महेश बर्तौलाको चुनावी योजना : एक पालिका, एक आवसीय विद्यालय
मकवानपुर । नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभा – २ का उम्मेदवार महेश बर्तौलाले एक पालिका एक आवसीय विद्यालय बनाउनुपर्ने अवधारणा सार्वजनिक गरेका छन् । उनले सार्वजनिक गरेको चुनावी प्रतिवद्धतापत्रमा यस्तो अवधारणा अघि सारेका हुन् । बालबालिका घण्टौं हिँडेर विद्यालय जानुपर्ने र फर्कनु पर्ने बाध्यता हटाउने गरी उनले यस्तो अवधारणा सार्वजनिक गरेका हुन् ।
बर्तौलाले जारी गरेको सो प्रतिवद्धतापत्रमा युवाहरुको श्रमलाई उत्पादनसँग जोडेर स्वरोजगार बनाउने, लगानीमैत्री वातावरण निर्माण गर्ने, औद्योगिक पूर्वाधारको विकास गर्न आवश्यक नीति बनाउन दबाब दिने योजना उल्लेख छ ।
किसानले भोग्नुपरेका मल, बिउ, सिंचाई र बजारको समस्यालाई दिर्घकालिन समाधानको पहल गर्ने, प्रत्येकका घर घरमा पिउने पानीको पहुँच स्थापित गर्ने र एक गाग्री पानीकै लागि घण्टौ धाएर जानुपर्ने अवस्था अन्त्य गर्ने, मकवानपुरको स्वास्थ्य सेवालाई व्यवस्थित, गुणस्तरीय बनाउने लगायतका योजनाहरु बर्तौलाले आफ्नो प्रतिवद्धतापत्रमा व्यक्त गरेका छन् ।
बर्तौलाले अघि सारेका योजनाहरुमा सडक सञ्जाल र भौतीक पूर्वाधारको विकासलाई प्राथमिकता दिने, प्राकृतिक श्रोत साधनहरुलाई यस क्षेत्रको विकासका लागि परिचालन र व्यवस्थापन गर्ने, जलवायु परिवर्तन एंव वातावरणको संरक्षणको क्षेत्रमा नितिगत एंव कानुनी सुधार एंव कार्यान्वयन गर्ने, मध्यवर्ती आरक्ष क्षेत्रको कानुनका कारण मनहरी र साबिक हाँडिखोलाका बासिन्दाले भोग्नुपरेका समस्यालाई दीर्घकालिन समाधान खाज्ने, आवश्यक स्थानहरुमा नदी नियन्त्रण, बस्ति बचाउ तथा तटबन्धन गर्ने, सिमभन्ज्याङमा मैत्री बगैंचा, थाहाको मुलबारीमा राष्ट्रिय विभुति पार्क बनाउने, पर्यटन पुर्वाधारहरुको बिकास मार्फत मकवानपुरलाई आन्तरिक तथा बाह्य पर्यटकीय गन्तव्य बनाउने, पयर्टन करिडोर अन्तर्गत समग्र क्षेत्रको विकासलाई प्राथमिकता दिने, पुर्वाधार विकासका लागि छुट्याईएको केन्द्रीय बजेटहरुको सतप्रतिशत कार्यान्वयन गर्ने लगायतका योजनाहरु बर्तौलाको छ ।
सार्वजनिक सेवा प्रवाहलाई छिटो, छरितो, पारदर्शी र जनमैत्री बनाउदैं सुशासन कायम गर्ने, अनाथ, असहाय बालबालिकाको संरक्षणका लागि बनेका कानुनहरुको कार्यान्वयन गर्ने, मकवानपुरको ऐतिहासिक, धार्मिक एवम् साँस्कृतिक महत्वका पुरातात्विक सम्पदाहरुको संरक्षण र प्रवद्र्धन गर्ने उल्लेख छ । विद्यार्थी क्षेत्रबाट राजनीतिमा आएका बर्तौलाले शिक्षा र यस संग सम्बन्धित विषयहरुलाई आफ्ना योजनाहरुमा बढी महत्व दिएका छन् ।