ल्होसार विश्वकै सबैभन्दा पुरानो सांस्कृतिक परम्परा हो : प्रधानमन्त्री

तु खबर संवाददाता
२०७९ माघ ८,आईतवार ०९:३८
file-photo

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ल्होसार पर्व विश्वकै सबैभन्दा पुरानो साँस्कृतिक परम्परा भएको बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डले तामाङलगायत हिमाली, पहाडी आदिवासी जनजातिको राष्ट्रिय ल्होसार पर्वको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै नेपालमा ऐतिहासिक एवम् वैज्ञानिक महत्व बोकेको थुप्रै पर्व रहेको बताउँदै सो कुरा बताएका हुन् ।

प्रधानमन्त्रीले यहाँ बसोबास गर्ने सबै जाति–जातजातिको आ–आफ्नो भिन्न–भिन्न परम्परा, रीतिरिवाज र संस्कृति रहेको बताउँदै आज पर्न भएको तामाङ समुदायको नयाँ वर्ष अर्थात सोनाम ल्होसार पर्व प्रेमी दिदीबहिनी, दाजुभाइ सबैलाई सुस्वास्थ्य, समृद्धि, प्रगति र समस्त मानव जगत्को कल्याणका लागि हार्दिक शुभकामना व्यक्त गरे ।

उनले भने, “सबै संस्कृतिहरूको समग्रता र एकीकृत स्वरुप नै नेपालको राष्ट्रिय संस्कृति हो । यसरी हाम्रो देश बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक हुनु नै नेपाल र नेपालीका लागि गौरवको कुरा हो, यो हाम्रो राष्ट्रिय सम्पत्तिसमेत हो ।”

प्रधानमन्त्रीद्वारा जारी शुभकामनामा भनिएको छ, “नेपालको राष्ट्रिय संस्कृतिको एउटा कडी ल्होछार परम्परा र तामाङ संस्कृति हो । ल्होछार परम्परा विश्वकै सबैभन्दा पुरानो सांस्कृतिक परम्परा हो । मानव जातिले पशुपालन र कृषिको सुरुआत गरेदेखि नै प्रकृतिको स्वभाव र गतिको नियम पत्ता लगाउने प्रयत्न गरेको थियो । यो क्रममा चन्द्रमाको गतिको आधारमा समय गणना हुन थाल्यो ।”