बागमती प्रदेशमा डेंगुबारे अनुसन्धान र निगरानी गर्न सहमति

तु खबर संवाददाता
२०७९ भाद्र २८,मंगलवार ०८:५४

मकवानपुर । बागमती प्रदेशमा फैलिएको डेंगु रोगबारे अनुसन्धान एवम् निगरानी गर्न सहमति पत्रमा हस्ताक्षर भएको छ । बागमती प्रदेश स्वास्थ्य मन्त्रालय र संघीय स्वास्थ्य मन्त्रालय अन्तरगत हेटौंडामा रहेको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रबीच प्रदेशमा फैलिएको डेंगु रोगको अनुसन्धान एवम् निगरानी गर्न सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

स्वास्थ्य मन्त्री निमा लामाको उपस्थितिमा मन्त्रालयका सचिव बद्रीबहादुर खड्का र केन्द्रका निर्देशक डा. विश्वबन्धु बगालेबीच सम्झौता पत्रमा हस्ताक्षरण भएको छ ।

केन्द्रले डेंगु प्रभावित बागमती प्रदेशका काठमाडौं, ललितपुर, भक्तपुर, चितवन र मकवानपुरमा यसको प्रभाव, संक्रमणको अवस्था, निगरानीका लागि अपनाउनुपर्ने रणनीति लगायतका क्षेत्रमा अनुसन्धान गरि सुझाव दिने मन्त्रालयका प्रवक्ता दीपक तिवारीले जानकारी दिए । अनुसन्धान तथा निगरानीले बागमती प्रदेशमा डेंगु रोग नियन्त्रणका लागि गरिएका प्रयासलाई थप व्यवस्थित गर्न सहयोग पुग्ने उनको भनाई छ ।

बागमती प्रदेशमा हालसम्म ६ हजार ६ सय ५४ जना डेंगु संक्रमित फेला परेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार, ललितपुरमा सबैभन्दा बढि ३ हजार ७९ जना, काठमाडौंमा १ हजार ७ सय ९७ जना, मकवानपुरमा १ हजार ४५ जना, चितवनमा १ सय ७९ जना, भक्तपुरमा १ सय ७० जना, धादिङमा १२१ जना, नुवाकोटमा १४, सिन्धुली ६६ जना, रामेछाप २२ जना, दोलखा १० जना, काभ्रे ४४, सिन्धुपाल्चोकमा ७ जना डेंगुका बिरामी रहेका छन् ।