कर्मचारी देश र जनताप्रति उत्तरदायी हुनुपर्ने : मुख्यमन्त्री पाण्डे
![](https://www.tukhabar.com/wp-content/uploads/2022/09/mukhyamantri-scaled.jpg)
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले राजनीतिज्ञ र कर्मचारीले सँधै देश र जनताप्रति उत्तरदायी भएर सेवा प्रवाह गर्नुपर्ने बताएका छन् । बुधबार १९ औँ निजामती सेवा दिवसको अवसर पारी हेटौंडामा आयोजित समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले कर्मचारीहरुलाई सक्रिय ढंगबाट जनताको कामकाज गर्न निर्देशन दिए ।
उनले सो अवसरमा संघ, प्रदेश र स्थानीय तहमा कार्यरत सबै राष्ट्रसेवक निजामती कर्मचारीलाई अझ बढी समर्पण भावका साथ देश र जनताको सेवामा काम गर्ने उत्प्रेरणा मिलोस् भन्दै शुभकामनासमेत दिए ।
‘हामी राजनीतिज्ञले जनताको मतबाट यो मान सम्मान प्रतिष्ठा र जिम्मेवारी पाएको कुरा कहिल्यै भुल्नु हुँदैन । त्यस्तै राष्ट्रसेवक कर्मचारीहरुले पनि गाउँपाखामा गरिब किसान मजदुरले तिरेको एक–एक रुपैयाँ करबाट हामी पालिएका छौँ भन्ने कुरा भुल्नु हुँदैन ।’ उनले भने, जनताप्रति उत्तरदायी भएर काम गर्न सके जनताले सरकारको अनुभूति गर्न सक्छन् । कर्मचारीमाथि भरोषा बढ्दै जान्छ ।
मुलुकमा विभिन्न व्यवस्था परिवर्तनको चरणमा जनप्रतिनिधिको अभावमा पनि कर्मचारीहरुले प्रशासनिक सेवा, पूर्वाधार विकासदेखि जनताको आधारभूत आवश्यकता पुरा गर्ने, सिफारिसका कामहरुलगायत सम्हालेको बताउँदै अब कर्मचारीले दिने सेवामा परिस्कृत गर्दै आम जनताको विश्वास जित्नुपर्ने उनले बताए ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका मुख्य सचिव मुकुन्द नरौलाको सभाध्यक्षतामा भएको सो कार्यक्रममा निजामती सेवा दिवसको अवसरमा आयोजित विभिन्न मैत्रीपूर्ण खेलकुद प्रतियोगितामा विजयी हुने कर्मचारीहरुलाई पुरस्कृतसमेत गरिएको थियो ।