सिस्नेरी–दक्षिणकालिका सडकखण्ड अवरुद्ध

तु खबर संवाददाता
२०७९ आश्विन २३,आईतवार ०९:३२
file photo

मकवानपुर । मकवानपुरको सिस्नेरी–दक्षिणकालिका सडकखण्डमा यातायात अवरुद्ध भएको छ । जिल्लाको इन्द्रसरोवर गाउँपालिका वडा नम्वर ३ सिस्नेरीमा गएराति आएको पहिरोका कारण उक्त सडकखण्डमा आज बिहानैदेखि यातायात अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ ।

उक्त पहिरो स्थानीय सरकारको समन्वयमा सडक विभागका प्राविधिहरुले हटाउने प्रयास भइरहेको छ । ठूलो पहिरो खसेका कारण २/३ दिनभित्रमा यातायात संचालनमा ल्याउने इलाका प्रहरी कार्यालय भीमफेदीको प्रहरी निरीक्षक प्रतिमा कार्कीले जानकारी दिइन् ।

पहिरोका कारण हेटौंडा–भीमफेदी हुँदै काठमाडौं जाने छोटो दुरीको मार्ग भएर संचालन हुने साना सवारीसाधन बिहानैदेखि बैकल्पिक सडक प्रयोग गरेर चलिरहेका छन् । पहिरोका कारण विभिन्न स्थानहरुमा यातायात अवरुद्ध हुने गरेको छ ।

शनिबार मात्रै जिल्लाको त्रिभुवन राजपथ अन्तरगत पर्ने भीमफेदी गाउँपालिका वडा नमवर २ स्थित बाह्रघुम्तीमा माथिबाट सुख्खा पहिरो खसेर करिब ६ घण्टा यातायात अवरुद्ध बनेको थियो ।