‘शासक होइन सेवक भएर काम गर्छु’
संघीय लोकतान्त्रिक संविधान कार्यान्वयनपछि दोस्रो पटक स्थानीय तहको निर्वाचन गत वैशाख ३० गते सम्पन्न भएको छ । मुलुकको सर्वतोमुखी विकासका लागि स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुन्छ । स्थानीय तह संघीयताको पहिलो खुड्किलो पनि हो । यसले लोकतन्त्रको आधार स्तम्भको रुपमा रही जनतासँग प्रत्यक्ष सम्बन्ध राख्दछ ।
विगत ५ वर्षको अनुभवले आम जनता र राजनीतिकर्मी बीच स्थानीय सरकारको महत्वलाई अझ थप स्पष्ट पारेको छ । यसअघिको स्थानीय सरकार संघीयता कार्यान्वयनपछिको पहिलो अनुभव थियो । त्यसैले आवश्यक कानूनको अभावमा संघीय प्रणाली अनुरूपको सेवा प्रवाह हुन सकेन । सबै तहमा कर्मचारीको अभाव, योजना र बजेट परिचालनमा पर्याप्त सीप र अनुभवको अभावमा जनप्रतिनिधिले चाहे जस्तो काम गर्न सकेनन् ।
ती समस्याहरु अहिले केही हदसम्म समाधान भएका छन् । संविधानको अनुसूची ८ ले स्थानीय तहको जिम्मेवारी तोकिदिएको छ । स्थानीय तहको विशिष्ट जिम्मेवारी र अन्य साझा अधिकार छन् । स्थानीय सरकार संचालन ऐन २०७४ को समेत अभ्यास र कार्यान्वयनका लागि सँगालेका अनुभव अहिलेको कार्यदिशाका अमूल्य सम्पती हुन् ।
मकवानपुरमा हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका र ८ वटा गाउँपालिका रहेका छन् । भौगोलिक विभिधताले भरिपूर्ण यस जिल्लामा कृषि र पर्यटनको प्रचुर सम्भावना रहेको छ । सिमेन्ट उद्योगका लागि चुन ढुंगा र कृषिजन्य उद्योगका लागि कच्चा पदार्थको यहाँ भण्डारनै रहेको छ । सम्भावना नै सम्भावना बोकेको मकवानपुरका स्थानीय तहहरुले समुन्नत पालिका निर्वाणको लागि के कस्ता कार्यहरु गरिरहेका छन्, के कस्ता नीति तथा कार्यक्रम अवलम्वन गरेका छन् भन्ने विषयमा हामीले जान्ने प्रयास गरिरहेका छौँ । यीनै विषयमा केन्द्रीत भएर तु खबरले मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीसँग गरेको संक्षिप्त कुराकानीको सम्पादित अंश ।
सवालः स्थानीय तहको निर्वाचन २०७९ बाट जनताले तपाईंलाई गाउँपालिकाको अभिभावकको रुपमा चुनेका छन् । जनताको अपेक्षालाई पुरा गर्दै स्थानीय सरकारको प्रत्याभूति दिलाउने गरी काम गर्नुपर्ने ठूलो जिम्मेवारी तपाईंको काँधमा आएको छ । त्यसलाई कसरी पुरा गर्नुहुन्छ ?
जवाफः धन्यवाद, सर्वप्रथम त म २०७९ वैशाख ३० गते यहाँका धेरै जनताले विश्वास गरेर गाउँपालिकाको अभिभावकको रुपमा रहेर सेवा गर्ने जुन मौका दिनुभएको छ त्यसको लागि सबै मनहरीवासीप्रति आभार व्यक्त गर्न चाहान्छु । हामीले चुनावका बेला गरेका प्रतिवद्धता अनुसार नै जनताको बीच जाने, काम गर्ने गरिरहेका छौँ । विगतको नेतृत्वबाट निराश भएका जनतालाई स्थानीय सरकारको अनुभूति दिलाएरै छाड्ने प्रयासमा हामी छौँ । त्यसका लागि हामीले शिक्षा, स्वास्थ्य र कृषिका कार्यक्रमलाई विशेष प्राथमिकताका साथ जनताको बीचमा लैजाने तयारी गरेका छौँ । खस्किएको सामुदायिक विद्यालयलाई व्यवस्थित गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्ने स्थानको रुपमा विकास गर्छौँ ।
जनताका छोराछोरीहरुले विद्यालयको शुल्क तिर्न नसकेर पढ्न सकेका छैनन् । गरिब तथा आर्थिक रुपले विपन्न वर्गका परिवारले अभावकै कारण उपचारको लागि सहयोग माग्दै हिड्नुपर्ने अवस्था छ । कृषि उत्पादनले राम्रो बजार पाउन सकेको छैन । जसले गर्दा यहाँ उत्पादित तरकारीहरु तथा फलफूलहरु खेतमा नै फाल्नुपर्ने बाध्यता छ । हामी यी तीन वटै कुरालाई व्यवस्थित गर्छौँ ।
निर्वाचित भएपश्चात एउटा नीति तथा कार्यक्रम ल्याएर विपन्न परिवारको पहिचान गरेर उहाँहरुलाई पालिकाबाटै निशुल्क स्वास्थ्य विमाको व्यवस्था गरेका छौँ । प्लस टुसम्म हामीले निशुल्क अध्यापनको व्यवस्था गर्दै छौँ । अब विपन्न वर्गका परिवारलाई विरामीहरु हुँदा उपचार गर्न र पैसाको अभावले पढ्न छोड्नुपर्ने बाध्यता हट्ने छ । हामीले नीति तथा कार्यक्रममा यो समावेश गरेका छौँ । धेरै ठूलो सपना बाँड्नु छैन । जनताको सुखदुखमा सँगसँगै हुनेछु ।
सवालः अघिल्लो स्थानीय निर्वाचनमा मकवानपुरको ६ वटा पालिकामा एमालेले नेतृत्व गरेको थियो । कांग्रेस २ वटामा मात्रै सिमित थियो । एमालेले काम गरेन भनेर यहाँहरुले आरोप लगाउँदै आउनुभएको थियो । अब एमालेलाई दोष दिने ठाउँ छैन । कांग्रेसको नेतृत्वले मनहरीमा स्थानीय सरकारको अनुभूति जनतालाई दिलाउन सक्छ ?
जवाफः हजुर अवश्य पनि । हामी नयाँ कुरा भन्दा पनि चुनावमा जनताको बीचमा बोलेका कुराहरु पुरा गर्नेतर्फ तल्लीन छौँ । पालिकामा संयुक्त रुपमा गठबन्धन गरेका थियौँ । चुनावी एजेण्डा पनि संयुक्त नै थियो । वडामा भने सबै दलले मित्रवत् प्रतिस्पर्धा गरेका थियौँ ।
हामीले जनताको समस्या पहिचान गरेर विशेषगरी शिक्षा, स्वास्थ्य, कृषि तथा पूर्वाधारको क्षेत्रमा विकास गर्छौँ भनेर प्रतिवद्धता जनाएका थियौँ । त्यो हामी ५ वर्ष भित्रमा सम्पन्न गर्छौँ । शान्ति सुरक्षाको विषय, कार्यालयमा सुशासन स्थापना गर्ने कुरा, बेरुजु न्यूनिकरण गर्दै लैजाने विषयमा हामी छलफल गरेर एउटा निचोडमा पुग्ने प्रयास गरिरहेका छौँ । महिनाको २ पटक बैठक बसेर यो कार्यालयलाई कसरी बेरुजुमुक्त गराउने र कसरी सुशासनयुक्त बनाउने भन्नेमा छलफल गरिरहेका छौँ । १८ वटा सबैभन्दा बढी बेरुजु पर्ने गाउँपालिकामध्ये हाम्रो पालिका पनि रहेछ । त्यसकारण प्रमुख प्रशासकीय अधिकृत र विषयगत प्रमुहरुसँग बसेर हामीले त्यो छलफलबाट अब आउने दिनहरुमा हाम्रो मनहरी गाउँपालिकामा कसरी बेरुजु कम गर्ने, कार्यालयमा कसरी सुशासन कायम गर्ने भन्नेतर्फ ध्यान दिएका छौँ । अघिल्लो सरकारले गरेका कमिकमजोरी सुर्धार्दै जनताको मन जित्ने छौँ ।
चालु आर्थिक वर्षको बजेट विनियोजन भइसकेको छ । अब जनताको बीचमा लिएर जाँन्छौँ र तोकिएकै समयमा काम सम्पन्न गर्छौँ । बजेट पनि अघिल्लो सरकारले भन्दा प्रभावकारी हुने गरी विनियोजन गरेका छौँ । वडा तहसम्म लगेर काम सम्पन्न गराएर गाउँपालिकालाई समृद्ध गाउँपालिका बनाउने विश्वास दिलाउन चाहान्छु ।
सवालः पदभार सम्हालेको केही महिना बितिसकेको छ । यहाँसम्म आइपुग्दा विशेषगरी के के काम भए वा कुन कुन काम सुरुवात भए ?
जवाफः हामीले सबैभन्दा पहिला चालु आवको लागि नीति तथा कार्यक्रम र बजेट ल्यायौँ । बजेट कार्यान्वयन गर्ने शिलशिलामा भर्खरै कार्यपालिकाबाट जिल्ला दररेटस्वीकृत गरेका छौँ । अब विकासका कामहरु अघि बढ्ने छन् । त्यो भन्दा पनि एउटा महत्वपूर्ण कामचाँही के हो भने मनहरी गाउँपालिकाको आफ्नो भवन थिएन । पालिकाको कार्यालय भाडामा बस्दै आएको छ । तर, मनहरी गाउँपालिकाले ५ वटा अर्को घर भाडामा लिएर महिनाको डेढ लाख भन्दा बढी रकम घरभाडामा खर्च गर्दै आएको रहेछ । हामीहरु आउनुभन्दा अगाडि नै लामिटारमा भाडाका भवनहरु खालि बसिरहेका थिए । यहाँका पूर्व जनप्रतिनिधिहरुले आफ्नो पार्टीको कार्यकर्ताको घरलाई आम्दानी हुने गरी अनावश्यक रुपमा घर भाडामा लिएको अवस्गा रहेछ । यहाँ कांग्रेसका कार्यकर्ताहरुको पनि घरहरु छन् । तर, हामी त्यसो गर्दैनौँ । यो गाउँपालिकाको पैसा राज्यको पैसा हो । जथाभावी खर्च गर्न हुँदैन भनेर हामीले लिएको पाँच वटा भवनको कार्यालयलाई लामिटारको भवनमा सारिदियौँ ।
हिजो म एउटा पार्टीबाट जितेको भएपनि निर्वाचित भएपश्चात साझा म मनहरी गाउँपालिकाको अध्यक्ष हुँ भन्ने भावनालाई जागृत गराएको छु । त्यसकारण कुनैपनि कुरामा मेरो पार्टी छ वा छैन भन्ने होइन । विकास गर्दा समानुपातिक रुपमा काम गर्नुपर्छ भन्ने हिसाबले गर्दै आएको छु । मनहरी साविक ३ नम्वर वडामा पीच गर्ने भनेर २ करोड रुपैयाँको ठेक्का निकाल्दै गर्दा ३ नम्वर वडाबाट पनि सुरु गर्ने र १ नम्वरमा पनि । त्यो सडक ३ र १ नम्वर वडा जोड्ने भएकालेले ३ र १ नम्वरबाट सुरु गरेको छु । जसले गर्दा त्यहाँका वासिन्दाहरु सहजै यात्रा गर्न सक्ने हुँदै छन् । समानुपातिक विकास प्रणाली अगाडि बढाउन ठेक्का निकालेका छौँ । अब मनहरी गाउँपालिकाले बजेट विनियोजन गर्दा जहाँ विपन्न, जहाँ गरिब,जहाँ समस्या त्यो ठाउँलाई प्राथमिकता दिनेछ । त्यहाँका जनताको उद्दार गर्ने योजना छ ।
सवालः यहाँसम्म आइपुग्दा अन्य राजनीतिक दल, नागरिक समाज र संघसंस्थाहरुको सहयोग/समन्वय कस्तो छ ?
जवाफः गाउँवासीको शान्ति, सुरक्षाको लागि सुरक्षा निकायसँग नियमित सम्पर्क समन्वयमा छौँ । विभिन्न संघसंस्थाहरुबाट पनि सहयोग गर्ने प्रतिवद्धता प्राप्त भइनैरहेको छ । म पहिलो पटक आएको छु । धेरै संघसंस्थाहरुले योजनाहरु ल्याएका छन् । कति ठाउँमा उहाँहरुले गाउँपालिकाबाट सहयोग माग्नुभएको छ । कतिपय ठाउँमा उहाँहरुले आफ्नो खर्च गर्नुभएको छ । इन्सेक नामक संस्थाले विभिन्न कार्यक्रमहरु, सार्वजनिक सुनुवाई गर्दै आएको छ । ८ गते ३ नम्वर वडामा, १० गते १ नम्वरमा र १२ गते ४ नम्वर वडामा कार्यक्रम भएको थियो । त्यसले जनप्रतिनिधिहरुलाई जनताप्रति बढी उत्तरदायी बनाउने रहेछ ।
जनताको सवाललाई हामीहरु जनप्रतिनिधिले कसरी सम्बोधन गर्ने भन्ने हुने रहेछ । त्यो धेरै प्रभावकारी रह्यो । हामीले जनताको बीचमा बोलेका कुराहरु ४ महिनापछि फेरी इन्सेकले त्यही ठाउँमा कार्यक्रम गर्दा कत्तिको काम भयो त ? उहाँहरुले फेरी कार्यक्रम गर्नुहुनेछ । त्यसकारण हामीले गर्छौँ भनेका कामहरु नगरी सुखै छैन । संघ संस्थाहरुले पनि जनताप्रति थप उत्तरदायी बनाइदिएको छ । राजनीतिक दलहरुको पनि अहिलेसम्म सहयोग समन्वय छ ।
सवालः यहाँले निर्वाचनको समयमा आफ्नो प्रतिवद्धतापत्रमा थुप्रै योजनाहरु समेट्नुभएको थियो । हामीले अध्ययन पनि गरेका थियौँ । त्यसलाई क्रमबद्ध रुपमा कसरी कार्यान्वयनमा लैजाने सोच बनाउनुभएको छ ?
जवाफः हामीले चुनावमा जनताको बीचमा बोलेका कुराहरु शिक्षा, स्वास्थ्य र कृषिलाई नै बढी प्राथमिकतामा राखेका छौँ । शिक्षालाई अलिकति विपन्न वर्गले पढ्ने भनेर प्लस टुसम्म विपन्न पहिचान भएकालाई हामी निशुल्क पढाउँछौँ ।
अहिले पनि बस्तीपुरको निर्मल उच्च माविसँग एग्रिमेन्ट गरेका छौँ । स्वास्थ्यमा पनि प्राथमिकताका साथ बजेठ विनियोजन भएको छ । विपन्न परिवारलाई पालिकाले स्वास्थ्य वीमा गरिदिएको छ ।
वीमावापत् १ लाख रुपैयाँसम्मको उपचार उहाँहरुले पाउनुहुन्छ । त्यस्तै कृषिलाई आधुनिकिकरण गर्दै लगेका छौँ । बजार मुल्य नपाउँदा उत्पादित तरकारी तथा फलफूल खेतमा फाल्नुपर्ने अवस्थालाई मध्येनजर गर्दै ३ नम्वर वडामा अहिले १ करोड लगानी कोल्ड स्टोर्स स्थापना गर्न विनियोजन गरेका छौँ । त्यो कार्यान्वयनको शिलशिलामा छ । त्यहाँ किसानहरुले उत्पादित तरकारी राख्छन् र बजार भाउ आएपछि बेच्छन् । त्यसबाट किसानको आय आर्जनमा बृद्धि हुन्छ भन्ने विश्वास लिएका छौँ । यो कामबाट किसानहरु खुसी पनि भएका छन् ।
सवालः चालु आवको लागि संघ र प्रदेश सरकारले ल्याएको बजेटमा मनहरी लक्षित कार्यक्रमहरु कति समावेश भएका छन् । त्यसमा सन्तुष्ट हुने अवस्था छ कि छैन ?
जवाफः मान्छेको जात नै असन्तुष्ट हो । पुग्छ भन्ने त कहिल्यै हुँदैन । फेरी जति आएको छ, त्यसमा चित्त बुझाउनुपर्ने बाध्यता पनि छ । अलिकति मिहेनत गरेर बढी ल्याउन जोड हामीले गरेका थियौँ । प्रदेश र संघबाट सशर्त तथा समानिकरण बजेटहरु जति आयो त्यसमा सन्तुष्ट हुँदै अब त्यो बजेट अनुसारको काम भने समयमा नै सम्पन्न गर्ने सोचमा हामी छौँ । मनहरी गाउँपालिकाको चालु आवको बजेट ९५ करोडको हो ।
सवालः गाउँपालिकाको आन्तरिक आम्दानी बढाउन के कस्ता कार्यक्रम गर्ने सोच बनाउनुभएको छ ?
जवाफः हामीले कार्यपालिका बैठकमा पनि यो विषयमा छलफल गरिरहेका छौँ । यहाँको आम्दानीको स्रोत भनेको ढुंगा गिटि बालुवा नै हो । यसमा कानूनी प्रक्रिया पुरा गर्नुपर्ने हुन्छ । यो निकुञ्ज क्षेत्रभित्र पर्ने भएकाले पनि त्यो क्षेत्रमा ढुंगा, गिटि बालुवा उत्खनन् गर्दा त्यसको कानूनी प्रक्रिया अलि जटिल छ । तर, त्यसलाई पनि सहज बनाएर स्वीकृत गराएर त्यो उत्खनन् गर्ने बेलामा पनि तपाईंहरु जस्तै पत्रकारहरु बोलाएर फोटो खिचेर मनहरी गाउँपालिकाले दोहन गर्यो । खोला भ्यायो भन्ने आरोप आउँछ । यसले काम गर्ने जाँगर हटेर जान्छ । मनहरी गाउँपालिकाको आयस्रोत बढ्दै गर्दा यहाँकै मानिसहरुलाई राम्रो हुने हो । तर, उत्खनन् गर्दा कति मान्छेहरुलाई चित्त दुख्छ । उहाँहरुले अनुगमन गर्नुपर्यो, हामीले अनियमितता गरेका छौँ भने बरु नियमभन्दा बाहिर गएका छौँ भने खबरदारी गर्नुपर्यो । तर, अनावश्यक विरोध गर्ने कुरा नै नबुझी सामाजिक सञ्जालमा पोष्ट गर्ने, गलत व्याख्या गर्ने कार्य भने नगर्न म सुझाव दिन चाहान्छु ।
पालिकाको आन्तरिक आयस्रोत बढाउने सन्दर्भमा २ पटक काठमाडौँ गइसकेका छौँ । अब आइइ स्वीकृत गर्नको लागि विभागबाट मध्येवर्ती क्षेत्रभित्रको आरक्ष विभागले सहमति दिने कुरामा प्रतिवद्धता जनाएको छ । त्यो सहमति आएपछि हामी टेन्डर लगाएर यहाँको बगर उत्खनन् गराएर पालिकाको आयस्रोत बढाउँछौँ । अन्य कुराहरु पनि छन् , यहाँका घरजग्गाका सिफारिस गरेका, मालपोत तिरेका कुराहरु र अन्य करहरु पनि संकलन भइरहेको छ ।
सवालः बर्षभरी काम नगर्ने अनि असारे विकासलाई जोड दिने आरोप तीनै तहका सरकारमाथि छ । त्यसलाई चिरेर, पूर्वाधार विकासको काम दीगो पनि हुने गरी गर्न सकिँदैन ?
जवाफः अवश्य पनि सकिन्छ । म बैशाख अन्तिममा निर्वाचित भएँ । तर, जेठ र असारमा यहाँ कामको प्रेसर देख्दा, भुक्तानी लिन आउनेको भीड देख्दा । त्यत्रो १० महिना उहाँहरु चुपो लागेर बस्ने र २ महिना कामको गति बढाउने प्रवृत्तिको म सँधै विरोधी हुँ । त्यसबेलाको नेतृत्वको कमजोरी हो त्यो । अन्य प्रदेश र संघको कुरा म जान्दिन । तर, मनहरीमा हिजोको घटनाको पाठ सिकेर अहिलेबाट नै दररेट कायम गरेका छौँ । वडा अध्यक्षहरुलाई पनि निर्देशन दिइसकेको छु ।
प्रत्येक वडामा समितिको आफ्नै बजेट अनुसार बजेट कति विनियोजन भएको छ , कुन–कुन ठाउँमा बजेट लागू गर्नुभएको छ, त्यो ठाउँमा गएर उपभोक्ता समिति गठन गर्ने सम्झौता गर्ने र बजेट अनुसार काम सन्पन्न गराउनुस् भनेको छु । जुन वडाले समयमा नै काम सम्पन्न गर्छ, त्यो वडालाई अर्को पटक १० लाख बढी सिलिङ् बजेट पठाउँछु, जुन वडाले त्यो बजेटअनुसार काम सम्पन्न गर्न सक्दैन । त्यो वडालाई सिलिङ बजेटबाट २० लाख घटाउँछु भनेर वडाअध्यक्षहरुलाई निर्देशन दिइसकेको छु ।
गाउँपालिकाबाट ५० लाखभन्दा बढीका जुन जुन ठेक्काहरु निस्किएका छन्, त्यसलाई एउटा कमिटी गठन गरेर त्यो ठेक्कालाई अनुगमन गर्ने गरी, कति काम भयो, किन भएन ,भनेर हेर्न कमिटी बनाएको छु । त्यो कमिटीले बेलाबेलामा ठेकेदारलाई गाउँपालिकामा बोलाउने र कामको प्रगति विवरण लिने, नभएको भए किन नभएको किन सुरु नगरिएको भनेर ठेकेदारलाई अल्टिमेटम दिनको लागि समिति गठन गरेको छु । त्यसले अब आउने दिनमा पक्कैपनि समयमा नै धेरै कामहरु सम्पन्न हुनेछ । अन्तिममा गएर छिटो छिटो काम गर्दा कामको गुणस्तर पनि बिग्रीने र भुक्तानी दिन पनि अलिकति जटिल हुने अवस्था भएकाले त्यसलाई मध्येनजर गरेका छौँ ।
सवालः युवाहरु रोजगारीको लागि विदेश पलायन हुने क्रम बढ्दो छ । स्थानीय युवाहरुलाई स्वदेशमै वा पालिकाभित्रै रोजगारीको अवसर दिन सकिँदैन ?
जवाफः धन्यवाद, हामी धेरै सपना त बाँड्दैनौँ । बाहिर गएकालाई यहाँ ल्याएर रोजगारी दिन्छौँ भन्दा पनि सुरुवातमा बाहिर जान लागेकालाई कसरी रोक्ने भन्नेमा हामी लाग्छौँ । युवाहरु महिनाको २०/३० हजार कमाउनको लागि गल्फ कन्ट्रीमा जानुपर्ने बाध्यता छ । उहाँहरुे बालबच्चा पढाउन ,घर चलाउन विदेश जाने कुरा गरिरहनुभएको छ । हामीले यहाँ मुखले मात्रै रोजगारी दिन्छौँ भनेर पनि हुँदैन । व्यवहारमा परिणत गर्नुपर्दछ ।
साविक हाँडीखोला गाविस यो १,२,३ ,४ र ५ मा रोजगारी के मा लगाउन सकिन्छ भन्दा हाम्रो कृषिलाई राम्रोसँग व्यवस्थपन गर्न सक्यौँ र कृषि उत्पादन बढाउन सक्यौँ र कृषि उत्पादनलाई बजार भाउ बढी आउने वातावरण बनाउन सक्यौँ भने यहाँ जग्गा जमिन भएका मान्छेहरु विदेशीनबाट रोकिने छन् । हामी त्यसतर्फ लागिरहेका छौँ ।
महिनाको तरकारी खेती गरेर ४०/५० हजार कमाउन सक्ने वातावरण बनाउन सकियो भने किन जानुपर्यो विदेश ? किसानले तरकारी उत्पादन गर्छन् । तर, उत्पादन लागत पनि पाउँदैनन् । लगानी पनि नउठेपछि निराश भएर साउदी अबर जाउँ बरु भन्ने भइरहेको छ । हामी कृषि क्षेत्रमा जीवनयापन गर्न सक्ने आधार सुनिश्चित गर्न प्रयास गरिरहेका छौँ । यता साविक मनहरी गाविसका धेरै मानिसहरु ढुंगा, गिटि, बालुवामा आश्रित छन् । तर, काम गर्न कानूनले छेकिरहेको छ । हामीले कानूनसम्वत् उनीहरुलाई रोजगारी दिलाउन सक्यौँ भने प्रत्येक्ष अप्रत्येक्ष २ हजारभन्दा बढी रोजगार हुनेछन् । आइइ स्वीकृत गराएर बगर उत्खनन्मा उनीहरुलाई लगाउन सकिन्छ ।
हामीले यो कार्य सुरुवात गरेका छौँ । र यस्तै अन्य रमौली प्रतापपुरलाई पर्यटकीय स्थलको रुपमा व्यवस्थित गर्दै छौँ । त्यहाँ पनि रोजगारी सृजना गर्न सकिन्छ । पहिला स्वदेशमा भएकालाई विदेश जान रोक्ने प्रयास गर्छौँ र विदेशमा भएकाहरु पनि विस्तारै स्वदेशमा आउनेछन् ।
सवालः मनहरी जनजाति, चेपाङ, वनकरिया, बोटेलगायत सिमान्तकृत समूदायको बसोबास रहेको स्थान हो । यो समूदाय लक्षित कार्यक्रम चाँही के– के छन् ?
जवाफः मनहरीमा धेरै जातजाति तथा समूदाय बसोबास गर्दछन् । यीनीहरुको लागि लक्षित कार्यक्रम हामीले ल्याएका छौँ । उहाँहरुलाई सिपमुलक कार्यक्रमहरु संचालन गर्ने गरी नीति तथा कार्यक्रममा नै हामीले समावेश गरका छौँ । त्यतिकै जागिर खान पाइँदैन । त्यसै पैसा कमाइँदैन । त्यसकारण हातमा सिप हुने वातावरण हामी बनाउने छौँ । त्यसो भयो भने उहाँले पालिका भित्रै नभए अन्य स्थानमा गएर पनि आयआर्जन गर्न सक्नुहुन्छ ।
सवाल: अन्त्यमा मनहरीवासीलाई के भन्न चाहानुहुन्छ ?
जवाफः तपाईले प्राय सबै भन्न मन लागेका कुराहरु सोधिसक्नु भएको छ । यीनै कुराहरु हुन् । एकपटक फेरी मलाई विश्वास गरेर गाउँपालिकाको अभिभावकको रुपमा यहाँहरुले जिम्मेवारी दिनुभएको छ । त्यसलाई जिम्मेवार र इमान्दार भएर पुरा गर्ने विश्वास दिलाउन चाहान्छु । म मनहरीवासीलाई ५ वर्ष शासक होइन सेवक बनेर सेवा गर्नेछु । तपाईंहरुको आशालाई निराशामा परिणत गर्न दिने छैन । म त्यसको लागि दिनरात नभनी काम गरिरहेको छु । आफ्नो काम छोडेर जनताको सेवामा लागेको छु । पक्कै पनि तपाईंहरुले ५ वर्षमा केही न केही परिवर्तनको अनूभूति पाउनुहुन्छ ।
मेरा कुराहरु जनतासम्म पुर्याउन यहाँले जुन अवसर दिनुभयो त्यसको लागि तपार्इंको मिडियाप्रति पनि आभार व्यक्त गर्दछु । धन्यवाद ।