चाडपर्वमा विद्युत् सेवा प्रवाहमा कमजोरी हुन नदिन निर्देशन
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले चाडबाडको समयमा नेपाल विद्युत् प्राधिकरणले उपलब्ध गराउँदै आएको सेवामा कुनै कमजोरी हुन नदिन निर्देशन दिएकी छन् ।
प्राधिकरणका उच्च तहका कर्मचारीलाई आज मन्त्रालयमा शुभकामना दिँदै मन्त्री भुसालले चाडपर्वमा अधिकांश कर्मचारीहरु बिदामा बस्ने भए पनि आफूले चाडपर्व मनाउँदै गर्दा आम जनताको हितमा काम गर्न र अविच्छिन्न विद्युत् सेवा प्रवाह गर्न निर्देशन दिएकी हुन् ।
सो अवसरमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कर्मचारीहरु जस्तोसुकै असहज परिस्थितिमा पनि सेवामा लागिरहेको भन्दै यस्ता चाडपर्वका समयमा अझै सक्रियता अपनाउन निर्देशन दिए । कार्यक्रममा विद्युत् प्राधिकरणका उच्च अधिकारीहरूको सहभागिता थियो ।