मकवानपुरको महक ८: साहित्यकार गणेशकुमार पौडेलसित अन्तिम भेट

सञ्जय साह मित्र
२०७९ भाद्र ६,सोमबार १९:५९

हेटौँडेली साहित्यिक कार्यक्रमहरुमा म २०५० देखि नै सहभागी हुन थालेको हुँ । मकवानपुर बहुमुखी क्याम्पसमा बिए पढ्न थाल्दा नै साहित्यिक कार्यक्रमको खोजी गर्दै साहित्य सङ्गम मकवानपुरको कार्यक्रमहरुमा सहभागी हुन थालेको हुँ । त्यत्ति बेला महिनाको एक दिन कार्यक्रम हुन्थ्यो र त्यसको हस्त लिखित सूचना टाँसिन्थ्यो सूचना केन्द्रको भित्तामा । उपस्थिति थोरै हुन्थ्यो तर उत्साह धेरै हुन्थ्यो । सहभागी हुन थालेदेखि मैले सुरुका वर्षहरुमा कुनै पनि कार्यक्रम छुटाउँदैन थें ।

साहित्यकार गणेशकुमार पौडेलसित कहिले चिनजान भयो ? उत्तर निरुत्तर छ । साहित्यलाई स्वाभाविक दैनिक गतिविधिमा लिने साहित्यकार पौडेल आफ्नै दैनिक गतिविधिमा पनि साहित्यलाई मिसाउँथे । स्वास्थ्यकर्मीको हैसियतमा बंगलादेशको यात्रा गरेपछि साहित्यकार पौडेलले कवितामा लेखे – बंगलादेशको सफर ।

कविता विधामामात्रै पौडेलले कलम चलाउँथे भन्ने होइन । मनको बह कुन विधामा कह ? साहित्यकारको मनले दिने उत्तर हुन सक्छ । जसरी अभिव्यक्ति दिन स्वाभाविक लाग्दछ, जाने त त्यसरी नै हो । साहित्यकार पौडेलले आफ्नो कृतिमलाई दिएपछि मैले सोधेको थिएँ – बंगलादेश कस्तो छ ? जवाफ अहिले मलाई सम्झना छैन तर बंगलादेशको बारेमा तत्कालीन मनको ब्याडमा उम्रेका जिज्ञासा मूलक बेर्नाहरुलाई मैले पहिलोचोटि हो फराकिलो जवाफको तयारी खेतमा रोपेको ।
एउटा सत्सल्लाह कहिल्यै बिर्सन्न ।

भर्खर बिहे गरेको थिएँ । एक दिन हेटौँडा अस्पतालमा पुग्यौँ । पारिवारिक सल्लाह लिनु थियो । अस्पतालमा पुग्नासाथ मुस्कानसाथ स्वागत गर्नुभयो पौडेल सरले । म र श्रीमती थियौँ । मलाई त पहिलेदेखि नै चिन्नुहुन्थ्यो । राम्रै चिन्नु हुन्थ्यो ।श्रीमतीलाई पनि चिन्नुभयो ।

हामीले समस्या भन्यौँ । समस्या भनिसकेपछि केही दोहोरो सम्वाद भयो । अधिकांश प्रश्नको उत्तर श्रीमतीले दिनुपर्ने थियो । समस्या समाधान हुने भयो । र, भयो पनि । २०६१ साउनसम्म निरन्तर कार्यक्रमहरुमा सहभागी हुँदा सहयात्री पौडेल सर हुनुहुन्थ्यो ।

म कहिल्यै कुनै पदमा जान चाहिनँ । सङ्गमको सदस्यता लिनुपर्छ भनेर एक जना साहित्यकारले दिएको सुझाव अनुसार सदस्यता लिएको थिएँ । निर्वाचनमा भोट पनि हालेको छु तर म आफु कार्य समितिमा पनि जान कहिल्यै चाहिनँ । गइनँ पनि ।

हेटौँडा छाडेपछि धेरै साहित्यकारहरुसितको सम्पर्क चिसिएको छ । सामाजिक सञ्जालमा सक्रिय रहनेहरुसित र अझजो मसित सरोकार राख्दछन्, उहाँहरुसित भने सम्पर्कमै छु । वर्षको एक वा दुई कार्यक्रममा हेटौँडा पुग्ने गरेको पनि छु । साहित्यकार पौडेलसित भने सामाजिक सञ्जालमा खासै कुराकानी हुँदैनथ्यो ।

हेटौँडा साहित्यिक राजधानी हो देशको नेपाली साहित्यको । यहाँको वातावरण साहित्यमय भइसकेको छ । सामाजिक सञ्जालमा हरेक दिन साहित्य र यससित सम्बन्धित व्यक्ति तथा संस्थाका कुनै न कुनै खबर आउँछ । जब साहित्यकार पौडेललाई अर्बुद रोग लागेको खबर थाहा पाएँ, निकै दुःख लाग्यो । अरुले जस्तै सामाजिक सञ्जालमा लेख्नुपर्ने शब्द र भाव लेखेर औपचारिकता पूरा गरेँ तर वास्तवमा एकचोटि भेट्ने अभिलाषा भने मनमा रहिरहेको थियो ।

गत २०७८ फागुन २० र २१ म हेटौँडा उपमहानगरपालिकाको सहयोगमा आँचल साहित्यकला पुञ्ज हेटौँडाले रोयल पार्टी प्यालेसमा बृहत् साहित्य महोत्सवको आयोजना गरेको थियो । त्यस कार्यक्रममा म पनि सहभागी थिएँ । कार्यक्रममा पुगेर पहिलो दिन सहभागीहरुसित अनौपचारिक औपचारिक छलफल चलिरहेको थियो । त्यसै बेला रोयल पार्टी प्यालेसमै साहित्यकार पौडेलले – के छ सञ्जय साहजी ? भन्दै मुस्कुराउँदै मतिर आउनुभयो । मैले नमस्कार गरें, उहाँले फर्काउनुभयो । मैले हालखबर सोधें । उहाँले के छ यस्तै हो भन्नुभयो ।

अनुहारमा उही मुस्कान । शरीर उत्रै तर जिउ भने निकै दुब्लाएको । मेरो अनुहारमा उम्रेको विस्मयको भावलाई साहित्यकार देवराज खरेलले पढ्नुभयो । खरेलले भन्नुभयो – पौडेल सरले त क्यान्सरलाई जित्नु भएछ । अनि दुब्लो हुनु स्वाभाविक हो । उहाँ त आफैँमा एक योद्धा हुनुहुन्छ । सानो तिनो युद्ध जित्नु भएको छैन । मृत्युमाथि विजय प्राप्त गरेर अहिले हामी माझ साहित्यिक कार्यक्रममा हुनुहुन्छ ।

खरेल सरको बोलीमा गर्वको अनुभूति थियो र वीरताको भाव पनि । वास्तवमा यी दुई भावभित्र लुकेका थिए प्रेम र सम्मान । सद्भाव त थियो नै । वास्तवमा एक साहित्यकारले पाउनुपर्ने पनि यत्ति नै हो नि । एक साहित्यकारलाई अर्को साहित्यकारले दिने यही नै हो । पौडेल सरको अभिव्यक्ति आयो – जीवन यस्तै हो ।

पौडेल सरको रुचि व्यङ्ग्यर चनामा पनि थियो । मैले पनि दशकौँ देखि हास्यव्यङ्ग्य लेख्दै आएको छु । हेटौँडा हुँदाको अवस्थामा हरेक हप्ता हिमालय टाइम्स दैनिकमा एउटा र स्पेस टाइम दैनिकमा एउटा व्यङ्ग्य प्रकाशित हुन्थे मेरा । अहिले त्यत्ति लेख्न सकिँदैन । जब हेटौँडाबाट रौतहट फर्केँ तब व्यङ्ग्य लेखनको तलतल अनेकानेक नामबाट वीरगंजको प्रतीक र अन्य दैनिक पत्रिकाहरुमा लेखें । व्यङ्ग्य कृति प्रकाशनतिर कहिल्यै सोच गएन तर नवप्रज्ञापन द्वैमासिकमा प्रकाशनार्थ एउटा रचना पठाएपछि प्रकाशित गरेर सम्पादक नवराज रिजालले मौखिक रुपमा दिएको हौस्याईँपूर्ण प्रतिक्रियाले कृति प्रकाशनतर्फ ध्यान गएको हो । बृहत् साहित्य महोत्सवको समयसम्म मेरो व्यङ्ग्यम् हास्य व्यङ्ग्य निबन्ध कृति प्रकाशित भइसकेको थियो तर म केवल तिन कृति बोकेर हेटौँडा पुगेको थिएँ । त्यस कार्यक्रममा व्यङ्ग्यकार आरसी रिजालले कृति पढ्न पाएहुन्थ्यो भन्ने अपेक्षा गर्नुभएको थियो तर म सित थिएन, साहित्यकार पौडेलले पनि कृतिको अपेक्षा गर्नु भएको थियो तर दिन सकिनँ ।

केही समय पहिले जब सामाजिक सञ्जालमा अवसानको खबर पढें तब दुख्नुसम्म दुख्न थाल्यो । छतिवनमा सँगै बसेको, यात्रा गरेको, कैयौँ कार्यक्रममा निर्णायक पनि बसेको र अन्य सहकार्यहरुको सम्झनाको तुफानले विस्मित तुल्यायो । सम्वेदित भएँ । अझ थकथक लागिरह्यो – मैले उहाँको हातमा आफ्नो हास्यव्यङ्ग्य निबन्धको सङ्ग्रह व्यङ्ग्यम् प्रदान गर्न सकिनँ । नियतिले त्यहीँ नै अन्तिम भेट गराउला भन्ने पूर्वाभाष पाएको भए उहाँको हातमा कृति जसरी पनि उपलब्ध गराउँथे । अहिले पनि त्यस दिनको मुस्कान साथ हार्दिक अभिवादन सम्झिइरहेको छु र कृति उपलब्ध गराउन नसकेकोमा पछुतो पनि गरिरहेको छु ।

मित्रनगर, गरुडा ४, रौतहट