बागमती गोल्डकपको पाँचौँ संस्करणमा १० टोली सहभागी हुने

तु खबर संवाददाता
२०७९ पुष १६,शनिबार १६:०७
file-photo

मकवानपुर । बागमती गोल्डकप फुटबल प्रतियोगिताको पाँचौँ संस्करणमा १० टोली सहभागी हुने भएका छन् । बागमती गाउँपालिका खेलकुद विकास समिति, मकवानपुरले आयोजना गर्ने उक्त प्रतियोगितामा एक विदेशीसहित १० टोली सहभागी हुने भएका हुन् ।

प्रतियोगिता बागमती–८, फापरबारीस्थित जनता माविको मैदानमा हुने यही पुस २४ देखि आगामी माघ ३ गतेसम्म संचालन हुने बागमती गाउँपालिका खेलकुद विकास समितिले जनाएको छ ।

समितिका अध्यक्ष टीका श्रेष्ठका अनुसार, प्रतियोगितामा अमेरिकन क्लब भुटनिजसहित ‘ए’ डिभिजनका सात र मोफसलका दुई टोलीको सहभागिता रहनेछ ।

प्रतियोगिताको विजेता टोलीले रु ८ लाखसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले रु चार लाखसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ ।

यस्तै, सर्वोत्कृष्ट खेलाडीले रु ५१ हजार प्राप्त गर्ने, विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकले जनही रु १०/१० हजार, ट्रफी र प्रमाणपत्र पाउनेछन् भने हरेक खेलको ‘म्यान अफ दी म्याच’लाई रु ५ हजार दिइने आयोजकले जनाएको छ ।

यसअघि भएको चौथो संस्करणको उपाधि अफ्रिकन रुट्स एसोसिएसन क्यामरुनलाई हराउँदै ‘ए’ डिभिजन क्लब थ्री स्टारले हात पारेको थियो ।