पहिरोका कारण अवरुद्ध सिस्नेरी सडकखण्डमा यातायात संचालन

मकवानपुर । वर्षाका कारण आएको पहिरोले गर्दा अवरुद्ध बनेको मकवानपुरका सिस्नेरी सडकखण्डमा यातायात संचालनमा आएको छ । जिल्लाको इन्द्रसरोवर गाउँपालिका वडा नम्वर ३ तिरतिरेधारास्थित बुधबार बिहान वर्षासँगै आएको पहिरोका कारण अवरुद्ध भएको उक्त सडकखण्डमा आज बिहानैदेखि यातायात संचालनमा आएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ ।
उक्त पहिरो स्थानीय सरकारको समन्वयमा सडक विभागका प्राविधिकहरुले हटाएर यातायात संचालनमा ल्याएको इलाका प्रहरी कार्यालय भीमफेदीमा प्रहरी निरीक्षक प्रतिमा कार्कीले जानकारी दिइन् ।
उनका अनुसार, हिजो अपराह्नसम्ममा पहिरो हटाई यातायात संचालन ल्याउने भनिएपनि अन्य स्थानमा गएको पहिरो हटाएर आज बिहानबाट मात्रै यातायात संचालनमा ल्याउन सफल भएको हो ।
पहिरोका कारण हेटौंडा–भीमफेदी हुँदै काठमाडौं जाने छोटो दुरीको मार्ग भएर संचालन हुने साना सवारीसाधन बैकल्पिक सडक प्रयोग गरेर संचालन भएको थियो । बर्खायाम लागेसँगै विभिन्न स्थानहरुमा पहिरोका कारण यातायात अवरुद्ध हुने गरेको छ ।