सर्लाहीको हरिवन–७ मा पुनः मतगणना गर्न उच्च अदालतको आदेश

तु खबर संवाददाता
२०७९ पुष २४,आईतवार ०९:१९

सर्लाही । सर्लाहीको हरिवन नगरपालिका–७ को वडाध्यक्षको मत पुनः गणना गर्न उच्च अदालत जनकपुरले आदेश दिएको छ ।

हरिवन नगरपालिका–७ का वडा अध्यक्षमा यसअघिको मतगणनालाई रद्द गरी पुनः मतगणना गर्न उच्च अदालत जनकपुरले आदेश दिएको हो ।

उच्च अदालत जनकपुरका न्यायाधिशद्वय भोजराज अधिकारी र रेखा थापा (पाण्डे) को संयुक्त इजलासले पुनः मतगणनाका लागि आदेश दिएको उच्च अदालत जनकपुरका रजिष्ट्रार खड्गराज अधिकारीले जानकारी दिए ।

गत बैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षमा नेकपा (एमाले) का नीरध्वज कार्की निर्वाचित भएका थिए ।

निर्वाचन अधिकृतको कार्यालयको गणनाअनुसार कार्कीले ३७९ मत ल्याएका थिए भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका टीकाजङ्ग थापा (अशोक) ले ३७८ मत प्राप्त गरेका थिए । कांग्रेसका थापाले तत्कालै पुनःमतगणनाको अन्तरिम आदेश जारीको मागसहित रिट दायर गरेका थिए ।

वडा अध्यक्षका रुपमा हाल कार्की कार्यरत रहेका छन् । पुनः मतगणनाको आदेशपछि अब उच्च अदालतमै मतपत्र झिकाएर गणना गरिने छ ।