बागमतीमा कांग्रेस संसदीय दलको नेता छान्न मतदान सुरु
हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको मतदान सुरु भएको छ । मतदानमा कांग्रेसका ३७ प्रदेशसभा सदस्यले दलको नेता छान्न मतदान गर्नेछन् । यसअघि बिहान भएको उम्मेदवारी दर्ताका क्रममा मकवानपुरबाट ईन्द्रबहादुर बानियाँ र बहादुर सिंह लामाले दलको नेतामा उम्मेदवारी दर्ता गरेका थिए ।
संसदीय दलको नेता रहेका बानियाँ पुनः नेता हुने तयारीका साथ लागेका छन् भने लामा पहिलो पटक संसदीय दलमा चुनाव उठ्दैछन् । संसदीय दलको नेता हुने व्यक्ति ‘वेयटिङ मुख्यमन्त्री’ को रुपमा रहनेछ ।
बानियाँलाई संसदीय दलको नेतामा प्रभात तामाङ र छिरिङ दोर्जे लामाले प्रस्ताव र समर्थन गरेका छन् भने लामालाई दोलखाका कुन्दनराज काफ्लेले प्रस्ताव गरेका छन् भने अन्य ५ जना सदस्यहरुले समर्थन गरेका छन् । केन्द्रमा नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्दा बागमतीमा बानियाँ मुख्यमन्त्री हुने चर्चा थियो । निर्वाचनको अगाडि पनि राजेन्द्र पाण्डेभन्दा पछि बानियाँ मुख्यमन्त्री हुने सहमति पाण्डेले नमाने पछि बानियाँ मुख्यमन्त्री हुनबाट बन्चित भएका थिए ।
रातारात फेरिएको राजनीतिक समीकरणका कारण बागमतीमा कांग्रेसको सरकार नबन्ने स्थिति छ ।