हेटौंडा–१५ मा हुने ल्होसार विशेष साँस्कृतिक कार्यक्रमको तयारी पूरा
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ सानोसुकौलीमा आगामी माघ १४ गते हुने ल्होसार विशेष साँस्कृतिक कार्यक्रमको तयारी पूरा भएको आयोजकले जानकारी दिएको छ ।
बुधबार हेटौंडामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै आयोजक साङदोग पल्ली गुम्बा संरक्षण समितिका महासचिव युवराज लोले आवश्यकक सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका हुन् ।
कार्यक्रमको सुरुवातमा हेटौंडा–४ स्थित रहेको कमलडाँडा गुम्बाका प्रमुख लामा टुल्कु छुल्ठीम दोर्जेबाट पूजापाठ हुनेछ । पूजापाठ पश्चात औपचारिक कार्यक्रम शुरु हुने महासचिव लोले बताए ।
माघ १४ गते बिहान ८ बजेदेखि १० बजेसम्म गुम्बा प्राङ्गणमा पूजापाठ हुने तथा १० बजेदेखि औपचारिक कार्यक्रम शुरु हुनेछ ।
चर्चित कलाकार रेशम भोम्जनको साँस्कृतिक कार्यक्रममा मुख्य प्रस्तुती रहनेछ । कार्यक्रममा मकवानपुरका कलाकारहरुको विशेष प्रस्तुती रहने बताइएको छ ।
कार्यक्रममा मकवानपुर कलाकार संघका कलाकारहरु धिरेन लामा, विक्रम लुङबा, राधिका स्याङतान, रविन्द्र थिङ, अनराज मोक्तान, माया घलान, समिर थिङ, सुजना रुम्बा, सम्देन मोक्तान, नेपाल आइडलमा पाँचौ चरणमा पुग्न सफल सुमिन पाख्रिनसहितले आफ्नो प्रस्तुती दिनेछन् ।
यस्तै, कार्यक्रममा टिकटकमा भाइरल कलाकार कुन्साङ लामा (मैच्याङ) को रोचक प्रस्तुती रहने छ भने चेतनामूलक नाटक “छोर्वा” पनि प्रदर्शन हुने आयोजकले उल्लेख गरेको छ ।
कार्यक्रममा तामाङ समुदायको भेषभूषा एवम् मौलिक खानाका परिकारहरुको स्टल रहने आयोजकले जानकारी दिए ।
विभिन्न मनोरञ्जनात्मक खेलहरुमार्फत दर्शकहरुले कार्यक्रममा मनोरञ्जन लिन सकिनेछ । कार्यक्रममा घैंटो फुटाई, तीर आदि खेल समेत हुनेछ ।