संघीय सरकारविरुद्ध मुद्दा हाल्ने बागमतीका मुख्यमन्त्री पाण्डेको चेतावनी

तु खबर संवाददाता
२०७९ भाद्र २०,सोमबार १६:०३
file-photo

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले  संघीय संसद् राष्ट्रियसभाबाट हालै पारित काठमाडौं उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक २०७६, नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन सुपरिवेक्षण र समन्वय ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक संघीयता र संविधान विरोधी रहेको जिकिर गर्दै मुद्दा हाल्ने चेतावनी दिएका छन् ।

राष्ट्रियसभा अन्तरगतको संघीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले सोमबार हेटौंडामा आयोजना गरेको ‘संघीय शासन प्रणाली सबलीकरण’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले सो कुरा बताएका हुन् ।

राष्ट्रियसभा आफैँले संविधानको विरुद्धमा गएर, संघीयताको विरुद्धमा गएर ती दुई वटा विधेयकहरू पारित गरेको मुख्यमन्त्री पाण्डेको गम्भीर आरोप रहेको थियो ।

विधेयकमा काठमाडौं, ललितपुर र भक्तपुरको सुरक्षा र यातायातको जिम्मा संघीय सरकारलाई दिने उल्लेख गरिएको छ । सो कुरा संघीयता र संविधानविरुद्ध भएकाले आफ्नो आपत्ति रहेको मुख्यमन्त्री पाण्डेको दाबी थियो ।

उनले संघीयता विरोधी सो विधेयक पारित गर्ने राष्ट्रियसभालाई संघीयता कार्यान्वयनको बारेमा छलफल गर्दै हिँड्ने अधिकार नभएको जिकिर गरे ।

साथै उनले प्रदेश सरकारलाई तत्काल हस्तान्तरण गर्नुपर्ने २९ वटा अधिकार अझै हस्तान्तरण नगरेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि गुनासो गरे । अन्तर प्रदेश समन्वय परिषद्ले निर्णय गरेर हस्तान्तरण गर्ने भनिएको २९ वटा अधिकार आफूले पटक-पटक आग्रह गर्दा पनि प्रधानमन्त्रीले त्यसलाई कार्यान्वयन नगरेको बताएका हुन् ।