एमालेसमेतको समर्थनमा प्रचण्ड प्रधानमन्त्री, पत्र बोकेर नेताहरु शीतल निवास जाँदै

तु खबर संवाददाता
२०७९ पुष १०,आईतवार १६:०३
file-photo

काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नयाँ सरकार गठन गर्ने गरी एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा सहमति जुटेको छ । केही बेर अघि प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा काँग्रेससँग सहमति नबन्ने निश्चित भएपछि प्रचण्डसहितको नेताहरुको टोली ओली निवास बालकोट पुगेको थियो ।

सो छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायतका राजनीतिक दलका नेताहरु पनि बालकोट पुगेका छन् । राष्ट्रपति बिद्यादेवि भण्डारीले नयाँ सरकार गठनका लागि दिएको समय सिमा अहिले केहीबेरपछि सकिँदैछ । बालुवाटारमा प्रचण्डले सरकारको नेतृत्व यसअघिको सहमति अनुसार आफूलाई दिन आग्रह गरेका थिए । तर, प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले त्यसका लागि साथीहरुले नमानेको प्रतिक्रिया दिएपछि प्रचण्ड बालुवाटार छाडेर ओलीसँगको छलफलमा गएका थिए ।

काँग्रेससँग गठबन्धन टुट्ने भएपछि एकीकृत समाजवादीका अध्यक्ष माधबकुमार नेपालले सचिवालय बैठक बोलाएका छन् ।

प्रचण्डलाई प्रधानमन्त्री बनाउने पत्र बोकेर नेताहरु शितल निवास जाँदै छन् । बालकोटमा एमाले, माओवादी केन्द्र, जसपा, राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीबीच छलफल भएको थियो । सोही छलफलमा प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन जुटेको सूचना सार्वजनिक भएको छ ।