बैंकमा जम्मा गर्न लगेको रकम लिएर भागेको आरोपमा तीन जना पक्राउ
![](https://www.tukhabar.com/wp-content/uploads/2020/02/Arrest.jpg)
वीरगञ्ज । वीरगञ्जबाट बैंकमा जम्मा गर्न लगेको रकम लिएर भागेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले मनीट्रान्सफर कम्पनीमा काम गर्ने ३ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा वीरगञ्ज वडा नम्वर १० आदर्शनगर बस्ने आकाश साह, २२ वर्षीय संजय साह र २१ वर्षीय महम्द सकिर मियाँ रहेका छन् ।
रकम ठगी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । प्रहरीका अनुसार, तीनै जना वीरगञ्ज महानगरपालिका वडा नम्वर १० आदर्शनगरस्थित माँ दुर्गे मनिट्रान्सफर प्रा.लिमा कार्यरत कर्मचारी हुन्।
मनीट्रान्सफर कम्पनीका सञ्चालक विजय साह सरार्फले कृषि विकास बैकमा जम्मा गर्न लगाएको ४ लाख १४ हजार ८ सय रुपैयाँ लिएर फरार भएको प्रहरीको आरोप छ ।
उनीहरुको साथबाट प्रहरीले २ लाख २३ हजार ५ सय बरामद भएको छ । पक्राउ परेका उनीहरुमाथि ठगी, अपराधिक विश्वासघात तथा अपराधिक लाभ सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी पर्सा जिल्ला अदालतले घटनाबारे थप अनुसन्धान गर्न ४ दिनको म्याद अनुमति दिएको प्रहरीले जनाएको छ ।