कौशल पाण्डेसित भेट र मेरो पहिलो लेख
आदरणीय कौशल पाण्डेसित मेरो निकै लामो उठबस रहेको हेटौँडाले देखेको छ । हेटौँडामा एक युग बिताउँदा प्रत्यक्ष र परोक्ष कौशल पाण्डेको छत्रछाँयामा थिएँ । मेरो हेटौँडाका अभिभावक हुनुहुन्थ्यो । धेरै दुःख र सुख उहाँको सान्निध्यमा देखे र भोगेको छु ।
२०५० मा म हेटौँडा पुगेको हुँ । ११ नम्बर वडाको सरस्वती खोलाको सरस्वती टोलमा आदरणीय काजीबहादुर लामिछानेको घरमा बस्न पुगें । सानोपोखरामा रहेको पुष्पलाल स्मृति पुस्तकालय भवनको निर्माण कार्य लामिछानेले नै गराउनु भएको हो । सरस्वती खोलाबाट बिहान मकवानपुर बहुमुखी क्याम्पसमा पढ्न आउँथें । कौशल पाण्डे सरको घर पनि त्यहीँ नजिकै थियो । मेरो बसाईँभन्दा करिब पाँच मिनेट लाग्थ्यो । म सरस्वती खोलामा हुँदा नै सहिद स्मारक बन्न सुरु भएको हो । सहिद स्मारक बन्नुपूर्व त्यो ठाउँ कस्तो थियो भन्ने कुरो मेरो स्मृतिमा ताजै छ ।
चन्द्रनिगाहपुर (कप्तानटोल)का कृष्णप्रसाद घिमिरे र मेरो बुबा साथी हुनुहुन्छ । घिमिरे बुबाका आफन्तको हुनुहुन्थ्यो काजीबहादुर लामिछाने । सरस्वती खोलामा काठको दुईतल्ले घर कौशल सरको थियो । त्यहाँ मैले देखेको – कौशल सरको जति सम्मान कसैको थिएन ।
सरस्वती खोला पुग्नुभन्दा पहिले अर्थात् मकवानपुर बहुमुखी क्याम्पसमा पुग्नुभन्दा केही पहिलेदेखि म समाचार लेख्न सुरु गरिसकेको थिएँ । जहाँ मन लाग्यो, पठाउँथे । कतै कतै छापिन्थ्यो पनि । कुनै पनि पत्रिकामा चिनजान थिएन र कसैले गराएको पनि होइन । पत्रिकामा रहने गरेको ठेगानामा नै हुलाकमार्फत समाचार लेखेर पठाउँथे । त्यत्तिवेला साप्ताहिक पत्रिकाको जमाना थियो ।
कौशल सरलाई कहिलेकाहीँ सर र कहिलेकाहीँ काका भनेर बोलाउँथें । काकाभन्दा सर नै भनेको मन पथ्र्यो उहाँलाई । मलाई पनि सजिलो ।
उहाँको घरमा पुग्दा सबैभन्दा पहिले मेरो आँखा पुग्थ्यो अखबारमाथि । प्रयास साप्ताहिकको सम्पादक हुनुहुन्थ्यो । उहाँको परिचयमा शिक्षक र पत्रकार जोडिएको थियो । उहाँलाई भेट्न मानिसहरु आइरहन्थे ।
श्यामप्रसाद शर्मालाई पहिलोचोटि उहाँकै घरमा देखेको हुँ २०५० मंसिरमा । पहिलेदेखि नै अलिअलि लेखिरहेको थिएँ । हिन्दी फिलिमको प्रभाव र हिन्दी गीतको शैली थियो । यद्यपि वामपन्थी पुस्तिकाहरु खूब पढ्थें । वापमन्थी पत्रिका र पुस्तक पढ्ने बानी २०४६ देखि नै परेको थियो । श्यामप्रसाद शर्माको नाम निकै पढेको थिएँ । अधिकांश पत्रिकाहरुमा पनि शर्माका लेखरचनाहरु आइरहन्थ्यो । कौशल सरको प्रयास साप्ताहिकमा त हरेक अंकमा एउटा लेख आउँथ्यो नै ।
पैसा नतिरी पढ्न पाएको अखबार प्रयास साप्ताहिक हो । प्रयासको कार्यालय अहिलेको बुद्धचोक छेउमै थियो एउटा घरको माथिल्लो तलामा । पत्रिका भने लेटर प्रेसमा छापिन्थ्यो । त्यत्तिवेला काठमाडौँका अखबारहरु भने प्रेसबाट छापिन्थे तर हेटौँडामा अफसेट प्रेस भने आइसकेको थिएन । हेटौँडामा नियमित प्रकाशित हुने अखबार नै प्रयास साप्ताहिक थियो नै । अर्को थियो कुराकानी साप्ताहिक । हप्तामा यी दुई अखबारबाहेक फाट्टफुट्ट अन्य साप्ताहिक पनि प्रकाशित हुन्थे तर चल्तीका अखबार भने प्रयास र कुराकानी नै थिए ।
साहित्यमा कहिलेदेखि रुचि थियो, त्यो थाहा भएन तर सरस्वती खोलामा बस्न पुगेदेखि वा मकवानपुर क्याम्पसमा पढ्न थालेदेखि साहित्यिक कार्यक्रमको सूचना मुख्य गरी सूचना केन्द्रअगाडिको भित्तामा पढेपछि त्यहाँ पुग्थें । एउटा कविता भने अवश्य सुनाउँथें । कडा वामपन्थी पुस्तिका पढेको प्रभाव मेरो कवितामा हुन्थ्यो । कौशल सरलाई कविता सुनाउँथें । उहाँ भन्नु हुन्थ्यो – अलि कडा भयो ।
बुद्धचोकमा रहेको प्रयासको कार्यालयमा पनि निकै पुग्थें । त्यहाँ साहित्यकार तथा शिक्षकहरुको जमघट भइरहन्थ्यो । धेरै राम्रा र प्रतिष्ठित मानिसहरुसित त्यहाँ उठबस हुन्थ्यो । अनुहारले नै सही, धेरैलाई चिन्ने मौका त्यहीँ पाएको हुँ ।
मेरा समाचारहरु त पहिलेदेखि नै फाट्टफुट्ट छापिइरहेका थिए तर मेरो पहिलो लेख प्रयास साप्ताहिकमा कौशल सरले नै प्रकाशित गरिदिनु भएको हो । २०५२ वैशाख ८ गते मैले लेखेको “कलम र काम” शीर्षकको लेख प्रयास साप्ताहिकको २०५२ जेठ ११ गते विहीवारको अंकमा प्रकाशित छ । लेख सानो थियो । प्रकाशित लेखको पूर्ण अंश:
“सिद्धान्त र व्यवहार अथवा कलम र कामबीच वास्तवमा अन्योन्याश्रित सम्बन्ध भएको हुनुपर्छ र यसको लागि मान्छेले धेरै सोच–विचार गरेर मात्र अगाडि बढ्नुपर्छ । राम्रा काम गर्नेहरु वा गर्न खोज्नेहरु तथा राम्रा कामका कुरा मात्र गर्न खोज्नेहरु वा व्यवहारमा उतार्न नचाहनेहरुबीच एक आपसमा आगो र पानी जस्तै अथवा उत्तर र दक्षिण दिशा जस्तै नकारात्मक सम्बन्ध हुनु कुनै नौलो कुरा होइन । अर्को कुरा, राम्रा कुराको चर्चा गर्ने, राम्रा र चिल्ला नाराहरु दिने, जनतासामु भलाद्मीपनको व्यवहार गर्ने र स्वार्थपूर्ति यसै माध्यमबाट गर्न खोज्नेहरु तथा यस्ता कुनै पनि व्यवहारमा नल्याउनेहरु नराम्रा गफ गर्नेहरुभन्दा कैयौँ गुणा बढी खराब हुन्छन् जस्तो लाग्छ मलाई । सकेसम्म यस्ताबाट हामीले सधैँ अलग रहनु पर्दछ र आफूमै यदाकदा यस्ता प्रवृत्ति देखियो भने सुधार्न कोसिस गर्नुपर्छ । तर यदि यस्तै अरुलाई पनि सुधार्न खोज्ने, सुधार्नलाई प्रशिक्षण, तालिम, भाषण जस्ता कार्यक्रमहरुमा लगातार अटुट रुपमा भाग लिएर पनि आफूमै त्यस्तो कुनै सुधार व्यवहारमा देखाउन नसक्ने व्यक्तिहरु भने त्यसको बारेमा गम्भीर रुपमा नसोची होला त ?”
यत्ति हो, प्रकाशित मेरो पहिलो लेख । हुन त यो लेख अलिक लामो थियो तर प्रकाशित चाहिँ यत्ति भएको हो र यो नै मेरो जीवनको पहिलो प्रकाशित लेख हो । यसभन्दा पहिले लेखिएका केही लेख यस लेखभन्दा पछि प्रकाशित भएका हुन् तथा कतिपय लेखहरु प्रकाशन हुन सकेनन् वा प्रकाशन भए पनि मैले थाहा पाउन सकिनँ ।
आदरणीय कौशल पाण्डे सरले मलाई ठूलो गुन लगाउनु भएको छ । मलाई साहित्य र पत्रकारिताको क्षेत्रमा चिनाउन प्रयास साप्ताहिक र कौशल पाण्डेको ठूलो भूमिका छ । कौशल पाण्डे सरले नै मलाई कुराकानी साप्ताहिकमा पठाउनु भएको हो आदरणीय देवप्रसाद श्रेष्ठसित कुराकानी गरेर ।
मकवानपुरे पत्रकारिता तथा साहित्यको क्षेत्रमा कौशल पाण्डेको ठूलो योगदान छ । यस विषयमा वर्तमान मकवानपुरे साहित्य तथा पत्रकारिताले गम्भीरतापूर्वक विचार गर्नु आवश्यक छ । इतिहासलाई पनि जोगाउनु पर्छ । आदरणीय कौशल सरको योगदानलाई सम्झाइरहने गरी कुनै ठोस कार्य मकवानपुरले गर्न ढिलो गर्नु हुँदैन, अन्यथा अभिलेखीकरणको अभावमा विस्मृतिको पर्दाले धेरै तथ्य पनि छोपिँदै जान सक्छ ।