भारत पुर्‍याइएका १६ बालकको उद्धार

तु खबर संवाददाता
२०७९ भाद्र ३०,बिहीबार १६:००
file-photo

काठमाडौं । जोखिमपूर्ण रुपमा भारतको उत्तर प्रदेश पुर्‍याइएका १६ नेपाली बालकको उद्धार गरिएको छ । भारतको गोण्डा र सिद्धार्थनगरस्थित बालगृहबाट उनीहरुलाई शान्ति पुनःस्थापना गृह नेपाल र देहरादुनस्थित हेल्प क्रस संस्थाको समन्वयमा उद्धार गरी नेपाल ल्याइएको हो ।

शान्ति पुनःस्थापना गृहका नेपालगञ्जस्थित क्षेत्रीय संयोजक भूमि भट्टराईलका अनुसार, उद्धार गरिएका नुवाकोटका १०, रसुवाका पाँच र कैलालीका एक गरी १६ बालबालिका रहेका छन् । बालबालिकामध्ये अधिकांंश १२ वर्षमुनिका छन् । बाल कल्याण समिति बस्ती उत्तर प्रदेशको अनुमतिमा कानूनी प्रक्रिया मिलाएर बालकलाई अभिभावकसँग पुनर्मिलन गराउने जिम्माका साथ नेपाल ल्याइएको संयोजक भट्टराईको भनाइ छ ।

उद्धार गरिएका बालकलाई नेपालको अपराध अनुसन्धान ब्यूरोसँग समन्वय गरी अभिभावकको जिम्मा लगाइने छ । अवैध नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका बालकको उद्धार गर्न सफल भए पनि उनीहरुलाई भारत पुर्याउने व्यक्तिको पहिचान हुन सकेको छैन ।