ढकाल परिवारद्वारा भ्यालेन्टिनाको उपचारका लागि सहयोग अपिल
काठमाडौँ । नेपाल अमेरिका पत्रकार संघ (नेजा) शाखा डीसी मेट्रो एरियाको क्षेत्रीय संयोजक लिला ओझा ढकालले २० बर्षीया छोरी भ्यालेन्टिना ढकालको अमेरिकाको टेनसी राज्यमा दुर्घटना भएको र उनको उपचार खर्च धेरै लाग्ने भएकोले आर्थिक सहयोगका लागि अपिल गरेकी छिन् ।
भ्यालेन्टिना अगस्ट १४ मा इशा फाउन्डेशनमा स्वयम् सेविकाको रुपमा काम गर्दैगर्दा दुर्घटनामा परेकी थिइन् । घटनापछि उनलाई नजिकैको अस्पताल लगिएको थियो । उनी हाल एर्लाङ्गर मेडिकल सेन्टरमा उपचाररत छिन् ।
ढकालको मस्तिष्कको शल्यक्रिया भइसकेको छ र अझै कोमामा रहेको कारण उनको उपचारमा लामो समय लाग्ने तथा बाँकी रहेको कम्तीमा १ वर्ष टिबिआई पुनःस्थापना केन्द्रमा भर्ना गर्नुपर्ने उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । सो अवधिमा ढकालको उपचारमा थुप्रै खर्च लाग्ने भएकाले उनको परिवारले आर्थिक सहयोगको लागि अपिल गरेका हुन् ।
ढकालको चिकित्सा बीमा भएता पनि उनको विशेष उपचार नेटवर्क बाहिर धेरैजसो आफैले खर्च बेहोर्नुपर्ने खालको भएकाले आर्थिक सहयोग आवश्यक भएको पारिवारिक स्रोतले जनाएको छ । ढकाल परिवारले आफ्नो छोरीको उपचारमा सहयोग गर्न गोफन्ड खाता खोलेको र यस फन्डरेजरको सत प्रतिशत रकम रकम सिधै उनको अभिभावकको खातामा जाने जनाइएको छ ।
भ्यालेन्टिना उत्तरी भर्जिनिया सामुदायिक कलेजमा कम्प्युटर विज्ञानको नयाँ विद्यार्थी हुन् । उनी १४ वर्षीय भाइ अलिश, बुबा अशोक ढकाल र आमा लिला ओझा ढकालसँग भर्जिनियाको बुर्केमा बस्दै आएकी थिइन् । उनको परिवारका अन्य सदस्यहरु भने नेपालमा छन् ।
नेपाली अमेरिकन कम्युनिटी सेन्टर एनएसीसी, नेपाल अमेरिका पत्रकार संघ एनइएजेए, ईशा फाउण्डेसनलगायतका संस्थाहरूमा आवद्ध भएर उनी स्वयम् सेविकाको रुपमा सेवामूलक कार्यमा सक्रिय थिइन् ।