२५ मिटर सडक विस्तार हुन्छ, भ्रममा नपरौँः कांग्रेस सचिव महत
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरका सचिव भीमसेन महतले पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा बजार क्षेत्रमा पर्ने सडक विस्तारको विषयलाई लिएर भ्रम सृजना गरिएको बताएका छन् ।
पत्रकारहरुसँग कुराकानी गर्दै सचिव महतले महेन्द्र राजमार्गको चौंडाई ५० मिटर हुने सडक ऐनमा नै व्यवस्था भएको बताउँदै हेटौंडामा पनि दायाँबायाँ गरी ५० मिटर नै विस्तार हुने दावी गरे ।
‘नेपालमा महेन्द्र राजमार्गले छोएका अधिकाँश सडकहरु ५० मिटरकै मापदण्ड अनुसार विस्तार भइसकेका छन् । अब, एउटै देशका नागरिकलाई फरक–फरक कानून लागू हुने भन्ने हुँदैन । त्यसकारण, हेटौंडा बजार क्षेत्रको सडक १६/१६ मिटर विस्तार गर्ने भन्ने जुन जुन हल्ला फिँजाइएको छ । त्यो गलत हो, त्यस्तो हुनै सक्दैन ।’ महतले भने ।
महतले विगतमा सबैभन्दा बढी स्थानीय सरकार चलाएको र जिल्लाबाट नेतृत्व गरेको पार्टीका नेता तथा प्रतिनिधिले बाइपासको विषय चलाए पनि बाइपास कहिल्यै नबनाएको बताउँदै त्यो उनीहरुको दोहोरो चरित्र भएको टिप्पणी गरे ।
‘बाइपासको विषयमा पहिले बाइपास सडक बनाउनुपर्यो, र त्यसलाई महेन्द्र राजमार्ग कायम गर्नुपर्यो, र राजमार्गको नक्सांकन परिवर्तन भएको निवेदन र यसैलाई कायम गर्न एसियन हाइवेमा हाल्नुपर्यो । एसियन हाइवेले नक्सांकन परिवर्तनलाई स्वीकार गरेमा मात्र बाइपास कायम रहन्छ, नत्र रहँदैन ।’ महतले भने ।
उनले १६/१६ मिटर विस्तार गरी हेटौंडालाई मानव बस्ती घोषणा गर्ने र बाइपास सडक निर्माण गर्ने भन्ने विषयमा भ्रम मात्रै भएको दावी गरे । उनले सडक विस्तारका लागि सहयोग गर्न सबैलाई अपिल गदै पीडित जग्गाधनीले उचित मुआब्जा पाउनुपर्ने माग गरे ।