नारायणी कलेजले पढ्दै कमाउन चाहाने विद्यार्थीलाई बिउ पूँजी उपलब्ध गराउने

तु खबर संवाददाता
२०७९ भाद्र २८,मंगलवार ०८:३९

मकवानपुर । एक वर्ष अघिदेखि नयाँ व्यवस्थापनमा सुरु गरिएको हेटौंडा–१० स्थित तुलसी मेहर मेमोरियल स्कुल र नारायणी कलेजले पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

कलेजले स्नातक तहका विद्यार्थीहरुका लागि पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिएको छ । कलेजका प्रबन्ध निर्देशक दिपक काफ्लेले स्नातकमा अध्ययनरत् विद्यार्थीहरुलाई पढ्दै कमाउँदै कार्यक्रममा सहभागी गराउने गरी अगाडि बढ्ने जानकारी दिए । उनले उचित व्यवसायको योजना ल्याउने विद्यार्थीलाई बिउ पूँजीका रुपमा १० लाख रुपैयाँसम्म सहयोग गर्न सकिने बताए । १० लाख बिउ पूँजी दिने नारायणी कलेज देशभरकै एकमात्र कलेज भएको दाबी गरिएको छ । पढेर कमाउँछु भन्ने विद्यार्थीलाई कलेजले प्राथमिकतामा राखेर सहयोग गर्ने जनाइएको छ ।

सरकारले २०७८ मै विद्यार्थीहरुलाई लक्षित गरेर ‘पढ्दै कमाउँदै कार्यक्रम’ ल्याएको हो । तर, उक्त कार्यक्रम देशका थोरै विद्यालय, कलेजहरुमा मात्रै कार्यान्वयन भइरहेको छ । पढ्दै कमाउँदै कार्यक्रम प्राविधिक विधामा अध्ययन गर्ने कक्षा १२ सम्मका विद्यार्थीलाई लक्षित गरेर सरकारले कार्यान्वयन गर्ने बजेट भाषणबाट घोषणा गरेको थियो । तर, उक्त योजना भन्दा नारायणी कलेजको योजना अलि भिन्न छ ।

नारायणी कलेजले ११ र १२ कक्षामा अध्ययनरत् विद्यार्थीलाई ‘एक विद्यार्थी, एक सीप’ कार्यक्रम ल्याएको छ । ११, १२ कक्षमा सीप सिकाएपछि मात्रै उच्च शिक्षा पढ्ने विद्यार्थीलाई पढ्दै कमाउँदै कार्यक्रममा सहभागी गराइने कलेजका प्रमुख किसन बास्तोलाले बताए ।

‘विद्यार्थीलाई हामी नै सीप सिकाउँछौं । स्नातकमा पुगेपछि उसले व्यवसाय गर्ने उचित योजना ल्याएर बिउ पूँजीका रुपमा १० लाख रुपैयाँसम्म सहयोग गर्छौ,’ बास्तोलाले भने । नारायणी कलेजले ११ र १२ कक्षमा अध्ययरत् विद्यार्थीका लागि सीप विकासतर्फ फोटोग्राफी तथा भिडियोग्राफी कार्यक्रम, लेखा सम्बन्धि तालिम, शेयर मार्केट सम्बन्धि तालिम, ‘प्रोग्रामिङ डेप्लोप’लगायतका विषयमा सिकाउँदै आइरहेको कलेजका शैक्षणिक निर्देशक मनोजकुमार यादवले बताए । कलेजले विगत एक महिनादेखि ‘एक विद्यार्थी, एक सीप’ कार्यक्रम कार्यान्वयन गरिरहेको उनको भनाई छ ।

यसैगरी विद्यार्थीले अब आफ्नै रोजाईमा सीप विकास तालिम लिन पाउने भएका छन् । नारायणी कलेजकै तुलसी मेहर मेमोरियल स्कुलको ४ देखि १० कक्षासम्म अध्ययनरत् विद्यार्थीले अब दुई वटा कक्षा आफ्नो रोजाईमा पढ्न पाउने भएका छन् । जसका लागि विद्यालय व्यवस्थापनले अब ६ वटा मात्रै कक्षामा सैद्धान्तिक विषय पठनपाठन गराउने भएको छ । हाल ८ वटा कक्षाबाट पठनपाठन भइरहेपनि विजया दशमीपछि ६ वटा कक्षाबाट मात्रै पठनपाठन हुने यादवले जानकारी दिए । ६ वटा कक्षामा विज्ञापन, गणित, अंग्रेजी, नेपाली, सामाजिक विषयलाई प्राथमिकतामा साथ अध्यापन हुनेछ । ८ मध्ये बाँकी २ वटा कक्षामा भने विद्यार्थीले आफ्नो रोजाईको सीप विकास तालिमको कक्षा लिन पाउने भएका छन् ।

व्यवहारिक शिक्षालाई कार्यान्वयन गर्न विद्यार्थीहरुको रोजगाईमा सीप विकास सम्बन्धी कक्षा दिन खोजिएको यादवले बताए । उनका अनुसार ४ देखि १० कक्षासम्मका विद्यार्थीले करिब १० वटा क्षेत्रमा रहेर सीप विकास सम्बन्धी तालिम लिन सक्नेछन् । यादवका अनुसार खेलकुदतर्फ क्रिकेट, फुटबल, भलिबल, टि–टी र चेस खेल खेल्न पाइनेछ । आर्ट तथा ग्राफ, नृत्य तथा गायन, साइन्स एण्ड इनोभेसन, आइटी शिक्षा, क्वीज एण्ड डिबेट र पब्लिक स्पिकिङमा तालिम लिन सकिने यादवले बताए । सीप विकास तालिमका लागि अभिभावकले थप शुल्क तिर्नु नपर्ने उनको भनाई छ ।