नेपाली कांग्रेस : मकवानपुर–१ बाट चुनाव लड्न चार जनाको नाम सिफारिस

तु खबर संवाददाता
२०७९ भाद्र १८,शनिबार १०:५९

मकवानपुर । आगामी मंसिर ४ गते हुने निर्वाचनमा मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्वर–१ बाट चुनाव लड्न नेपाली कांंग्रेसले ४ जनाको नाम सिफारिस गरेको छ ।

शुक्रबार बसेको कांग्रेस मकवानपुर–१ को क्षेत्रिय समितिको बैठकले सो क्षेत्रबाट कांग्रेस मकवानपुरका चार नेताको नाम प्रत्यक्षतर्फ उम्मेदवारको रुपमा सिफारिस गरेको हो ।

बैठकको निर्णयअनुसा रनेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’ को नाम पहिलो नम्वरमा सिफारिस गरेको छ भने नेपाली कांग्रेस बागमती प्रदेशसभा सभापति इन्द्रबहादुर बानियाँ दोस्रो, पूर्वजिल्ला सभापति रामचन्द्र अर्याल ‘माइकल’ र महासमिति सदस्य जयराम लामिछानेको नाम क्रमशः तेस्रो र चौथो नम्वरमा सिफारिस गरेको हो ।

बैठकले मकवनापुर–१ बाट प्रतिनिधिसभाको समानुपातिकतर्फ नेता विष्णु लामिछाने, कांग्रेस मकवानपुरका पूर्व सभापति रघुरमण न्यौपाने, नेता गोपीलाल विक, नेतृ पवित्रा विक, नेता सुवातसिं थिङ, नेतृ गीता राई, नेतृ सञ्जिता सिग्देल, नेता सुदिप वर्तौला, नेता राजकुमार जीएम र नेता नारायण लम्सालाको नाम जिल्ला समितिलाई सिफारिस गरेको छ ।