सौतेनी आमाको हत्या गरेको आरोपमा एक जना पक्राउ

तु खबर संवाददाता
२०७९ आश्विन ९,आईतवार १०:१२

वीरगञ्ज । सौतेनी आमाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । तेतरी देवीको हत्या गरेको आरोपमा प्रहरीले कलैया उपमहानगरपालिका–७ रंगपुर टोल बस्ने २५ वर्षीय जय किशोर यादवलाई पक्राउ गरेको हो ।

जय किशोरलाई असोज ७ गते वीरगञ्ज इनर्वाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । नागरिकता बनाइदिन आग्रह गर्दै आएकी तेतरीको गत भदौ ३० गते साँझ हत्या भएको थियो ।

जय किशोरले सौतेनी आमा तेतरीलाई सामान्य घरायसी विवादका क्रममा घाँटीको अगाडि भागमा खुकुरी प्रहार गरेको प्रहरीको भनाइ छ । उनको घटना स्थलमै मृत्यु भएको थियो । घटनापछि जयकिशोर फरार भएका थिए ।

तेतरीका श्रीमान् ५५ वर्षीय शिवनारायण यादवलाई भने प्रहरीले घटना भएको भोलिपल्टै पक्राउ गरेको थियो । शिवनारायणले घरायसी विवादका क्रममा छोराले घाँटी काटिदिएको बयान दिएपश्चात टोरा जयकिशोरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।