‘संगीतमार्फत् समाजलाई जागृत गराउन खोजेका हौँ’

तु खबर संवाददाता
२०७९ कार्तिक ८,मंगलवार १४:३२
गायक तथा संगीतकार घनश्याम ढकाल

मकवानपुर । नेपाली सांगीतिक क्षेत्रमा झण्डै तीन दशकको अनुभव संगालेका घनश्याम ढकालले स्वदेश गीत ‘जाग जाग’ बजारमा ल्याएका छन् । लक्ष्मी पुजाको दिन पारी सो गीत वनएमबी प्लस नामक युट्यूब च्यानलमार्फत् सार्वजनिक गरिएको छ । २०५१ सालबाट सांगितिक क्षेत्रमा औपचारिक प्रवेश गरेका ढकालको संगीतप्रतिको मोह आज पनि उस्तै छ । उनी आफुले आर्जन गरेको सांगीतिक ज्ञान अरुलाई पनि बाँड्न अहोरात्र खटिइरहन्छन् ।

ढकाल हेटौंडाकै बोर्डिङ स्कुलमा म्यूजिक टिचरको रुपमा जागिरे छन् । उनी दिउँसो बालबालिकाको कलिलो स्वरमा संगीत भर्छन् र साँझ विहान कलाकेन्द्रमा संगीत सिकाउँछन् । यो उनको दैनिकी हो ।

२०२९ फागुन २ गते रुद्रनारायण ढकाल र सावित्री ढकालको सन्तानको रुपमा चौघडामा जन्मिएका उनले बाल्यकालमा आर्थिक विपन्नता झेले । बाल्यकालदेखि नै संगीतप्रतिको उनको रुचीलाई अभावको कालो बादलले ढाक्यो ।

रेडियोमा पुराना लोकगीतहरु बज्थ्यो, घरमा रेडियो थिएन, ढकाल गाउँमा रेडियो कहाँ बजेको छ, उतै लाग्थे । २०५१ बाट भने उनी वरिष्ठ संगीतकार भोला जोशीसँग संगीतको औपचारिक शिक्षा लिन थाले । ढकालले सांगीतिक ज्ञान आर्जनका लागि ठूलो संघर्ष झेलेका छन् । हामीले हिजो मात्रै सार्वजनिक भएको स्वदेश गीत र उनले संगालेका अनुभवबारे केही जान्ने प्रयास गरेका छन् । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सम्पादित अंश ।

सवालः जाग जाग बोलको स्वदेश गीत सार्वजनिक गर्नुभयो, गीतले दिने सन्देश के हो ?

जवाफः सर्वप्रथम त म तु खबर डटकमलाई धन्यवाद दिन चाहान्छु । हामीले हिजो मात्रै ‘जाग जाग’ बोलको स्वदेश गीत बजारमा ल्याएका छौँ ।
मेरो आदरणीय गुरु स्वर्गीय भोला जोशीको संगीत र आदरणीय गीतकार शम्भुप्रसाद बाँस्कोटाको शब्दमा म र मसँगै संगीत सिकिरहनुभएका नवगायकहरुको आवाज सो गीतमा सुन्न सकिन्छ ।  रचनाकारले गीतको प्रत्येक शब्द– शब्दमा राष्ट्रियता झल्काउन खोल्नुभएको छ । देशमा विद्यमान बेथिति, विसंगती र कुरितीविरुद्ध अब जाग्ने बेला भयो, भन्ने सन्देश हामीले प्रवाह गर्न खोजेका हौँ ।

बेरोजगारीका कारण लाखौँ युवा तथा वौद्धिक वर्ग विदेश पलायन हुनुपरिरहेको सन्दर्भमा अब जागौँ, केही सकारात्मक गरौँ भन्ने उर्जा सबैमा जागृत होस् भन्ने हामी चाहान्छौँ । फुटेर होइन जुटेर मात्रै विकास सम्भव हुन्छ । एकतामा नै बल हुन्छ भन्ने गीतको सन्देश हो । गीतमा नवगायक बलराम पुडासैनी, युवराज लामा, पुस्कर नेपाल, नवगायिका संगीता मगर, रोजिना बल, पुनम थापा मगरले आवाज स्वरांकन गर्नुभएको छ । सबैले सुनेर, हेरेर प्रतिक्रिया दिनुहुनेछ भन्ने विश्वास लिएका छौँ ।

सवालः बजारमा नयाँ–नयाँ गीतहरु आइरहेका छन् । स्रोता, दर्शकको रुची स्वदेश गीतप्रति त्यति देखिँदैन नी ?

जवाफः हो, बजारमा नयाँ नयाँ गीतहरु आइरहेका छन् । स्वदेश गीत तडकभडक नहुने भएकाले यता मानिसहरुको अलि कम रुची भएको हुनसक्छ । तर, गीतले दिने सन्देश के हो भन्ने कुरा महत्वपूर्ण हुन्छ । त्यसलाई मनन गर्दा सकारात्मक भावना जागृत भएर आउँछ । हामीले दिन खोजेको सन्देश पनि यही हो ।
आम स्रोता तथा दर्शकलाई स्वदेश गीतप्रति रुची जगाउँदै लैजाने र समाजमा कही सकारात्मक गर्न सकिन्छ की भन्ने चिन्तन सबैमा विकास होस् भन्ने हामी चाहान्छौँ ।

सवालः लामो समय सांगितिक क्षेत्रमा बिताउनुभयो , विगत र वर्तमानलाई कसरी विश्लेषण गर्नुहुन्छ ?

जवाफः त्यतिबेला संगीतलाई सबैले बुझिसकेको अवस्था थिएन, गीत सुन्न चाँही सबैलाई मनलाग्ने । तर, आफ्नै घरको सदस्य चाँही यो क्षेत्रमा आवद्ध नभइदिएहुन्थ्यो भन्ने खालको सोचाइ हावी थियो । अहिले केही परिवर्तन भएको जस्तो लाग्छ । मेरो सन्दर्भमा भन्नुपर्दा परिवारले सहयोगकै भावना राखेपनि आर्थिक अवस्थाका कारण समस्या थियो । संगीत सिक्न पैसा नहुने, धेरै पटक गुरुले छुट पनि गरिदिनुभएको थियो । कहिलेकाँही सरसापट गरेर चलाउँथे ।

नेपालको पहिलो बाध्य शिरोमणी गणेशलाल श्रेष्ठको चेला स्वर्गीय भोला जोशीसँग मैले २०५०/०५१ संगीत सिक्न थालेको हुँ । उहाँसँग मैले निरन्तर नभएपनि लगभग ७ वर्षजति संगितको शिक्षा लिन पाएको छु ।  म गायन तथा बाध्यबाधनतर्फ  विशेषगरी हार्मोनियम बजाउँछु । आदरणीय गुरुको देहावसान हुनुभन्दा ३ महिना अघिसम्म पनि म उहाँसँग सिकिनैरहेको थिएँ ।

अहिले दिउँसो बालजागृती बोर्डिङ स्कुलमा बालबालिकाहरुलाई संगीत सिकाउँछु । साँझ, विहान शुभारम्भ कलाकेन्द्रमा सिकाउँछु । २०५७/०५८ तिर हेटौंडाकै उद्योगमा काम गर्थेँ । उद्योगले बिदा नदिने, एउटा कार्यक्रममा गीत गाउन जान मन लागेको थियो । त्यसपछि मलाई गुरुले मकवानपुर सांस्कृतिक कलाकेन्द्रमा आवद्ध हुन सुझाव दिनुभयो । कलाकेन्द्रका संस्थापक अध्यक्ष आदरणीय प्रविन्द्र महर्जनलगायतको सहयोगमा मैले कलाकेन्द्रमार्फत् आफ्नो सांगितिक यात्रालाई अघि बढाउँदै लगेँ ।

२०६४ तीर काठमाडौँमा ठेलामा जुत्ताचप्पलको ब्यापार सुरु गरेको थिएँ । गीत गुनगुनाउँदै गर्दा नगर प्रहरी आएको थाहा नै पाइनछु । ७ सयजतिको सामान थियो । ११ सय जरिवाना तिर्नुपर्यो । यी घटनाहरु सम्झँदा अहिले मेरो जीवन केही सहज भएको छ । अहिले पनि सांगितिक क्षेत्रमा चुनौती भनेको आर्थिक अवस्था नै हो । मन लागेको गित रेकर्ड गर्न समस्या हुने, त्यसलाई प्रोमोशन गर्न खर्चिलो हुने अवस्था छ ।

सवालः तपाईंको कुन–कुन गित बजारमा आएका छन् ?

जवाफः २०६१ सालमा ५/७ वटा राष्ट्रिय गीत गरेको थिएँ । त्यतिबेला मनकामना एफएम स्टेशन थियो । जन्मेँ हिमालको काँखमा, हाम्रो धर्म छुट्टै छ हाम्रो कर्म छुट्टै छ लगायतका गितहरु रेकर्ड भएका थिए । त्यतिबेला एफएमले प्राथमिकताका साथ प्रशारण गथ्र्यो । त्यतिबेला प्रविधिको विकास त्यत्ति भइनसकेको कारण रेकर्ड भएका गीतहरु सुरक्षित गरेर राख्न भने सकिएन । केही आधुनिक गीतहरु पनि गरेको थिए । भोला सरकै पीरती तिमीले लाइदियौ, विश्वास घात गर्नेको माया किन लाग्दछ बोलको गीत गाएकोे छु ।

कोरोना न्यूनिकरणको सन्दर्भमा मैले जनचेनतामुलक गीत रेकर्ड गरेको थिएँ । कोरोना न्यूनिकरणमा हामीले पनि केही गर्न सक्छौँ की भन्ने लागेर । मकवानपुरगढी दरबारको ऐतिहासिक पक्ष झल्कने गरी गढीको दरबार भन्ने गीत रेकर्ड गरेँ । त्यो गीतमा मकवानपुरका अन्य पर्यटकीय एवम् धार्मिक गन्तव्यको चर्चा गरिएको छ । ३ वर्ष अघि ओपेरा इन्फोटेन्टमेन्ट सिने प्रालिबाट रेकर्ड गरिएको त्यो गीतको लिरिकल भिडियो यूट्यूबमा छ ।

२०६० साल मंसिर १९ गते स्वर सम्राट नारायण गोपालको १४ औँ स्मृति दिवसको अवसरमा मकवानपुर सांस्कृतिक कला केन्द्रले आयोजना गरेको एकल गायनमा मैले प्रस्तुती दिएँ । त्यस्तै २०६१ जेठ २३ गते देशमा शान्तिको कामनासहित एक गायन कार्यक्रममा राष्ट्रिय गीतहरु गाएँ । २०६३ मा साहित्यकार शम्भुप्रसाद बाँस्कोटा सरकै रचना र मेरो स्वरमा रहेको ८ वटा गीतको क्षितित नामक क्यासेट बजारमा आएको थियो ।

२०५५ मा पिप्लेपोखरा सामूदायिक वनको आयोजनामा भएको जिल्लास्तरीय लोकगित प्रतियोगितामा आफ्नै शब्दको गितले प्रथमस्थान हासिल गरेको थियो । मलाई पत्रकार आदरणीय गिरिजा अधिकारीलेज्यूले सचालन गर्नुभएको साम साप्ताहिक र रानी सामुदायिक वनले सम्मान पनि गरेको छ ।

भोला सरसँग सिकेको कुराहरुलाई त्यहाँ प्रस्तुत गर्ने कार्य गर्थेँ । त्यहाँ मेरा धेरै अग्रजहरु हुनुहुन्थ्यो, पूर्ण विक्रम अधिकारी, गौरव केसी, समकालिन साथीहरुमा राम कार्की, उमेरले भाई तर मलाई माया गर्ने तुलसी गौतम, उहाँहरुले मलाई धेरै प्रेरणा दिनुभयो । रामशरण सापकोटा (खरानी) सरले पनि मलाई निकै प्रेरणा दिनुभयो । उहाँ अहिले स्वर्गीय हुनुभएपनि म सम्झिरहन्छु ।

सवालः यहाँको आगामी योजनाबारे जानकारी गराउँदै नयाँ पु्स्तालाई दिन चाहेको सुझाव बारे बताइदिनुहोस् न ?

जवाफः आगामी दिनमा पनि यसैगरी सिक्दै सिकाउँदै अघि बढ्नेछु । संगीतबाट आफ्नो देश र समाजमा केही राम्रो नजिर स्थापना गर्न सकिन्छ कि भन्ने प्रयासमा रहनेछु । समाजमा चेतना फैलाउने, अभियानमा निरन्तर रहनेछु ।

नयाँ आउने पुस्तालाई सकेसम्म आफ्नो साधन स्रोतले भ्याएसम्म औपचारिक शिक्षालाई जोड दिँदा राम्रो हुन्छ भन्न चाहान्छु । संगीतमा पनि भविष्य छ, तर, तपाईंले सिक्नुपर्यो, संगीत सिक्नकै लागि उमेरको हदबन्दी हुन्छैन । इच्छाशक्ति, निरन्तरताका साथै आफुमा कला पनि भएको हुनुपर्छ भन्ने लाग्छ ।

अन्तमा के भन्न चाहानुहुन्छ ?

जवाफः संगीतमा लाग्नु नराम्रो होइन । लागौँ, सिकौँ संगीतमा लाग्नेलाई सत्प्रेरणा मिलोस् । हाम्रो भर्खरै सार्वजनिक भएको जाज जाग जाग जाग जाग नेपाली हो उन्नतीमा लाग बोलको गीत सबैले सुनेर, हेरेर प्रतिक्रिया दिनुहोला । यहाँहरुको सुझावले हामीलाई हौसला मिल्नेछ । संगीतमा निरन्तर लाग्ने प्रण गर्दै मेरो धारणाहरु राख्ने अवसर दिनुभएकोमा तु खबर डटकम परिवारप्रति आभार व्यक्त गर्दछु ।