बागमती प्रदेशसभाको बैठक साढे ३ बजेसम्मका लागि स्थगित
मकवानपुर । बागमती प्रदेशसभाको बैठक अपराह्न साढे ३ बजेसम्मका लागि स्थगित भएको छ । प्रदेशको पहिलो बैठकमा सभामुख पदको निर्वाचन परिणाम घोषणा गरेसँगै प्रदेशसभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुंगानाले प्रदेशसभाको बैठक साढे ३ बजेसम्मका लागि स्थगित गरेका हुन् ।
प्रदेशसभाको आजै बस्ने दोस्रो बैठकमा उपसभामुख पदको निर्वाचनको कार्यतालिका प्रकाशन गरिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
प्रदेशसभाको आज बसेको पहिलो बैठकमा ज्येष्ठ सदस्य ढुंगानाले सभामुखको निर्वाचनको कार्यसूची अनुसार भएको मतदानको अन्तिम परिणाम घोषणा गरेका थिए । उनका अनुसार, प्रदेशसभाको सभामुख पदमा सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका राप्रपाका भुवन कुमार पाठक ६२ मतसहित निर्वाचित भए ।
११० जना सदस्य रहेको बागमती प्रदेशसभा बैठकमा १०९ जना सदस्य उपस्थित रहेका थिए । तीमध्ये पाठकले सभामुख पदको लागि गरेको प्रस्तावको पक्षमा ६२ मत, विपक्षमा ३९ मत परेको थियो भने ७ जनाले मतदान गरेका थिएनन् ।
यस्तै, सभामुख पदकै लागि नेपाली कांग्रेसबाट उम्मेदवार बनेका शिवराज अधिकारीले सभामुखको लागि गरेको प्रस्तावको पक्षमा ३६ मत, विपक्षमा ६५ मत परेको थियो भने ७ जनाले मतदान गरेका थिएनन् ।
यसैगरी, सभामुख पदका अर्का उम्मेदवार सृजना सैजूले सभामुख पदका लागि गरेको प्रस्तावको पक्षमा ३ मत, विपक्षमा ९८ मत परेको थियो भने ७ जनाले मतदान गरेका थिएनन् ।