आसन्न निर्वाचनको परिणामले ओलीको प्रवृत्तिलाई प्रस्ट देखाउने छ : मुख्यमन्त्री पाण्डे

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले नेकपा एमाले अध्यक्ष केपी ओलीले पार्टीमा राजावादी शैलि अपनाएपछि आफुहरु समाजवादी अभियानमा सामेल भएको बताएका छन् ।
मुख्यमन्त्री पाण्डेले मंगलबार एकीकृत समाजवादीको भ्रातृ संगठन युवा संघ नेपालको महाकाली–मेची युवा जागरण अभियानलाई हेटौंडामा स्वागत गर्दै सो बुरा बताएका हुन् । एकीकृत समाजवादीका केन्द्रीय उपाध्यक्ष समेत रहेका उनले ओलीको कारण एमालेमा विभाजन भएको आरोप लगाए ।
उनले संविधानविरोधी गतिविधि, प्रतिगमन र संसद् विघटनजस्ता जनताको हितविपरीत कदम चालेर ओली नयाँ राजतन्त्रको स्वरूपमा देखिएका बताए । ‘नेकपा एकीकृत समाजवादी ओलीको गलत प्रवृत्ति र ओली फालिसकिएको राजतन्त्र बनेपछि जन्मिएको पार्टी हो,’ उनले भने, ‘त्यसकारण यो पार्टीले देशमा नयाँ समाजवाद जन्माउनेछ।’
उनले ओलीको क्रियाकलाप राजतन्त्र शैलीको हुँदा आगामी निर्वाचनमा जनता एमालेको पक्षमा नहुने बताउँदै निर्वाचनको परिणामले ओलीको प्रवृत्तिलाई प्रस्ट देखाउने बताए ।
मुख्यमन्त्री पाण्डेले बागमती प्रदेश सरकारले शिक्षा र स्वास्थ्यको विकासलाई जोड दिँदै २५ वडामा कार्यक्रम अघि बढाइएको जानकारी दिए । उनले वडा तहबाटै शिक्षा, स्वास्थ्यको विकासमा टेवा पुर्याउने लक्ष्य लिइएको बताए ।
अभियानलाई एकीकृत समाजवादी बागमती प्रदेशसभा सचेतक मुनु सिग्देल र हेटौंडा उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामाले स्वागत गरेका थिए।