जनकपुरका २ युवकको अपहरणपछि भारतमा हत्या, ५ जना पक्राउ

तु खबर संवाददाता
२०७९ माघ ८,आईतवार १४:५३

जनकपुरधाम । धनुषाको जनकपुरधामका दुई युवकको अपहरणपश्चात् भारतमा लगेर हत्या भएको छ । जनकपुरधाम उपमहानगरपालिका–८ बस्ने जगदीश साहका २५ वर्षीय छोरा रोहित र वडा नम्वर–१३ बस्ने रामबाबु साहका २२ वर्षीय छोरा बिष्णुको हत्या भएको प्रहरीले जनाएको छ ।

आइतबार बिहान भारत बिहार राज्यको पर्सा गाउँको पश्चिमतर्फको फिल्डमा दुबै युवकको शव फेला परेको छ । दुई साता अघि दुबै जना भारतको सितामढी जिल्लाको बेला परिहार बस्ने आफन्तको घर गएका थिए ।

गत पुस २७ गते एकाएक बेपत्ता भएका दुबै जनाको परिवारलाई अपरहरणकारीले गत सोमवारसम्म ५० लाख रुपैयाँ फिरौती माग गरेका थियो ।

अपहरणकारीले बिष्णुको आवाज रेर्कड गरेर उनका आफन्तलाई फोनबाट सुनाएका थिए । परिवारले अपहरणकारीलाई २० लाख दिन राजी भएका पनि थिए । अपहरणकारीले २० लाख रुपैयाँ लिएर सर्लाहीको मलंगवा नाका नजिक बोलाएपछि परिवारजनले प्रहरीलाई जानकारी गराएका थिए ।

भारतीय प्रहरी र नेपाल प्रहरी दुबै युवकलाई अपहरण मुक्त गराउन भूमिका खेलेको धनुषाका प्रहरीले जनाएको छ ।

आइतबार बिहान दुई वटा शव फेला पारेपछि बिहान मृतक युवकहरुको आफन्तहरुलाई भारतीय प्रहरीले बोलाएको थियो । उनीहरुको शव भारतको बेला परिहारस्थित प्रहरी कार्यालयमा राखिएको छ ।

उक्त घटनापश्चात प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । घटनामा संलग्न रहेको आरोपमा धनुषा प्रहरीले २ जना र भारतीय प्रहरीले तीन जनालाई पक्राउ गरेको जनाएको छ ।

उनीहरुको नाम अहिले गोप्य राखिएको छ । चार जना फरार रहेकाले खोजबिन भइरहेको प्रहरीले जनाएको छ ।