नयाँ अनुहार ‘खुट्टी देख्दै चाल पाइयो’
आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका कारण माहौल गर्माएको छ । सबै उम्मेदवारहरु आफूले जित्ने ग्यारेन्टी गर्दै घरदैलो र प्रचाप्रसारमा लागिपरेका छन् । नागरिकहरू आफ्ना प्रतिनिधि चुन्न आतुर छन् । उम्मेदवारको पक्ष विपक्षमा चियाचोकहरुमा वाद विवाद र छलफल चलिरहेको छ । कुन उम्मेदवार कति पानीमा छन्, कुन उम्मेदवारको के कुरा राम्रो के नराम्रो बहस चलिरहेकै छ ।
विश्लेषकहरु आआफ्ना विश्लेषण प्रस्तुत गरिरहेका छन् । कोही स्थानीय तहको निर्वाचनको मत परिणामलाई आधार मानेर चुनावी विश्लेषण पस्किरहेका छन् भने कोही विगतको हिसाब किताब नमिल्ने प्रतिक्रिया दिँदै आइरहेका छन् । राजनीतिक दल र त्यसका तर्फबाट उम्मेदवार भएकाहरु आफ्ना आफ्ना चुनावी एजेण्डा तय गर्न व्यस्त छन् । स्वतन्त्र उम्मेदवारहरुले पनि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरिरहेका छन् ।
नागरिकहरु यसअघि प्रतिनिधिसभा र प्रदेशसभामा नपुगेका र पहिलो पटक उम्मेदवार भएकाहरुको एजेण्डा बुझ्न खोजिरहेका छन् । खासमा नयाँ भनिएका उम्मेदवारहरुले पनि कुनै नयाँ योजना अघि सार्न सकिरहेका छैनन् । उनीहरु आफ्ना प्रतिस्पर्धीहरुको विरुद्ध लागीगलौजमा उत्रिने र अरुलाई गाली गरेर आफ्नो पक्षमा मौहौल चम्काउने प्रयास गरिरहेका पाइन्छन् ।
सारमा पुरानै ढर्रामा यसपालीको निर्वाचनको गति अघि बढीरहेको छ । सामाजिक सञ्जालहरुमा केही नयाँ अभियान चलेको बाहेक निर्वाचनमा नयाँ योजना र कल्पना सुन्न पाइएको छैन । हिजोका उम्मेदवारका एजेण्डा जे थिए त्यही सारेर आज आउनेहरुले सुनाइरहेका छन् । अपवादबाहेक ‘नयाँ’ भनेर गफ दिनेहरु जनताले चाखिसकेका ब्राण्डजस्ता छन् । उनीहरुमा पुरानाका जति पनि धैर्य र भिजन देख्न पाइएको छैन । पुरानाले जे गरे नयाँ त्यो भन्दा पनि अधोगतिको देखिन्छ । व्यक्ति रुपरंग र अनुहारले नयाँ होला, उसका शैली र आचरण पुरानाभन्दा पनि गएगुज्रेको देख्नु यो टिप्पणीकारको दोष होइन, वास्तविकता हो ।
अहिले निर्वाचनमा उम्मेदवार बनेकाहरु हिजोदेखि नै यही समाजमा रही बसेकै मानिसहरु हुन् । उनीहरुबारे नागरिक जानकार छन् । उनीहरुले समाजका लागि केही उल्लेख्य योगदान दिएका छन् भने त्यो सार्वजनिक हुन सकेको पाइदैन । उनीहरु अहिले किन उम्मेदवार बनेका हुन्, यसको जवाफ पाउन सकिएको छैन ।
राजनीतिक दलको तर्फबाट उम्मेदवार बन्ने अनि आफू स्वतन्त्र हुँ भनेर झुट बोल्नेहरुले चुनाव जिते भने कति क्विन्टल झुट बोल्छन् होला, अहिले नै अनुमान लगाउन सकिन्छ । म यो राजनीतिक दलको तर्फबाट उम्मेदवार भएको हुँ, म निर्वाचित भएमा यी कामहरु गर्ने योजना बनाएको छु भनेर मतदाताका अघि उभिन नसक्ने उम्मेदवारहरु असल नियतका हुन् भनेर मान्न सकिँदैन । उनीहरु केबल निर्वाचन जित्न प्रयत्नशील छन् र जीतपछि उनीहरुले आफ्नो स्वार्थ पूरा गर्न जस्तो सुकै गलत काम गर्न सक्छन् भनेर मान्नुपर्ने अवस्था उनीहरुको क्रियाकलापहरुले पुष्टि गरिसकेको छ । आज सानो कुरामा झुटो बोल्नेहरुबाट भोलिको समुन्नत र गतिशील राष्ट्र निर्माणमा प्रतिवद्ध भएर लाग्छन् भनेर मानिदिन सकिँदैन ।
हिजोका पुराना हामीले भोगेकै हो । आज ‘नयाँ’ भनेर मार्केटमा आएकाहरुको ताल यिनका गतिविधिले छर्लङ्ग पारिरहेको छ । केही अपवाद होलान्, नत्र यी नयाँका अनुहार ‘खुट्टी देख्दै चाल पाइयो’ भन्ने खालको छ । आम नेपालीले अपेक्षा गरेका ‘नयाँ’ अहिले देखिएका उम्मेदवारहरु होइनन् । ठ्याक्कै हामीले खोजेको नयाँ उम्मेदवार त भिजन भएको इमान्दार व्यक्ति हो, जसले साँच्चै ‘नयाँ’ बनाउन सकोस् । एकाध बाहेक अरु सबै तर मार्न आएका अवसरवादी हुन्, जो संग खुद नयाँ सोच छैन, नयाँ विचार छैन, नयाँ कार्यशैली छैन । यिनका प्रचार शैली पुराना, यिनका कार्यशैली पुराना, यिनका सोच हामीले सोचेभन्दा धेरै पुराना अझ भनौ डेटस्पायर खालका छन् । यस्ता ‘नयाँ’ लाई मत दिएर कुनै ‘नयाँ’ चिज बन्छ होला त ?