स्ववियु निर्वाचनका लागि अनुगमन समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन व्यवस्थित र मर्यादित बनाउन ‘केन्द्रीय अनुगमन समन्वय समिति’ गठन गरेको छ ।
निर्वाचन सम्पन्न गर्न विश्वविद्यालयका शिक्षाध्यक्ष डा. शिवलाल भुसालको संयोजकत्वमा १६ सदस्यीय समिति गठन गरिएको हो । समितिको सहसंयोजक त्रिविका रजिष्ट्रार प्राडा पेशल दाहाल र समितिका सदस्यसचिवमा त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारी रहेका छन् ।
समितिले निर्वाचन आचारसंहिता बनाउने, निर्देशिका तथा कार्यविधि बनाउने सदस्य—सचिव अधिकारीले जानकारी दिए ।
त्रिविले गत पुस २८ गते आङ्गिक क्याम्पसलाई पत्र र सम्बन्धन प्राप्त क्याम्पसलाई सूचना जारी गर्दै स्ववियु निर्वाचनको पूर्वतयारीमा लाग्न निर्देशन दिएको छ । त्रिविले विगत लामो समयदेखि हुन नसकेको स्ववियु निर्वाचन आगामी चैत ५ गते गर्ने निर्णय गरेको छ ।
प्रत्येक दुई/दुई वर्षमा हुने निर्वाचन २०६५ साल यता नियमित हुन सकेको छैन ।