भ्रामक सामग्री सम्प्रेषण भएकोप्रति काउन्सिलको ध्यानाकर्षण
![](https://www.tukhabar.com/wp-content/uploads/2018/08/press-council-nepal-e1631770282861.jpg)
काठमाडौं । प्रेस काउन्सिल नेपालले केही सञ्चार माध्यमको मास्टहेड दुरुपयोग प्रयोग गरी राजनीतिक दल तथा उम्मेदवारका बारेमा भ्रामक सामग्री सामाजिक सञ्जालमा सम्प्रेषण भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
भोलि मंसिर ४ गते आइतबार हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको स्थिर समय (मौन अवधि) मा विभिन्न सञ्चार माध्यमको मास्टहेड प्रयोग गरी बनाइएका विभिन्न दल तथा उम्मेदवारका समाचार शनिबार सामाजिक सञ्जालबाट सम्प्रेषण भएका थिए ।
त्यस्ता समाचार सामग्रीका सम्बन्धमा सम्बन्धित मिडियासँग जानकारी माग गर्दा ‘ती शीर्षकमा त्यस किसिमका कुनै समाचार सम्प्रेषण नगरेको, त्यो फेक न्युज हो’ भनी जवाफ प्राप्त भएको काउन्सिलका सहप्रवक्ता एवम् उपप्रशासकीय अधिकृत रामशरण बोहोराले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
साथै काउन्सिलले निर्वाचनमा प्रभाव पार्ने किसिमले अफवाहपूर्ण, दुष्प्रचारयुक्त र फेक न्युजबाट सजग रहन अनुरोध गरेको छ ।