‘कैलाशलाई उज्यालो गाउँपालिका बनाउँछौँ’

तु खबर संवाददाता
२०७९ आश्विन १,शनिबार १७:४०

मकवानपुर । संघीय लोकतान्त्रिक संविधान कार्यान्वयनपछि दोस्रो पटक स्थानीय तहको निर्वाचन गत वैशाख ३० गते सम्पन्न भएको छ । मुलुकको सर्वतोमुखी विकासका लागि स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुन्छ । स्थानीय तह संघीयताको पहिलो खुड्किलो पनि हो । यसले लोकतन्त्रको आधार स्तम्भको रुपमा रही जनतासँग प्रत्यक्ष सम्बन्ध राख्दछ ।

विगत ५ वर्षको अनुभवले आम जनता र राजनीतिकर्मी बीच स्थानीय सरकारको महत्वलाई अझ थप स्पष्ट पारेको छ । यसअघिको स्थानीय सरकार संघीयता कार्यान्वयनपछिको पहिलो अनुभव थियो । त्यसैले आवश्यक कानूनको अभावमा संघीय प्रणाली अनुरूपको सेवा प्रवाह हुन सकेन । सबै तहमा कर्मचारीको अभाव, योजना र बजेट परिचालनमा पर्याप्त सीप र अनुभवको अभावमा जनप्रतिनिधिले चाहे जस्तो काम गर्न सकेनन् ।

ती समस्याहरु अहिले केही हदसम्म समाधान भएका छन् । संविधानको अनुसूची ८ ले स्थानीय तहको जिम्मेवारी तोकिदिएको छ । स्थानीय तहको विशिष्ट जिम्मेवारी र अन्य साझा अधिकार छन् । स्थानीय सरकार संचालन ऐन २०७४ को समेत अभ्यास र कार्यान्वयनका लागि सँगालेका अनुभव अहिलेको कार्यदिशाका अमूल्य सम्पती हुन् ।

मकवानपुरमा हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका र ८ वटा गाउँपालिका रहेका छन् । भौगोलिक विभिधताले भरिपूर्ण यस जिल्लामा कृषि र पर्यटनको प्रचुर सम्भावना रहेको छ । सिमेन्ट उद्योगका लागि चुन ढुंगा र कृषिजन्य उद्योगका लागि कच्चा पदार्थको यहाँ भण्डार नै रहेको छ । सम्भावना नै सम्भावना बोकेको मकवानपुरका स्थानीय तहहरुले समुन्नत पालिका निर्वाणको लागि के कस्ता कार्यहरु गरिरहेका छन्, के कस्ता नीति तथा कार्यक्रम अवलम्वन गरेका छन् भन्ने विषयमा हामीले जान्ने प्रयास गरिरहेका छौँ । यीनै विषयमा केन्द्रीत भएर तु खबरले भौगोलिक रुपमा विकट मानिएको कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानसँग गरेको संक्षिप्त कुराकानीको सम्पादित अंश ।

सवालः स्थानीय तहको निर्वाचन २०७९ बाट जनताले तपाईंलाई गाउँपालिकाको अभिभावकको रुपमा चुनेका छन् । जनताको अपेक्षालाई पुरा गर्दै स्थानीय सरकारको प्रत्याभूति दिलाउने गरी काम गर्नुपर्ने ठूलो जिम्मेवारी तपाईंको काँधमा आएको छ । त्यसलाई कसरी पुरा गर्नुहुन्छ ?

जवाफः धन्यवाद, सर्वप्रथम त म २०७९ वैशाख ३० गते यहाँका धेरै जनताले विश्वास गरेर ५ वर्षको लागि गाउँपालिकाको अभिभावकको रुपमा रहेर सेवा गर्ने जुन मौका दिनुभएको छ, त्यसको लागि सबै आम कैलाशवासीप्रति आभार व्यक्त गर्न चाहान्छु । चुनावको बेला गरेका प्रतिवद्धता अनुसार नै हामी जनताको बीचमा जाने प्रयास गरिरहेका छौँ ।

विगतको नेतृत्वबाट निराश भएका जनतालाई स्थानीय सरकारको अनुभूति दिलाएरै छाड्ने प्रयासमा हामी छौँ । हाम्रो गाउँपालिका भौगोलिक विभिधतायुक्त भएकाले सर्वप्रथम पूर्वाधार विकासलाई हामीले प्राथमिकता दिनैपर्छ । सँगै ग्रामिण विद्युतिकरण, शिक्षा, स्वास्थ्य र कृषिमा विशेष योजना बनाएर जनताको बीचमा गएका छौँ ।

हामीले जनताको बीचमा बोलेका अधिकाँश विषयमाथि आधारित भएर नीति तथा कार्यक्रम निर्माण गरी बजेट समेत विनियोजन गरिसकेका छौँ । कैलाशमा साँढे २२ हजार जनसंख्या छ । तामाङ, चेपाङ र केही संख्यामा क्षेत्री ब्राम्हण र थोरै संख्यामा दलित समुदाय रहेको छ । सुरुवाती चरणमा हामीले सडक पुर्याउने प्रयास गरेका छौँ । ५ वर्षभित्र जनताको घरघरमा बिजुली पुर्याइने, खानेपानी, स्वास्थ्य शिक्षाको पहुँच विस्तार गर्ने चरणमा हामी छौँ ।

हामीले ‘अध्यक्षसँग विपन्न कार्यक्रम’ संचालन गरेका छौँ । कैलाशमा विशेषगरी गरिब तथा पीछडिएका वर्ग छन् । विपन्न वर्गका मानिसहरु पैसाको अवभामा शिक्षा, स्वास्थ्य उपचारबाट बञ्चित हुँदै आएका छन् । व्यवसाय गर्न नपाउने अवस्थामा छन् । हामीले कार्यविधि नै पास गरेर अध्यक्षसँग विपन्न कार्यक्रम संचालन गरी अवस्था हेरेर २०/२५ हजार दिने प्रबन्ध मिलाएका छौँ । गाउँपालिकाले अनुदानस्वरुप उपलब्ध गराएको सानो रकम यहाँका गरिब किसानहरुलाई ठूलो बीउ पूँजी हुनेछ भन्ने हामीले विश्वास लिएका छौँ । हामीले समिति बनाएर त्यसको अनुगमन गर्ने व्यवस्था पनि गरेका छौँ ।

त्यस्तै ‘चेली प्रोत्साहन कार्यक्रम’ संचालन भएको छ । कैलाशमा रहेका चेलीहरु बालबिवाहको शिकार नबनुन् र शिक्षा आर्जनमा उनीहरुलाई प्रोत्साहन मिलोस् भनेर हामीले यो कार्यक्रम लागु गरेका हौँ । २० वर्ष पुरा भई प्लस टु पास गरेर मात्रै विवाह गर्ने चेलीलाई पालिकाले २० हजार रुपैयाँ प्रोत्साहनस्वरुप दिने प्रबन्ध हामीले मिलाएका छौँ ।

त्यस्तै छात्रवृत्ति कार्यक्रम लागु भएको छ । विपन्न समुदायका विद्यार्थीलाई प्राविधिक शिक्षा आर्जनमा सहयोग पुगोस् भन्नका लागि प्रत्येक वडाबाट २ जनालाई कृषिसम्बन्धि विषय अध्यापनको लागि छात्रवृत्तिको व्यवस्था गरेका छौँ ।

सवालः अघिल्लो स्थानीय निर्वाचनमा मकवानपुरको ६ वटा पालिकामा एमालेले नेतृत्व गरेको थियो । कांग्रेस २ वटामा मात्रै सिमित थियो । एमालेले काम गरेन भनेर यहाँहरुले आरोप लगाउँदै आउनुभएको थियो । अब एमालेलाई दोष दिने ठाउँ छैन । कांग्रेसको नेतृत्वले कैलाशमा स्थानीय सरकारको अनुभूति जनतालाई दिलाउन सक्छ ?

जवाफः यो राजनीतिक प्रश्न हो । हामी नयाँ भन्दा पनि चुनावमा जनताको बीचमा बोलेका कुराहरु पुरा गर्नेतर्फ क्रियाशील छौँ । चुनावमा दलको तर्फबाट दलको झण्डा बोकेर जनताको बीचमा गएका थियौँ । उहाँहरुले भोट दिएर हामीलाई नेतृत्वमा पुर्याउनुभयो । तर, अब निर्वाचित भएपश्चात म कांग्रेसको मात्रै जनप्रतिनिधि होइन म कैलाशका सम्पूर्ण साँढे २२ हजार जनताको प्रतिनिधि हुँ ।

सबै जनप्रतिनिधिले साझा भावनाको विकास गर्नुपर्छ र हामी सबैको प्रतिनिधि हौँ । हामीले त्यहाँको भूगोललाई पहिचान गरेर त्यहाँ जनताको इच्छा आकाँक्षालाई पहिचान गरेर अगाडि बढ्न सक्नुपर्छ भन्ने लाग्छ । विकास निर्माणको विषयमा होस् वा अन्य विषयमा सबैलाई समेटेर अघि बढ्न सक्दा जनताले केही न केही फरक महसुस भने पक्कै गर्नेछन् । अब हिजो के थियो, अब के हुन्छ भन्ने कुरा ५ वर्षपछि जनताले मुल्यांकन गर्ने कुरा हो । हामी जनताप्रति पूर्ण उत्तरदायी भएर अघि बढ्नेछौँ । हामी जनताले केही न केही फरक महसुस गर्ने गरी अघि बढेका छौँ ।

सवालः पदभार सम्हालेको १०० दिन पुरा भइसकेको छ । यहाँसम्म आइपुग्दा विशेषगरी के–के काम भए वा कुन–कुन काम सुरुवात भए ?

जवाफः हामीले पदभार सम्हालेको धेरै अवधि भइसकेको छैन । यो छोटो अवधिमा मैले अघि पनि भनेँ, अध्यक्षसँग विपन्न कार्यक्रम, चेली प्रोत्साहन कार्यक्रम, विपन्न विद्यार्थीलाई छात्रवृत्ति कार्यक्रम जस्ता विभिन्न कार्यक्रम हामीले सुरु गरिसकेका छौँ । मकवानपुरकै विकट गाउँपालिकालाई हामीले स्थानीय बालमैत्री शासनयुक्त गाउँपालिका घोषणा गर्ने तयारीलाई तीव्र पारेका छौँ ।

मकवानपुरमा ३ वटा पालिका बालमैत्री भइसकेका छन् । देशभरीमा नै छैठौं गाउँपालिका हामी हुँदैछौँ । मंसिर २५ गते बालमैत्री गाउँपालिका घोषणा गर्दैछौँ । जसको लागि ५१ वटा सूचक पुरा गर्नुपर्ने हुन्छ । स्वास्थ्य, शिक्षालगायत अन्य शाखाहरुलाई कार्यतालिका नै बनाएर सो कार्यक्रम अघि बढाइसकिएको छ । यो मानव सुचांकको लागि मापदण्ड बनाउन र दीगो विकासको लक्ष्य पुरा गर्ने कार्यक्रम हो । यसको प्रभाव तुरुन्तै नदेखिने भएपनि दीगो रुपमा त्यसको प्रभाव सकारात्मक हुनेछ । दुरदराजमा रहेको कैलाशले अन्य सम्पन्न गाउँपालिकालाई पनि घचघचाएको जस्तो लाग्छ ।

सवालः यहाँसम्म आइपुग्दा अन्य राजनीतिक दल, नागरिक समाज र संघसंस्थाहरुको सहयोग/समन्वय कस्तो छ ?

जवाफः विशेषगरी नेतृत्वमा भरपर्ने कुरा हो । म रुख चिन्हबाट चुनाव जितेको गाउँपालिका अध्यक्ष, मैले बाहेस गरेर अघि बढेँ भने मलाई पनि सहयोग हुँदैन । तपाईं एमाले, तपाईं माओवादी, तपाईंको संस्था अर्को दलको भनेँ भने त्यहाँ विवाद हुन्छ । तर, समान दृष्टिकोण राखेर समान व्यवहार गर्दा, सबैलाई समेटेर लैजाँदा सबैको सहयोग रहन्छ भन्ने लाग्छ ।

हामीले कार्यपालिका बैठकमा समेत हरेक विषयमा सबैको सहमति जुटाएर मात्रै निर्णय गरेको अवस्था छ । मैले यो पार्टी र त्यो पार्टी भन्नु हुँदैन । उहाँहरुले पनि बिना कारण समस्या पानुहुँदैन । हामी सबैले उदार भावना लिएर जनहितका कार्यमा एकअर्कालाई सघायौँ भने पक्कै पनि नतिजा जनताकै पक्षमा आउनेछ ।

सवालः यहाँले निर्वाचनको समयमा आफ्नो प्रतिवद्धतापत्रमा थुप्रै योजनाहरु समेट्नुभएको थियो । त्यसलाई क्रमबद्ध रुपमा कसरी कार्यान्वयनमा लैजाने सोच बनाउनुभएको छ ?

जवाफः हामी सबैभन्दा पहिला सडक निर्माण तथा स्तरोन्नतीको कामलाई प्राथमिकता दिनेछौँ । जनताको आशा, अपेक्षा पनि त्यही हो । सदरमुकामदेखि कैलाशसम्म जाने बाटो पहिला बनाउँछौँ । बाटोको कारणले विभिन्न संघसंस्था, मन्त्रालयका कर्मचारी, सहयोगी संस्थाहरु वा अन्य जो कोही जाँदा दिक्क मान्नुहुन्छ । चुनियाँदेखि कालिकाटारसम्मको बाटोलाई हामीले प्राथिमकता दिएका छौँ । जसअनुसार प्रदेश सरकारसँग कुरा गरेर बहुवर्षीय योजनामा लगी बाटो बनाउने कार्य सुरु हुँदैछ । बाटो बनेपछि सेवाग्राहीलाई सहज हुन्छ । त्यतिमात्र नभएर कैलाशमा १० वटा वडामध्ये माथिल्लो भेग र तल्लो भेग भन्ने छ । साविक गोगने र साविक डाँडाखर्कमा हामी बाटो पुर्याउँदै छौँ । मोटरबाटो प्राथमिकतामा रहेको छ । त्यसले जनताको जीवनशैली परिवर्तन हुन्छ ।

हामीले ग्रामिण बिद्युतीकरणको काम पनि गरिनैरहेका छौँ । एउटा वडामा पनि बिजुली नबलेको वडामा हामीले बिजुली विस्तार गरेका छौँ । हाम्रो कार्यकालमा कैलाशका सबै जनताको घरमा बिजुली पुर्याउने लक्ष्य लिएका छौँ । बजेट पनि विनियोजन गरिसकेका छौँ । ताकि, बत्तिको माध्ययमबाट, बाटोको माध्यमबाट त्यहाँका जनतामा खुसी मिलोस्, जीवनशैली सहज बनोस् ।

कैलाश गाँजा खेति हुने ठाउँ होरे भन्ने पनि छ । बास्तवमा हो पनि । यसलाई विस्थापित गर्नको लागि पहिला बाटो बनाऔँ । बाटो बनाएपछि त्यहाँ उत्पादन भएका तरकारीले उचित बजार पाउँछ । प्रशासनलाई नियमित निगरानी गर्न सहज हुन्छ । त्यसपछि गाँजा रोप्नै छाडिदिन्छन् नी । धेरै गाँजाकै कारण जेल परेका छन् । कति समस्यामा छन् । त्यसकारण बाटोको पहुँच विस्तार गरियो भने गाँजा खेति न्यूनिकरण आफैँ हुन्छ ।

सवालः चालु आवको लागि संघ र प्रदेश सरकारले ल्याएको बजेटमा कैलाश लक्षित कार्यक्रमहरु कति समावेश भएका छन् । त्यसमा सन्तुष्ट हुने अवस्था छ कि छैन ?

जवाफः विशेषगरी हामीले प्रदेशको ससर्त, समपुरक र कैलाशको राजश्व प्रक्षेपण गर्दा कुल ५१ करोडको बजेट विनियोजन गरेका छौँ । त्यो बजेटले मात्रै त केही पनि हुँदैन । त्यो भन्दा बाहेक हामीले प्रदेशको २१ करोड बजेट लैजान सफल भएका छौँ । ताकि, निरन्तर प्रयास गर्यौँ भने अझै थपिने संभावना छ । बहुवर्षीय योजनामा त्यो बजेट लगानी गर्न सकियो भने बजेटको भोलुम पनि बढ्दै जानेछ । हामी प्रयास गरिरहेका छौँ ।

संघ र प्रदेशले हामीलाई छ्ट्याएको भन्दा पनि हामीले पहल गरेका कारण हामी केही बजेट लैजान सफल भएका छौँ । प्रदेश सरकारले कालिकाटारसम्मको बाटोको लागि बजेट छुट्याएको छ । अन्य बाटोका लागि पनि बजेट छ । जनतामाझ गरेका प्रतिवद्धता पुरा गर्न प्रदेश सरकारको भूमिका महत्वपूर्ण छ । हाम्रो समस्या सुनुवाई गरिदिनुभएकोमा हामी प्रदेश सरकारका विषयगत मन्त्रालयका मन्त्रीज्यू, कर्मचारीज्यूहरु सबैलाई धन्यवाद दिन चाहान्छौँ ।

सवालः गाउँपालिकाको आन्तरिक आम्दानी बढाउन के कस्ता कार्यक्रम गर्ने सोच बनाउनुभएको छ ?

जवाफः माथिल्लो भेग, गोगने, पोकनीलगायतका क्षेत्रमा तरकारी खेति हुन्छ । निकाशी पैठारी कर पालिकाले उठाउन सकिरहेको अवस्था हिजो पनि थिएन । आज हामी प्रयास गरिरहेका छौँ । आखिर त्यहाँका किशानहरुले कर त तिरिरहेका छन् । तर, थाहा नगरपालिका अन्तरगत उनीहरुले कर तिरिरहेको अवस्था छ ।

हामीले कार्यपालिकामा छलफल गरी निकाशी पैठारी करलाई चुस्त राख्ने योजना कार्यान्वयन गर्दैछौँ । त्यस्तै नदीजन्य पदार्थ उत्खनन् गरी विक्रि गर्ने, पर्यटन प्रर्वद्धनमा टेवा पुर्याएर आन्तरिक राजश्वलाई प्रक्षेपण गर्ने हाम्रो तयारी छ । चुनाव जित्नुमात्रै ठुलो कुरा होइन । कार्यसम्पादन कसरी गर्ने भन्ने कुरा ठुलो हो । त्यसकारण समस्याको पहिचान गरी जनतालाई सेवा पुर्याउने गरी हामी अगाडि बढ्ने नै छौँ ।

हाम्रो गाउँपालिकामा बाटो, बिजुली र पानीको असुविधा भएकाले कर्मचारीहरु बस्न समस्या छ । त्यसकारण कार्य सम्पादनमा समस्या भइरहेको छ । हामीले कर्मचारीलाई प्रोत्साहन गर्न खाइपाइ आएको तलबमा थप ३० प्रतिशत दिने व्यवस्था गरेका छौँ । जनताको सेवामा कुनै कन्जुसाई नहोस् भन्नका लागि कर्मचारीलाई प्रोत्साहन रकम उपलब्ध गराएका हौँ ।

सवालः बर्षभरी काम नगर्ने अनि असारे विकासलाई जोड दिने आरोप तीनै तहका सरकारमाथि छ । त्यसलाई चिरेर, पूर्वाधार विकासको काम दीगो पनि हुने गरी गर्न सकिँदैन ?

जवाफः यसका लागि सबैभन्दा ठुलो कुरा कार्यसम्पादन गर्ने कार्ययोजना हो । स्थानीय रुपमा बनेका योजनालाई गाउँसभाबाट पास गरी कार्यान्वयनको चरणमा लैजाने अनि हिउँदे गाउँसभापूर्व कति योजना सम्पन्न भए र त्यसको अवस्था हेरेर अघि बढ्ने कुरा मैले गाउँसभामा स्पष्ट भनिसकेको छु । सम्पन्न गरेको आधारमा पुरस्किृत र दण्डित गर्ने हामीले भनेका छौँ । हामीले जेठ मसान्त भित्रै योजना सम्पन्न गर्ने गरी काम गर्ने तयारी गरेका छौँ । कर्मचारी साथीहरुको पनि सहयोग छ ।

कम्तिमा पनि असार मसान्त नभई जेठ मसान्तमानै सबै योजना पुरा गर्यौँ भने वर्षाको बेलामा काम गर्न समस्या पनि नहुने, भुक्तानी दिन पनि सहज हुने, दीगो विकास पनि हुने, जनताले अनुभूति पनि गर्ने गरी काम गर्न हामी तल्लीन छौँ । कति सफल भइन्छ, हेर्दै जाउँ, नयाँ भोडल लिएका छौँ । जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी सबैले सहयोग गर्नुहुन्छ भन्ने विश्वास पनि लिएको छु । त्यहि अनुसार अघि बढ्दा गर्न नसक्ने भन्ने हुँदैन । हामीले हाम्रो लक्ष्य पुरा गर्न सकेनौँ भने जनताको आशा अपेक्षा पुरा हुने छैन भन्ने लाग्छ ।

सवालः युवाहरु रोजगारीको लागि विदेश पलायन हुने क्रम बढ्दो छ । स्थानीय युवाहरुलाई स्वदेशमै वा पालिकाभित्रै रोजगारीको अवसर दिन सकिँदैन ?

जवाफः विशेषगरी यो देशैभरकै चुनौती हो । एउटा गाउँपालिका अध्यक्षले सबै समस्या समाधान गर्न सक्छु भनेर म भन्दिन । तर, युवा लक्षित कार्यक्रम हामीले अघि सारेका छौँ । भुगोलका हिसाबले हामी विकट क्षेत्रमा छौँ । तरपनि हामीले कृषि अध्ययनका लागि छात्रवृत्ति छु्ट्याएर एउटा सुरुवात गरेका छौँ । कम्तिमा पनि उनीहरुले अध्ययन पुरा गरेपछि केही न केही रोजगारी पक्कै

एउटा पालिकाले मात्रै युवा स्वरोजगार बनाउन सक्ने अवस्था छैन । सबैको सहयोग भयो भने युवाहरुलाई विस्तारै स्वदेशमा नै रोजगार बनाउन सकिन्छ ।

सवालः प्रतिबन्धित गाँजा उत्पादन र ओसारपसारमा कैलाशवासी संलग्न देखिन्छन् । त्यसकै कारण केहीले जेलजीवन विताइरहेका छन् । यो विषयलाई गाउँपालिकाले कसरी लिएको छ ?

जवाफः मैले अघि पनि भनेँ । सबैभन्दा पहिला बाटोको व्यवस्था गर्नुपर्छ । कम्तिमा पनि के हुन्छ भने कैलाशमा अहिले भटाभट गाँजा रोप्ने सिजन छ । हामीले गाँजा नरोप्न सल्लाह दिँदै आएका छौँ । हाम्रो पहल र बाटोको पहुँच पुग्यो भने प्रहरी प्रशासनको पनि ध्यान केन्द्रीत हुन्छ । प्रशासन पुग्न सक्छ, कुन ठाउँमा गाँजा रोपेको छ कृषकले भन्ने थाहा हुन्छ । कुन कोप्चेरामा गाँजा हुर्किरहेको हुन्छ त्यो थाहा हुन्छ ।

त्यसकारण बाटो प्रत्येक वडामा पुर्याउन सक्यौँ भने भूगोल अनुसारको सवारी साधन संचालन गर्न सक्यौँ भने गाँजा बराबरको पैसा तरकारी खेतिबाट पनि कमाउन सकिन्छ । जीवन धरापमा राखेर हिड्नु पनि परेन । गाँजा जति टाइट हुन्छ । त्यति मुल्य बृद्धि हुँदै जान्छ । र किसानले लुकी लुकी खेति गरिरहेको अवस्था छ । त्यसकारण हामीले सचेतना फैलाउने मात्रै नभई बाटोको पहुँच विस्तार गरेर बैकल्पिक खेति उत्पादनमा जोड दिने तयारी गरेका छौँ ।

गाँजाबाट कमाउने पैसा तरकारीबाट कमाउन सकुन् र प्रतिबन्धित गाँजा उत्पादन तथा ओसारपसारमा नलागुन भन्नका लागि हामीले बाटो बनाउन आवश्यक छ । त्यहाँका जनताको मनस्थिति गाँजाकै कारण हाम्रो आर्थिक अवस्था फेरिएको, मनहरीमा घर किनेर बस्न सकेको भन्ने छ । त्यसकारण मैले बारबार भन्ने गरेको छु । यो साँच्चै राज्यको लागि चुनौतीको विषय हो । एउटा पालिका मात्रै लागेर हुँदैन । सिंगो राज्य नै पोलेसी बनाएर लाग्न आवश्यक छ ।

राज्यले ठूलो आकारको बजेट छुट्याइदिनुपर्यो । कृषिमा लगानी बढाइदिनुपर्यो अनि त गाँजाखेति विस्थापित हुँदै गइहाल्छ नी । बाख्रा पालन गर्छन्, तरकारी खेति गर्छन् । अदुवा खेति गर्छन् । त्यसकारण यो विषयमा पालिकाले मात्रै चाहेर हुँदैन । यसमा प्रदेश र संघ सरकारको पनि ध्यान जान आवश्यक छ ।

मैले के आग्रह गर्न चाहेँ भने गाँजा विस्थापित गर्न गाउँपालिकाले मात्रै चाहेर हुँदैन । जम्मा ५१ करोड बजेट छ । त्यसमा पनि आदि कर्मचारीको तलब भत्तामा नै जान्छ । त्यसकारण हामीले वार्षिक साँढे ४ करोड भौतिक पूर्वाधारमा खर्च गरेका छौँ । यस्तो विकट वडामा त्यति बजेटले कसरी विकास संभव हुन्छ ? यस्ता पिछडिएका गाउँपालिकालाई आन्तरिक स्रोत नभएको गाउँपालिकालाई प्रदेश र संघ सरकारले ध्यान दिनुपर्यो । अनि मात्रै स्थानीयको सरकारको अनुभूति गर्न सक्छन् । नमूना गाउँपालिका बनाउन पनि सकिन्छ । जनसंख्याको आधारमा मात्रै नभई भूगोलको आधारमा संघ र प्रदेश सरकारले त्यस्ता गाउँपालिकाको पहिचान गरेर साथ र सहयोग गर्यो भने समृद्ध गाउँपालिका निर्माण हुनेछ ।

सवालः अन्त्यमा कैलाशवासीलाई के भन्न चाहानुहुन्छ ?

जवाफः हामीले १०० दिनभित्र गरेका कामहरु सार्वजनिक गर्यौँ । नयाँ कार्यक्रम ल्यायौँ । स्थानीय पाठ्यक्रमलाई पनि जोड दिएका छौँ । तामाङ र चेपाङ समुदायको बाहुल्यता रहेकोे ठाउँमा स्थानीय पाठ्यक्रम लागू गरेका छौँ । यसले भूगोलको चिनारी पनि भएको छ । जनताले हामीलाई ५ वर्षको लागि नेतृत्वमा पुर्याउनुभयो । हामीलाई जिताउँदै गर्दा जनताको इच्छा पुरा गर्ने उत्तरदायित्व हाम्रो छ । तत्कालै त्यो इच्छा पुरा होस् भन्ने हुन्छ । हामी प्रयासरत छौँ । सकेसम्म चाँडै जनताले अनुभूत गर्नेगरी काम गर्छौँ । विकास र समृद्धिका लागि हामीले विभिन्न योजना बनाई प्रभावकारी रुपमा कार्यान्वयनको चरणमा लैजाँदैछौँ । जनताको सेवामा दिनरात नभनी लागिरहेका छौँ । अब हामी कार्यतालिका नै बनाएर फिल्डमा नै पुगेर योजना अनुगमन गर्नेछौँ । र आगामी आर्थिक वर्षको लागि योजना बनाउने छौँ ।

यहाँहरुले दिनुभएको जिम्मेवारीलाई इमान्दार भएर पुरा गर्ने विश्वास दिलाउन चाहान्छु । म कैलाशवासीलाई ५ वर्ष शासक होइन सेवक बनेर सेवा गर्नेछु । तपाईंहरुको आशालाई निराशामा परिणत गर्न दिने छैन । पक्कै पनि तपाईंहरुले ५ वर्षमा केही न केही परिवर्तनको अनूभूति पाउनुहुन्छ । मेरा कुराहरु जनतासम्म पुर्याउन यहाँले जुन अवसर दिनुभयो त्यसको लागि तपाईंको मिडियाप्रति पनि आभार व्यक्त गर्दछु । धन्यवाद ।