स्वास्थ्य मन्त्री लामाको १४ महिना : कोरोनाविरुद्धको खोपदेखि विद्यालय नर्स कार्यक्रम

मकवानपुर । बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले आफ्नो कार्यकालमा स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण काम गरेको बताएका छन् । आइतबार मन्त्रालयको सभाहलमा भएको स्वास्थ्य मन्त्री तथा राज्यमन्त्रीको बिदाई कार्यक्रममा लामाले आफ्नो कार्यकालमा कतिपय पुराना कार्यक्रमलाई निरन्तरता दिँदै सम्पन्न गर्नुका साथै नयाँ कार्यक्रम सुरुवात गरिएको बताए ।
मन्त्री लामाले आफ्नो कार्यकालमा एक विद्यालय एक नर्स कार्यक्रम सफल भएको बताए । मन्त्री लामाले आफ्नो कार्यकालमा ५ सय १९ जना विद्यालय नर्स भर्ना गरी स्वास्थ्य क्षेत्रमा राम्रो काम गरेको बताए । उनले कोरोना महामारीको समयमा ७ वटा प्रदेशमध्य बागमती प्रदेश शतप्रतिशत कोरोनाविरुद्धको खोप लगाउन सफल भएको बताए ।
त्यस्तै, चालु आर्थिक वर्ष २०७९/०८० मा ३ करोड ९४ लाख बजेटमा बागमती प्रदेशको पहिलो आयुर्वेद औषधी उत्पादन केन्द्र, चितवनमा स्थापना गरी संचालन गरेको बताए ।
यस्तै, हेटौंडामा रहेको हेटौंंडा अस्पतालमा गर्भवती महिलाको लागि ७३ वटा पोटेबल अल्ट्रा मेशिन र एमआरआई मेशिन खरिद गरि स्वास्थ्य संस्थालाई हस्तान्तरण गरेको, प्रदेशमा रहेको ११९ वटा स्थानीय तहका स्वास्थ्य शाखाका प्रमुखहरुको लागि अब्सटे«टिक फिस्टुला रोगको पहिचान र उपचार सम्बन्धी कार्यक्रम ल्याएएको जानकारी दिए ।
स्वास्थ्य मन्त्री निमा लामा र स्वास्थ्य राज्यमन्त्री कल्पना नेपालीको बिदाई कार्यक्रममा मन्त्रालयका सचिवहरु, कर्मचारीहरु, स्वास्थ्य क्षेत्रका पदाधिकारीलगायत संचारकर्मीहरुको सहभागीता रहेको थियो ।
मन्त्री लामाले गत २०७८ साल कात्तिक २५ गते कार्यभार सम्हालेका थिए ।