एक झरनामा नुहाएका तीन मधेसी
अनियमित होइन र तर नियमित पनि होइन । यसै गरी नियमित होइन तर अनियमित पनि होइन ।
मकवानपुरे साहित्यिक पत्रकारितामा पर्यायवाची लाग्ने झरना साहित्यिक पत्रिको सन्दर्भमा भन्न खोजिएको हो । मकवानपुरमा सबैभन्दा लामो समयदेखि प्रकाशन भइरहेको साहित्यिक पत्रिका झरना नै हुनुपर्छ । अब यस पत्रिकाले तिसौँ वर्षमा पाइला टेकेको छ । यो ज्यादै ठूलो समय हो तर प्रकाशित अंकको दृष्टिकोणले पनि खासै धेरै अंक प्रकाशन हुन नसकेको यथार्थ हो ।
अनियमित/नियमित र नियमित/अनियमित प्रकाशनरत झरना साहित्यिक पत्रिकाले अब ४० औँ अंकको तयारी गरिरहेको हुनुपर्छ । यस पत्रिकालाई प्रकाशित गर्नुपर्छ र गरिरहनुपर्छ भन्ने चाहनाको मात्र अभाव छ । बाँकी सबै तारतम्य मिलिरहने अवस्था छ तर पनि प्रारम्भमा दुईपाने नै सही त्रैमासिक रुपमा प्रकाशन भइरहेको थियो, त्यसरी हुन सकेको छैन कुनै निश्चित आवधिक सीमामा । त्रैमासिक नहुँदा चौमासिक वा अद्र्धवार्षिक नै सही तर यस प्रकारको आवधिक प्रकाशन दृढताको अभाव छ ।
वर्तमान सम्पादकीय टोलीमा पत्रिकालाई ओगटेर राख्नुपर्ने मोह छ वा साँच्चै व्यवधानका अगाडि घुँडा टेक्नैपर्ने बाध्यता छ तर कुनै कारण नै नभई पत्रिका नियमित पनि हुन नसकेको र अनियमित पनि हुन नसकेको वार्तमानिक परिवेशले साहित्यिक क्षेत्रमा पुग्नुपर्ने योगदान चाहिँ पछाडि परिरहेको छ । साँच्चै झरनाले यदि मूल्यांकन गर्ने हो भने पातलै हुँदा पनि नियमित हुँदा र मोटो भएर पनि अनियमित हुँदामा साहित्यिक योगदान कुनले बढी दिएको हुनुपर्छ ? नियमितताको अगाडि अनियमितता टिक्न सक्दैन ।
साहित्यिक पत्रिकाको सम्पादक आलंकारिक हुन सक्दैन । यो पद त निरन्तर युद्धमा खटिइरहने कमान्डर योद्धाको हो र हरेक अंक हरेक मोर्चा बराबर हुन्छ । एउटा मोर्चा जित्नासाथ अर्को मोर्चाको युद्धारम्भ हुन्छ । अंक प्रकाशन भन्नु चाहिँ विजय हुनु हो र प्रकाशित अंकको व्यवस्थापन चाहिँ विजयोत्सव हो । पत्रिकाका प्रकाशनको मूल्य प्रेसलाई तिर्न सक्नु पारितोषिक हो । यश–अपयश जति सबै तपसीलका कुरा हुन् । यदि समयमा पत्रिका कुनै पनि कारणले निक्लिन सकेन भने हारेको हो ।
सन्दर्भ अलिक पुरानै छ ।
केही समयको व्यवस्थान गर्नुपर्दा झरनाको एउटा अंक निकाल्छु र हेर्न थाल्छु ।
गद्य रचनाहरुलाई पहिले सिध्याउँछु । पद्य रचनाले पनि अलिकति समय लिन्छ । साँच्चै धेरै लेखिने तर निकै कम पढिने कविता हो भन्ने यथार्थलाई मैले लागू हुन दिइनँ । सबै पढेर सिध्याएँ । अलिकति समय मात्र थियो, पढ्न बसेको थिएँ तर जसको लागि समय निकालेको थिएँ, उनी समयमा नआइपुग्दा पत्रिकामा पढ्नुपर्ने कुरा केही बाँकी रहेन ।
पत्रिका पढेपछि लेख्न मन लागेको कुरा चाहिँ लेखिहालेँ । मेरो हातमा रहेको पत्रिका (झरना ३६) लाई थन्क्याएँ ।
अबेर राति फेरि लेख्न मन लाग्यो । कम्तीमा यस पत्रिकामा प्रकाशित केही रचनाको विषयमा चर्चा गर्नु उचित हुन्छ । पढेको सान्दर्भिकता देखिन्छ । पत्रिका पो पुरानो भयो त । रचना त पुराना हुँदैनन् नि ।
यस अंकमा झरनाले तीन मधेस प्रदेशी÷मधेसीको रचना प्रकाशित गरेको छ । आदरणीय निर्मोही व्यासलाई यहाँ मधेस प्रदेशी मानिएन ।
झरना ३६ मा मधेस प्रदेशवासी राम उदित, सञ्जय सुदामा र लीलाराज दाहालका रचना प्रकाशित छन् । उदित र सुदामाका कविता छन् भने दाहालका गजल र पद्यात्मक दृष्टिकोणले हेर्ने हो भने सुदामाको छन्दोबद्ध रचना हो भने गजल स्वाभाविक आफ्नै छन्दमा हुन्छ र उदितको रचना मुक्त छन्दमा छ । राम उदित रौतहटका हुन् भने सञ्जय सुदामा र लीलाराज दाहाल सर्लाहीका । एउटा संयोग नै मान्नुपर्दछ कि सर्लाही र रौतहट नेपालको भाषाको नक्सामा बज्जिका मातृभाषी सबैभन्दा बढी रहेको जिल्ला हुन् । बज्जिका मातृभाषी बहुल जिल्लाका सर्जकहरु मात्र यस अंकमा परेका छन् मधेस प्रदेशबाट ।
पहिलो रचना हो – युद्ध । कवि राम उदितले युद्धको विगत, वर्तमान र भविष्यलाई खोतलेका छन् । आदिमयुगमा हाम्रा पितापुर्खाले अस्तित्व जोगाउन थालेको युद्ध अहिलेसम्म विभिन्न कारण तथा उद्देश्य युद्ध गर्नुपरिरहेको तथा आगम दिनमा पनि सन्तानहरुले गरिरहनुपर्ने बताएका छन् । आफूहरुले अर्थात् वर्तमान पुस्ताले पनि युद्ध लडिरहेको बताइएको छ । हरेक युद्धको महत्व रहेको र हरेक युद्धले विशेष परिणति दिएको बताइएको यस कविताको अन्त्य … … बाट भएकोले भविष्यमा यस्ता कैयन् युद्धहरु लडिरहनुपर्ने संकेत समेत गरिएको छ । यस कवितामा आएको अन्तिम युद्ध जुन आज म पात्र लडिरहेको छ, यस युद्धमा अलिकति असन्तुष्टि पनि भेटिन्छ ।
दोस्रो रचना हो – सुवसन्त । कवि सञ्जय सुदामाको यस रचनाले आफ्नै परिवेशमा रचित शास्वत सत्यलाई अंगीकार गरेको छ । तोटक छन्दमा लेखिएको यस कवितामा वसन्तको मधेसी प्रकृतिलाई बडो सुन्दर चित्रण गरिएको छ । सुवसन्तको सम्पूर्ण सुवासलाई यस कविताले आफूमा अटाएको छ । यो यथार्थवादी कविता हो । तेस्रो चरना हो – गजल । गजलकार हुन् लीलाराज दाहाल । गजलकार दाहालले यस गजलमा उपदेशात्मक शैली अपनाएका छन् । भाइलाई उपदेश दिने किसिमले आफ्ना कुराहरु राखेका छन् । गजलको हरेक शेरमा फरक विषयवस्तु राखिनु स्वाभाविक हो । वर्तमान गजलले परम्परागत विषय वर्णनलाई छोडिसकेको छ । गजलकार दाहालले जीवनका जटिल सन्दर्भहरुलाई सरल तरिकाले सुझावमार्फत पस्केका छन् ।
झरनाको एक अंकमा प्रकाशित मधेस प्रदेशका रचनाहरु स्तरीय छन् । झरनालाई स्तरीय बनाउन यी रचनाहरुले योगदान दिएका छन् । तीन रचनामध्ये पहिलो कविताको विषयवस्तुको उठान विश्वव्यापी परिवेश हुँदै आञ्चलिकतामा आएको छ भने दोस्रो रचना आञ्चलिक परिवेशमा नै केन्द्रित छ तथा तेस्रो रचनाले सर्वकालिक तथा सार्वजनिन विषय र परिवेशलाई भावभूमि बनाएको छ । यसरी मधेस प्रदेशका तीन रचनाको आफ्नै विशिष्टता रहेको छ ।
झरना अब निश्चित आवधिक प्रकाशन बन्न सकोस् । गाउँपालिकाको निरन्तर सहयोग पाइरहेको, पाँच दर्जनभन्दा बढी आजीवन सदस्य भइसकेको, करिब पाँच दर्जन विशिष्ट आजीवन सदस्य रहेको, हरेक अंकमा पर्याप्त विज्ञापन प्रकाशन भइरहेको तथा एक लाख रुपैया नगद राशीकै पुरस्कार प्राप्त गरिसकेको संस्थाको प्रकाशन रहेको सन्दर्भहरुले अब झरनाको व्यवस्थापन मात्र सहज बनाउनुपर्ने आवश्यकता रहेको देखिन्छ । वर्षमा चार अंक प्रकाशन गर्ने जोश र रचना चयनमा यसै गरी होस देखाओस् । पत्रिकाले देशमा जुन सम्मान प्राप्त गरेको छ, ओझेलमा नपरोस् ।