विद्यालयबारे जानकारीहरु यहाँको तु खबरमार्फत् सम्प्रेषित हुँदैछ । म यहाँहरुप्रति आभारा व्यक्त गर्दछु ।