जग्गा व्यवसायीहरुले हेटौंडा उपमहानगरको सेवा प्रवाहमा अवरोध गरे पक्राउ गर्छौँ: सीडिओ पाण्डे

तु खबर संवाददाता
२०७९ कार्तिक २३,बुधबार ०८:३१
file-photo

हेटौंडा । मकवानपुरका प्रमुख जिल्ला अधिकारी (सीडिओ) राजेन्द्रदेव पाण्डेले हेटौंडा उपमहानगरपालिकालाई अनुचित दबाब दिने जग्गा व्यवसायीहरुको समूहलाई कानून बमोजिम कारबाही गर्ने बताएका छन् ।

तु खबरसँग कुराकानी गर्दै पाण्डेले भने, ‘हेटौंडा उपमहानगरमा जग्गा व्यवसायीहरुले अनुचित दबाब दिने र उपमहानगरबाट प्रवाह हुने अन्य सेवामा अवरोध गरिरहेको विषयमा गुनासो आएको छ । हामी उहाँहरुलाई रोक्छौँ, हुलदंगा गर्ने, सेवा अवरुद्ध पार्ने गतिविधि उहाँहरुबाट भए पक्राउ गरी कारबाहीको दायरामा ल्याउँछौँ ।’

जग्गा व्यवसायीहरुले तत्काल जग्गाको वर्गीकरण सम्बन्धी निर्णय गरेर नापी र मालपोत कार्यालयमा पत्राचार गरिदिनु भन्दै उपमहानगरपालिकालाई दबाब दिइरहेका छन् ।

उपमहानगरपालिकाले भने, निर्वाचन आचारसंहिता जारी भइसकेको अवस्थामा नीतिगत निर्णय गर्न नमिल्ने जनाएको छ ।

‘निर्वाचनपश्चात सो विषयमा आवश्यक अध्ययन गरी, मापदण्ड के छ, बुझेर विधी प्रक्रिया अनुसार मिल्ने रहेछ भने, निर्णय गर्छौँ,  कसैले धम्की दिएको भरमा निर्णय हुँदैन ।’ उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले भने ।

यस विषयमा मकवानपुरका मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले निर्वाचन आचारसंहिताका कारण अहिले स्थानीय सरकारले गरेको नीतिगत निर्णयले मतदातालाई प्रत्यक्ष प्रभाव पर्ने भएकाले नीतिगत निर्णय गर्न नमिल्ने बताए ।