कर्णालीमा एक महिनाअघि बेपत्ता भएका १९ जना अझै भेटिएनन्
मकवानपुर । कर्णालीमा गत असोज १९ गतेदेखि एक सातासम्म परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परेर बेपत्ता भएका १९ जना अझै फेला नपरेको कर्णाली प्रदेश आन्तरिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।
दशैँको समयमा बाढीपहिरोमा परेर बेपत्ता भएका १९ जना अझै नभेटिएका हुन् । बेपत्ता हुनेहरुमा कालिकोटका मात्रै १६ जना छन् । उनीहरू मलामी गएका बेला माथिबाट खसेको पहिरोमा परी बेपत्ता हुन् । यस्तै, बेपत्ता हुनेमा दैलेख, डोल्पा र जुम्लामा १/१ जना छन् ।
कर्णाली प्रदेश आन्तरिक मामिला तथा योजना मन्त्रालयका अनुसार, पहिरोमा परेर ४० जनाको मृत्यु भयो । जसमा जुम्लामा १०, कालिकोटका ७, दैलेखका १, जाजरकोट ४, सल्यान ३, डोल्पामा १, हुम्लामा ८ र मुगुमा ८ जना रहेका छन् ।
बाढी पहिरोले ५ हजार ८०९ घरधुरी विस्थापित भएका छन् । कालिकोटमा ७ हजार ४१८, मुगुमा ५ हजार २२८ हुम्लामा ३ हजार २८६ परिवार विस्थापित भएका छन् । २ हजार २३४ घर पूर्ण रूपमा क्षति भएका छन् भने २ हजार ६६२ घर आंशिक रूपमा क्षति भएको मन्त्रालयले जनाएको छ । प्रदेश भर २२ वटा विद्यालयमा आंशिक रूपमा बाढी पहिरोले क्षति पुगेको छ ।
स्वास्थ्य संस्था, कृषि तथा पुलको क्षतिको विवरण भने अहिलेसम्म संकलन गर्न नसकिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । साथै, सो अवधिको विपद् परी दुई सय ७३ वटा चौपाया मरेका थिए ।