पिछडिएको समुदायलाई राज्यको मूल प्रवाहीकरणमा आउने उर्जा प्राप्त होस् : राज्यमन्त्री प्रजा

मकवानपुर । बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजा (चेपाङ) ले प्रकृति पूजक मानिने सिमान्तकृत आदिवासी चेपाङ समुदायको विशेष पर्व न्वागी (छोनाम पर्व) को अवसरमा शुभकामना व्यक्त गरेका छन् । राज्यमन्त्री प्रजाले बुधबार एक विज्ञप्ति जारी गर्दै शुभकामना व्यक्त गरेका हुन् ।
जारी शुभकामना सन्देशमा राज्यमन्त्री प्रजाले पिछडिएको समुदायको सशक्तीकरणको अपेक्षा गरिएको बताएका छन् । उनले भनेका छन्–‘छोनाम पर्वले सम्पूर्ण जातजातिबीचको भाइचारा र सद्भावका साथै पिछडिएको समुदायलाई राज्यको मूल प्रवाहीकरणमा आउने उर्जा प्राप्त होस् भनी शुभकामना व्यक्त गर्दछु ।’
नेपाल बहुजाति, बहुभाषी र बहुसांस्कृतिक मुलुक भएको उल्लेख गर्दै राज्यमन्त्री प्रजाले थरीथरीका जातहरुमध्ये अति सिमान्तकृत जनजातिको सूचीमा रहेको चेपाङ जाति एउटा पृथक पहिचान र संस्कृति बोकेको जाति भएको प्रष्ट्याएका छन् ।
हरेक वर्षको भदौ तेस्रो साता सोमबार वा शुक्रबारको दिन प्रकृतिको पूजा गर्दै नयाँ फलेका दैनिक उपभोगमा आउने तरकारीदेखि गिट्ठा भ्याकुरहरु आफ्ना इष्ट देउतालाई चढाएर चेपाङ समुदायले न्वागी पर्व मनाउने गर्दछन् । यस दिन चेपाङ समुदायका प्र्रत्येक घरमा रातभर एकपाखे ढ्याङ्ग्रो ठोक्ने र देवीदेवता मनाउने चलन छ ।
मकवानपुरका चेपाङले भने न्वागी विशेष कार्यक्रम सोमबार राति नै गरेका छन् । राज्यमन्त्री प्रजा, राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लसहित कर्मचारीहरुको विशेष उपस्थितिमा सोमबार राति राक्सिराङ ७ स्थित दामराङमा न्वागी कार्यक्रमको आयोजना गरिएको थियो ।
नयाँ फलेका अन्न तथा फलफूल तरकारी न्वागीकै दिन चेपाङका पण्डित पाण्डेमार्फत देवी देवतालाई चढाएपछि मात्र उनीहरुले खान सुरु गर्ने गर्दछन् । वर्षायाममा फल्ने काँक्रो, करेला, गाभा, निबुवा, कागतीलगायतका तरकारी तथा फलफूल चेपाङ समुदायले न्वागीमा देवतालाई चढाएपछि मात्र खान सुरु गर्छन् ।
साथै उनीहरुले गिट्ठा, भ्याकुरका लहरा तथा फूल, कुरिलो, उखु, विभिन्न जडिबुटीका बोटहरु पनि खोजेर देउतालाई चढाउने गर्दछन् । हरेक वर्ष भदौ २२ गतेका दिन न्वागी ९छोनाम० पर्व मनाउने चलन रहेता पनि सोमबार वा शुक्रबार पारी न्वागी फलाक्ने चलन भएकाले बार मिलाउँदा केहीदिन अघिपछि हुने गरेको छ ।