अनलाइनबाट ठगी गर्ने युवक मकवानपुर प्रहरीको फन्दामा

तु खबर संवाददाता
२०७९ भाद्र २३,बिहीबार १९:२८

मकवानपुर । मकवानपुर प्रहरीले फेक आइडीबाट ठगी गर्ने एक जनालाई हेटौंडाबाट पक्राउ गरेको छ । प्रहरीले विशेष सूचनाको आधारमा अनलाइनबाट नगद ठगी गर्ने एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बारा घर भई हाल काठमाडौं बानेश्वरस्थित डेरा गरी बस्ने १८ वर्षीय सिद्धान्त जैसवाल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, जैसवालले कमल दाहाल नाम फेक फेसबुक आइडीबाट दीर्घबहादुर लामासँग ८ हजार रुपैयाँ लिएको उजुरी जिल्ला प्रहरीमा परेको थियो ।

प्रहरीले निरन्तर विद्युतीय टेक्नोलोजीको प्रयोग गरी उनलाई बुधबार हेटौंडा उपमहानगरपालिका वडा नम्वर १०, बसपार्कस्थित सडकमा घुमफिर गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।

पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जनाइएको छ ।