हेटौंडाको जनचेतना स्वावलम्बन सहकारीका अध्यक्ष र कोषाध्यक्ष पक्राउ

तु खबर संवाददाता
२०७९ भाद्र १,बुधबार १५:५६

मकवानपुर । बचतकर्ताको रकम माग भएको समयमा फिर्ता नगरेपछि बचतकर्ताकै उजुरीका आधारमा प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ स्थित जनचेतना स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था संचालक समितका अध्यक्ष र कोषाध्यक्षलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा संस्थाका अध्यक्ष धादिङ फुलखर्क घर भई हाल हेटौंडा– ८ बस्ने ४० वर्षीय रामकृष्ण अधिकारी र कोषाध्यक्ष हेटौंडा– ८ का ३२ वर्षीय राजीव तामाङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दर्जनौ बचतकर्ताहरुले सहकारीको पासबुकसहित उजुरी दिएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

भविष्यमा आइपर्ने आर्थिक समस्यालाई समाधान गर्ने उद्देश्यले सहकारीमा जम्मा गरेको बचत रकम सहकारी संचालक समितिले हिनामिना गरेपछि बचतकर्ता र कर्मचारीहरू तनावमा परेका थिए । सहकारीको बचत रकम हिनामिना भएपछि बचत गर्ने बचतकर्ता र बचतकर्ताबाट नियमित पैसा सङ्कलन गर्ने कर्मचारीहरू तनाबमा परेका थिए ।

सहकारीमा बचत गर्दै आएका हेटौंडा– १८ की कमला बिडारी, हेटौंडा– २ की बबिता श्रेष्ठलगायतले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा सहकारी संचालकविरुद्ध २४ साउनमा संयुक्त जाहेरी दखास्त दिएका थिए । उनीहरूले आफूहरूको पैसा हिनामिना गरेको र फिर्ता गर्न माग गर्दा नदिएको भन्दै सहकारी सञ्चालक समितका अध्यक्ष अधिकारी र कोषाध्यक्ष तामाङविरुद्ध जाहेरी दिएका थिए ।

बचतकर्ताहरूले उजुरी गरेपछि प्रहरीले सहकारी संचालकलाई झिकाएको थियो । उजुरी परेपछि सहकारी संचालकले बचतकर्ताको रकम फिर्ता गर्ने भन्दै २० साउनमा सटही हुने गरी सहकारीको कर्मचारीहरूको नाममा लाखौँ रकमको चेकसमेत काटेको थियो ।

सहकारीले बचतकर्ताको रकम फिर्ताका लागि मेनुका श्रेष्ठ पाख्रिनको नाममा १५ लाख ४६ हजार ८३२, अनुषा राजवाहक रदेविका शर्माको नाममा २५ लाख ७८ हजार ९८०, पावर्ती हमालको नाममा १६ लाख ९५ हजार, सविता स्याङतानको नाममा १० लाख ७१ हजार ४४५ र सुनिलकुमार बाँनियाँको नाममा ११ लाख ८० हजार रुपैयाँको ५ थान चेक काटेको थियो ।

तर, गएको २० साउनमा चेक सटही नभएपछि बचतकर्ताहरूले २४ साउनमा सहकारी संचालक समितिका अध्यक्ष अधिकारी र कोषाध्यक्ष तामाङविरुद्ध जाहेरी दरखास्त दिएका थिए । उजुरी परेपछि प्रहरीले मङ्गलबार ३१ साउनमा सहकारीका २ जनालाई पक्राउ गरेको हो । मङ्गलबार पनि सहकारीका १० जना बचतकर्ताहरूले पुनः अध्यक्ष र कोषाध्यक्षविरुद्ध ठगी मुद्दामा जाहेरी दिएका छन् । पक्राउ परेका उनीहरुमाथि ठगी मुद्धा अन्तरगत कारवाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।