लागूऔषधसहित दुई जना मकवानपुर प्रहरीको फन्दामा
मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले लागूऔषध नाईट्रोभेट ६०० ट्याब्लेट, डाईजेपाम ९३० एम्पुलसहित बिहीबार दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा मोरङ बिराटनगर महानगरपालिका वडा नम्वर १५ घर भई हाल पर्सा बिरगंज बस्ने २२ वर्षीय रंजित शर्मा र बिरगंज बस्ने जटाशंकर सोनार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, उनीहरुलाई विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
बिहीबार बिहान बिरगंजबाट हेटौंडातर्फ आउँदै गरेको ना ६ ख ८४२५ नम्वरको यात्रुबाहक बसलाई हेटौंडा–१५ रातोमाटे चेकपोष्टस्थित सडकखण्डमा रोकी चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार रंजित शर्माले ल्याएको २० किलोको चामलको बोराभित्र उक्त परिमाणको लागूऔषध बरामद भएको थियो ।
बरामद लागूऔषधको बारेमा सोधपुछ गर्दा जटाशंकर सोनारले पठाएको भनि खुल्न आएको र सोनार बस भन्दा अगाडि ना २६ प ७९८० नम्वरको मोटरसाइलमा चितवनतर्फ गएको भनि बताए पश्चात निजलाई समेत साथमा लिई चितवन तर्फ जाँदै गर्दा लोथरस्थित सडक किनारमा बसिरेको अवस्थामा फेला पारी पक्राउ गरेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।
बरामद लागूऔषध र मोटरसाइकलसहित पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।