सिंहदरबार भित्रका पुराना गाडी लिलामी गरिने

तु खबर संवाददाता
२०७९ मंसिर २१,बुधबार १६:२७
file-photo

काठमाडौं । सिंहदरबार परिसर भित्र रहेका पुराना सवारी साधन लिलामी गरिने भएको छ । केन्द्रीय अनुगमन तगा मूल्यांकन समितिको ६३ औं बैठकले सो निर्णय गरेको हो ।

सिंहदरबार परिसर भित्र रहेका विभिन्न निकायका पुराना सवारी साधनको उचित व्यवस्थापनका लागि सम्बन्धित निकायले कानुन अनुसार ‘लिलामी प्रक्रिया तत्काल अगाडि बढाउने’ निर्णय समितिले गरेको हो ।

समितिको बैठक मुख्यसचिव शंकरदास बैरागीको संयोजकत्वमा मंसिर १३ मा बसेको थियो । बैठकले सुरक्षा व्यवस्था, ट्राफिक लाइट र सौन्दर्यकरणजस्ता कामका लागि सम्बन्धित निकायले पहल गर्ने निर्णय समेत गरेको छ । यसअघि यस्ता सवारी साधनको लगत राखेर व्यवस्थापन गर्ने भनिए पनि लामो समयदेखि यस्तो काम भने हुन सकेको छैन ।

बैठकले राष्ट्रिय परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र वितरण सम्बन्धी कामलाई सरलीकरण गर्न समेत सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।