मकवानपुरका ५ जना पनि विभूषित हुने

प्रजिअ पाण्डे, समाजसेवी श्रेष्ठ र लामा, संगीतकार सापकोटा र पत्रकार अधिकारी पनि आज सार्वजनिक भएको विभूषित हुने नामावलीमा
तु खबर संवाददाता
२०७९ आश्विन ३,सोमबार १३:४७
file-photo

मकवानपुर । मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे सुप्रबल जनसेवाश्रीबाट विभूषित हुने भएका छन् । सरकारले संविधान दिवसको अवसरमा घोषणा गरेको विभिन्न मानपदवी, अलंकार र पदकमध्ये सुप्रबल जनसेवाश्रीबाट प्रजिअ पाण्डे विभूषित हुँदैछन् ।
त्यस्तै प्रबल जनसेवाश्रीबाट मकवानपुरका ३ जना विभूषित हुँदैछन् । सरकारले सार्वजनिक गरेको सूचिमा जिल्लाका, हेटौंडा ४ निवासी समाजसेवी गणेश बहादुर लामा, समाजसेवी सिद्धिलाल श्रेष्ठ र चर्चित संगीतकार चेतन सापकोटा रहेका छन् ।
त्यस्तै जनसेवाश्रीबाट हेटौंडाका क्रियाशील पत्रकार तिलकप्रसाद अधिकारी विभूषित हुने भएका छन् ।

सरकारले यस वर्ष सबैभन्दा ठुलो विभूषण ‘नेपालरत्न’ बाट पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइलालालाई विभूषण गर्ने घोषणा गरेको छ । त्यस्तै ‘राष्ट्र गौरव’ बाट राजनीतिज्ञ स्व. जिवराज आश्रित, मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी र संस्कृतिविद् सत्यमोहन जोशीलाई विभूषित गर्दैछ ।

सुप्रशिद्ध प्रबल जनसेवाश्रीबाट यस वर्ष संस्कृतिविद् डा. जगतबहादुर गुरुङ विभूषित हुँदैछन् भने प्रसिद्ध प्रबल जनसेवाश्रीबाट १४ जना विभूषित हुँदैछन् ।

संविधान दिवशको दिन आज सरकारले कूल ९९८ जनालाई विभिन्न मानपदवीबाट विभूषित गर्ने घोषणा गरेको छ । सरकारले आउँदो बैशाख १ गते राष्ट्रपति भवनमा आयोजना हुने विशेष समारोहमा विभूषण मानपदवी तथा अलंकार प्रदान गर्नेछ ।