बारा बस दुर्घटनामा परेर मृत्यु हुनेको संख्या १८ पुग्यो

तु खबर संवाददाता
२०७९ आश्विन २१,शुक्रबार १३:०६

मकवानपुर । बाराको ३ नम्बर पुलमा बिहीबार बिहान भएको बस दुर्घटनामा परेर मृत्यु हुनेको संख्या १८ जना पुगेको छ । दुर्घटनामा परेर गम्भीर घाइते भएकामध्ये थप दुई जनाको उपचारका क्रममा मृत्यु भएसँगै मृतकको संख्या १८ जना पुगेको हो ।

उपचारका क्रममा बिहीबार राती मृत्यु हुनेहरुमा क्रमशः पर्सा सखुवाप्रसौनी गाउँपालिका–६ लखनपुरका ५५ वर्षीय गया राउत कम्कर र वीरगन्ज महानगरपालिका–१६ नगवाकी ६० वर्षीय मालतदेवी चौरसिया रहेका छन् । कम्करको हेटौडा अस्पताल र चौरसियाको नारायणी अस्पताल वीरगन्जमा मृत्यु भएको बारा प्रहरीले जनाएको छ । यसअघि दुर्घटनामा परी १६ जनाको मृत्यु भएको थियो ।

यसअघि मृत्यु हुनेहरुमा जीतपुरसिमरा उपमहानगरपालिका २२ का २८ वर्षीय सुरेश विक, कलैया उपमहानगरपालिका २ बस्ने ४१ वर्षीय लिलाराज चौधरी, कलैया उपमहानगरपालिका १० का २६ वर्षीय ईताजत अंसारी, सोही ठाउँकी ३६ वर्षीया नाजलिन खातुन, चितवन खैरहनी नगरपालिका ५ बुडौलीकी ६३ वर्षीया नन्दकुमारी पुडासैनी, चितवन कालिका नगरपालिका रमाईलो चोक बस्ने शंकर कडेलको १५ वर्षीय छोरा सफल कडेंल, वीरगन्ज महानगरपालिका १६ का ६५ वर्षीय सोमप्रसाद चौरसिया, सोही ठाँउकी ३६ वर्षीया मुन्नीदेवी चौरासिया, हेटौडा उपमहानगरपालिका ७ की ५६ वर्षीया शुभलक्ष्मी श्रेष्ठ, सोही ठाँउकी २० वर्षीया सोस्तीका श्रेष्ठ, ओखलढुंगाका लालबहादुर बोगटी, चितवन खैरहनी नगरपालिका ५ का २५ वर्षीय मनोरथ पुडासैनी, गोर्खाका ३५ वर्षीया अम्बिका कंडेल, जनकपुर उपमहानगरपालिका ५ का ५० वर्षीय सन्तोषकुमार राय, बारा करैयामाई गाँउपालिका घर भई भरतपुर नगरपालिका १२ बस्ने १६ वर्षीया प्रितिका चौधरी, बारा सुवर्ण गाँउपालिका ७ का ५५ वर्षीय रामआश्रय राय यादव रहेका छन् ।

दुर्घटनामा परेर घाइते भएका अन्य २६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, पुरानो मेडिकल कलेज चितवनमा १४ जना, चितवन मेडिकल कलेजमा ५ जना, चुरेहिल अस्पताल (हेटौंडा) मा २ जना, सहकारी अस्पताल (हेटौंडा) मा २ जना, गण्डक अस्पतालमा २ जना र हेटौंडा अस्पतालमा एक जनाको उपचार भईरहेका छ ।