अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पदयात्रा

तु खबर संवाददाता
२०७९ श्रावण २८,शनिबार १६:१३

मकवानपुर । बागमती प्रदेश युवा परिषद्ले शनिबार पदयात्रा आयोजना गरेको छ । युवा परिषद्ले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजना गरेको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज पाँचौ दिन पदयात्रा गरेको हो ।

“पर्यटन प्रवर्द्धन युवा पदयात्रा” भन्ने नाराका साथ हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ स्थित सिँचाइटोलबाट सुरु भएको पदयात्रा मनकामना मन्दिर हुँदै पुनः हेटौंडा–५ स्थित रुद्रेश्वर मन्दिर परिसर पुगेर सभामा परिणत भई समापन भएको थियो । मनकामना मन्दिरमा पदयात्रा टोलीलाई मकवानपुरगढी गाउँपालिकाकी उपप्रमुख मान कुमारी नेपालीले स्वागत गरेकी थिइन् ।

बागमती प्रदेश स्काउटको समन्वयनमा भएको पदयात्रामा चितवन जिल्ला र मकवानपुरका स्काउट सदस्यहरुको साथै १ सय जनाभन्दा बढी युवाहरुको सहभागिता रहेको थियो । ‘अन्तरपुस्ता ऐक्यबद्धता, सबै उमेर समूहमैत्री विश्व निर्माणमा साझा प्रतिबद्धता’ भन्ने मूल नाराका साथ २२ औं अन्तर्राष्ट्रिय युवा दिवसमा सप्ताहव्यापी कार्यक्रम भइरहेको छ । साउन २४ गतेबाट सुरु भएको सप्ताहव्यापी कार्यक्रमको ३० गते समापन हुनेछ ।

पद यात्रामा बागमती प्रदेश युवा परिषदका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाई, बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी, जिल्ला बार एसोसियन मकवानपुरका पुर्व अध्यक्ष मदन न्यौपाने लगायतको सहभागिता रहेको थियो ।