जेसीआई हेटौंडाको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर

तु खबर संवाददाता
२०७९ मंसिर २८,बुधबार १८:०८

मकवानपुर । जेसीआई हेटौंडाको आयोजना मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर ६ स्थित जुइना आधारभुत स्वास्थ्य केन्द्रमा बुधबार निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ ।

नेपाल परिवार नियोेजन संघ नेपाल, मकवानपुर, हेटौंडा सामुदायिक आँखा अस्पताल र जेसीआई बकैयाको संयुक्त सहकार्यमा शिविर आयोजना गरिएको कार्यक्रम संयोजक जेसी श्रवणकुमार बर्तौलाले जानकारी दिए ।

उनका अनुसार, बकैया वडा नम्वर ५, ६ र ७ का वडावासीलाई लक्षित गरी आँखा शिविर र पाठेघरको शिविर संचालन गरिएको हो । शिविरमा ३० जनामा मोतिबिन्दु समस्या देखा परेको उनले बताए । २७३ जनाको आँखा परीक्षण गर्दा ३० जनामा मोतिबिन्दुको समस्या देखाएको हो ।

उनीहरुको भोली बिहीबार हेटौंडा आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गर्ने कार्यक्रम संयोजक बर्तौलाले जानकारी दिए । यस्तै, शिविरमा २१० जना महिलाले पाठेघरको भिआईई स्क्रीनिङ सेवा लिएको थिए ।

उक्त कार्यक्रम जेसीआई हेटौंडाका अध्यक्ष पवन कुमार कंशाकारको सभाध्यक्षता तथा बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेको प्रमुख आतिथ्यतामा भएको हो ।

बकैया गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीको विशेष आतिथ्यतामा भएको कार्यक्रममा हेटौंडा आँखा अस्पतालबाट ४ जना र नेपाल परिवार नियोेजन संघबाट ४ जना ८ जना चिकित्सकले सेवा दिएका थिए ।