जितिया पर्वको अवसरमा तीन दिन विविध कार्यक्रमको आयोजना
मकवानपुर । थारू महिलाको महान् पर्व जितियाको अवसरमा हेटौंडामा तीन दिन विविध कार्यक्रम गरी मनाईएको छ । थारु कल्याणकारीणी सभा, थारु महिला सभा, थारु युवा सभा र थारु विद्यार्थी सभा मकवानपुरले संयुक्त रुपमा कार्यक्रम आयोजना गरेको हो ।
शनिवार सामुहिक स्नान, पुजापाठ र भोजन, आइतबार जीतवहान भगवानको ब्रत तथा जितिया कथा बाचन र सोमबार साँस्कृतिकसहित विशेष कार्यक्रम आयोजना गरिएको थारु कल्याणकारीणी सभा मकवानपुरका सचिव चन्द्रकान्त चौधरीले बताए ।
कार्यक्रम थारु कल्याणकारीणी सभाकी केन्द्रीय सदस्य जानकी चौधरीको प्रमुख आतिथ्य तथा थारु महिला सभा मकवानपुरकी सभापती द्रौपती चौधरीको अध्यक्षतामा भएको हो ।
कार्यक्रममा थारु भेषभुषा लगाएर भेला भएका थारु युवक–युवतीहरुले थारु, नेपाली, हिन्दी गीतमा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपाल आदिवासी जनजाती महासंघ मकवानपुरका अध्यक्ष जंगबहादुर गुरुङ, नेपाल आदिवासी जनजाती पत्रकार महासंघ मकवानपुरका अध्यक्ष अशोकसुजन श्रेष्ठ लगायतको विशेष आतिथ्य रहेको थियो ।
कार्यक्रममा थारु कल्याणकारीणी सभा मकवानपुरका सभापती हरिलाल चौधरी, उपसभापती अमिता चौधरी, थारु विद्यार्थी सभा मकवानपुरका सभापती राजेश चौधरी लगायतले मन्तब्य व्यक्त गरेका थिए ।