मधेशको सभामुखमा दुई जनाको उम्मेदवारी दर्ता

तु खबर संवाददाता
२०७९ पुष ३०,शनिबार १६:१०
file-photo

जनकपुरधाम । मधेश प्रदेशसभाको सभामुखमा दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् । सभामुद पदको लागि नेकपा एमालेका रामचन्द्र मण्डलले र नेपाली कांग्रेसका जंगीलाल रायले उम्मेदवारी दर्ता गराएका हुन् ।

एमालेका मण्डललाई नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीबाहेकका अरु राजनीतिक दलले समर्थन गरेका छन् ।
सत्तारुढ गठबन्धनको भागवण्डामा मधेशको सभामुख नेकपा एमाले र उपसभामुख जनमत पार्टीले लिने सहमति छ । सभामुखमा सत्ता गठबन्धन भन्दा बाहिरबाट नेपाली कांग्रेसका जंगीलाल रायले सभामुखमा उम्मेदवारी दर्ता गराएका हुन् । रायलाई एकीकृत समाजवादीले समर्थन गरेको छ ।

प्रदेशसभामा नेकपा एमालेका २३, नेपाली कांग्रेसका २२, जनता समाजवादी पार्टी (जसपा) का १६, जनमत पार्टीका १३, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र माओवादी केन्द्रका ९–९, एकीकृत समाजवादीको ७ सांसद छन् भने नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका १–१ जना सांसद छन् । यस्तै पाँच जना स्वतन्त्र सांसद छन् ।

उक्त प्रदेशमा सभामुख चयनका लागि आगामी माघ २ गते मतदान हुँदैछ ।