हेटौंडामा सोनाम ल्होछारको अवसरमा साँस्कृतिक कार्यक्रम हुने

तु खबर संवाददाता
२०७९ पुष १४,बिहीबार १८:२७

मकवानपुर । मकवानपुर तामाङ कलाकार संघले २८५९ औं ह्योयी/तावार ल्हो (खरायो वर्ष) सोनाम ल्होछारको अवसरमा भवन निर्माण सहयोगार्थ साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ ।

बिहीबार पत्रकार सम्मेलनमार्फत संघका महासचिव रविन्द्र थिङले आगामी माघ ८ गते भवन निर्माण सहयोगार्थ साँस्कृतिक कार्यक्रमको आयोजना गर्न लागिएको जानकारी गराएको हो ।

उनले भवन निर्माण सहयोगार्थ चिठ्ठा कार्यक्रम, साँस्कृतिक कार्यक्रमको विशेषता रहेको बताए ।  ३ वटा चिठ्ठामा २ वटामा जिन्सी सामग्री र एक वटामा ५ सय रुपैयाँ हुने जानकारी दिए ।

हेटौंडा–१० स्थित टिसिएनचौरमा हुने कार्यक्रममा प्रवेश नि:शूल्क हुने कार्यक्रममा मकवानपुरे तामाङ कलाकारहरुको गायन, नृत्य र अभिनयको प्रस्तुति, तामाङ झाँक्री प्रदर्शन, तामाङ भेष–भूषा र खानाका स्टलहरु रहने बताए ।

यस्तै, तामाङ जातिको मौलिक संस्कार, संस्कृति, भेषभुषा र भाषाको संरक्षण तथा प्रर्बद्धन, नवप्रतिभा मकवानपुरे तामाङ कलाकारहरुको कलालाई प्रोत्साहन र ल्होछार विषयक जागरण ल्याउन कार्यक्रम गर्न लागिएको उनको भनाइ छ ।